प्रमोद आचार्य
दंगीशरण, ४ माघ ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा बिएन नेपाल सामुदायिक कान उपाचार सेवा गणेशमान चोक सिद्धार्थ अस्पताल नेपालगंज बाँकेको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्राथमिक कान उपचार तालिम बुधबारदेखि स्वास्थ्य चौकी हेकुलीमा सुरू भएको छ ।
सामाजिक विकास समितिका संयोजक तथा दंगीशरण गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रोशनजंग शाहको सभापतित्व तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले भौतिक पूर्वाधारलाई मात्र विकास नठानी स्वास्थ्य तथा जनचेतना जगाउने काममा आफू सधै तत्पर रहेको बताए । आफू आफ्नो पालिकामा रहेका कुनै पनि उमेर समूहका बिरामी कानसम्बन्धी कुनै पनि रोग पालेर बस्न नपरोस् भनेर छिट्टै शिविर सञ्चालन गरेर समस्याको पहिचान भएका बिरामीलाई निःशुल्क अप्रेसन तथा श्रवणशक्ति गुमाएकालाई एरफोनसमेत निःशुल्क वितरण गरेर विरामीलाइ ठिक पार्ने आफ्नो लक्ष्य भएको बताए ।
यस्तै सामाजिक विकास समितिका संयोजक रोशनजंग शाहले स्वास्थ्य क्षेत्रको मेरुदण्डको रूपमा रहेर अग्रणीय भूमिका रही काम गर्ने स्वयंसेविकाहरुलाई प्राथमिक कान उपचारसम्बन्धी तालिम फलदायी हुने बताए । स्वयंसेविकाहरूले कानको कसरी हेरचाह गर्ने कानको प्राथमिक उपचार कसरी गर्ने ? भन्ने आधारभूत कुरा तालिममा सिकेर समुदायमा लैजाने विश्वास ब्यक्त गरे ।
वडा नं. ३ का वडा अध्यक्ष तथा हेकुली स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष शुकलाल चौधरीले शिविर आयोजना हुन लागेको प्रति खुसी व्यक्त गरे । वरिष्ठ कान उपचार अधिकृत तथा कार्यक्रमका फ्यासिलेटर राम बहादुर बोहराले आफूहरूले निरन्तर हरेक जिल्लामा पनि कान उपचारको क्षेत्रमा रहेर काम गरेको बताए ।
यस पटक दाङ जिल्लाको दंगीशरण गाउँपालिकामा रहेर शिविर सञ्चालन गरेर बिरामीको श्रवणशक्तिको मापन गरी उपचारका लागी रिफर गर्ने आवश्यक परे अप्रेसनका लागि निःशुल्क रिफर गरी कानको जाली फुटेका बिरामीलाई श्रवणशक्ति फिर्ता गराउन एरफोनसमेत निःशुल्क वितरण गर्न गाउँपालिकले सहयोग गरेको बताए । स्वास्थ्य शाखा दंगीशरणका प्रमुख राजेन्द्र हमालको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक प्रदीप योगीले गरेका थिए ।