काठमाडौँ, १७ माघ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ ।
दुबै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्माले पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
दुवै पदका लागि संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहने छन् । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ । साथै, फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने छ ।
उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । नेपालको संविधानको धारा ६३ को उपधारा १ र धारा ६९ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ ।
विसं २०७४ साल फागुन २९ मा भएको राष्ट्रपतिको निर्वाचनमा निर्वाचित भएका वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते समाप्त हुने तथा २०७४ साल चैत ४ गते निर्विरोध निर्वाचित भएका वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते समाप्त हुने भएकाले सो अगावै निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ४ र ५ बमोजिम आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने छ । साथै, सोसम्बन्धी सूचना राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ४ तथा दफा ५ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने भएकाले सोका लागि नेपाल सरकारका मुख्य सचिवमार्फत् मन्त्रिपरिषद्लाई आयोगले लेखी पठाउने छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि मतदाता प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य रहेका छन् । यी सदस्यहरूको मतभार पनि फरक–फरक रहेको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार उठाउने बताइसकेका छन् । निर्वाचनमा अन्य दलले उम्मेदवार बनाउने वा सर्मथन गर्ने विषयमा केही बोलिसकेको अवस्था छैन ।