दाङ, ४ माघ ।
दाङको लमहीमा छैटौँ कृषि, पर्यटन तथा व्यापारिक महोत्सव सञ्चालन हुने भएको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने नारासहित देउखुरी उद्योग वाणिज्य संघले महोत्सवको तयारी थालेको छ ।
माघ १२ गतेदेखि २५ गतेसम्म महोत्सव चल्ने छ । अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (जैविक विविधता पार्क पछाडि) महोत्सव सुरू गर्ने गरी सम्झौता भएको छ । पछिल्लो समय खस्किदो व्यापारलाई उकास्न र पर्यटकीय क्षेत्रलाई परिचित गराउन महोत्सवको आयोजना थालिएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताए ।
महोत्सवमा विभिन्न जातजाति, भाषाभाषीको कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरू हुने छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उपस्थित हुने महोत्सवमा कृषिका स्टल, व्यापारिक स्टललगायतका रहने छन् । स्टल बुकिङ्ग खुल्ला गरी सकिएको छ ।
आयोजकले अपाङ्गता र बृद्धावस्थाका व्यक्तिहरूलाई फ्रि टिकटको व्यवस्था गरिने जनाएको छ । विद्यार्थीको हकमा ४५ प्रतिसत छुट रहनेछ भने अन्यका लागि १ सय रूपैयाँ टिकट दर कायम गरिएको छ ।