टेकबहादुर पुन
राजपुर, ५ माघ ।
दाङको राजपुर गाउँपालिकाले नाकाक्षेत्रमा प्रसूति गृह सञ्चालन गरेको छ । गर्भवती महिला, सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै गाउँपालिकाले नाकाक्षेत्रमा प्रसूति गृह सञ्चालनमा ल्याएको हो ।
नाकाक्षेत्रमा प्रसूति सेवा उपलब्ध नहुँदा महिलाहरूले स्वास्थ्य समस्याहरू झेल्नुपरेको भन्दै गाउँपालिकाले राजपुर गाउँपालिका–७ भैसाही नाकामा प्रसूति गृह सञ्चालनमा ल्याइएको हो । नाकाका महिलाहरूलाई गर्भवती हुँदा भारतको भर पर्नुपर्ने बाध्यता थियो । जंगलको बाटो हुँदै घण्टौँ पैदल हिँडेर अस्पताल पुग्नुपर्ने समस्या उक्त क्षेत्रमा रहेको छ ।
नाकामै प्रसूति गृह सञ्चालन भएपनि नेपालमा बसेर भारतको स्वास्थ्य सेवा लिनुपर्ने अवस्थाको अन्त्य हुने स्थानीयहरू बताउँछन् । नजिकै अस्पताल, स्वास्थ्य संस्था नहुँदा उकालो ओरालीको हिँडाई र थकाईले स्वास्थ्य अवस्था थप नाजुक हुने, श्वासप्रश्वास गर्नै मुस्किल हुने गरेको अनुभव आफूहरूमा रहेको नाकाक्षेत्रका महिलाहरू बताउँछन् ।
गर्भवतीको समयमा महिलालाई पौष्टिकतत्वसँगै आरामदायी समयको आवश्यकता पर्ने समयमा घण्टौँ पैदल हिँड्नुपर्दा गर्भपतनको जोखिम उत्तिकै रहेको चिकित्सकहरूले बताए ।
गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थलाई ख्याल गर्दै सुरक्षित प्रसूति सेवा प्रदान गर्नका प्रसूति गृह सञ्चालनमा ल्याईएको गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए । उनले चुनावका बेला बोलेका कुराहरूलाई सहज तरिकाले पूरा गर्दै सधै जनताको पक्षमा रहने बताए ।
नाकाबासी महिलाको वास्तविक पीडा आफूले बुझेको र सरकारको अनुभूति दिलाउन सेवा दिन थालिएको उपाध्यक्ष धनपती यादवले बताइन् । उनले गर्भवतीको समयमा महिलाले भोग्नुपरेको पीडालाई अन्त्य गरी छिटोछरितो सेवा दिने गरी प्रसूति गृह सञ्चालनमा ल्याइएको बताइन् । यस्तो सुविधाले दैनिक भोग्नुपरेको पीडा अन्त्य हुने विश्वास गरिएको छ । बिगतदेखि नै भोक्दै आएको नाकाबासीको यस्तो समस्या सधैका लागि अन्त्य भएको छ ।
प्रसूति गृहमा तीनजना कर्मचारीको व्यवस्थापन गरिएको छ । दुईजना अनमीसहित एकजना अहेब कार्यरत रहने गरी ब्यवस्थापन गरिएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले बताए । उनीहरूको तलब सुविधा गाउँपालिका आफैले व्यवस्थापन गर्नेछ ।