जीतसागर जी.एम.
दाङ, ४ माघ ।
नागरिकताको प्रमाण नेपाली नागरिकको प्रमुख पहिचान कार्ड हो । सरकारी तथा गैह्र सरकारी कार्यालयमा जुनसुकै कामका लागि नागरिकता आवश्यक पर्छ । यतिमा मात्रै सीमित रहेन, कुनै पनि जागिर खानका लागि नागरिकता नै चाहिन्छ । नेपाली नागरिकले नागरिकता प्राप्त गर्न न्यूनतम १६ वर्ष पुगेको हुनुपर्छ ।
कुनै समय अर्थात् पुरानो पुस्ताले ढिलो गरी नागरिकता गराउने गरेपनि पछिल्लो पुस्ताले १६ वर्ष पुगे लगत्तै नागरिकता गराउने गरेको देखिन्छ । तर पछिल्लो समय नागरिकता बनाउने मात्रै होइन् नागरिकताको प्रतिलिपि लिने जमात पनि बढ्दै गएको देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय घोराही र ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट मात्रै चालुवर्षको ६ महिनामा ११ हजार बढीले नागरिकताको प्रतिलिपि लिएका छन् । चालुवर्षको साउनदेखि पुस मसान्तसम्म घोराही र तुलसीपुरबाट ११ हजार २ सय ४१ जनाले नागरिकताको प्रतिलिपि लिएको देखिएको छ ।
घोराहीबाट चालुवर्षको छ महिनाको अवधिमा ४ हजार ६ सय २० जनाले नागरिकताको प्रतिलिपि लिएका छन् भने तुलसीपुरमा सोहि अवधिमा ६ हजार ६ सय २१ जनाले प्रतिलिपि लिएका छन् । घोराहीभन्दा तुलसीपुरबाट प्रतिलिपि नागरिकता लिनेको संख्या बढी देखिएको छ ।
ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट चालुवर्षमा ४ हजार ५ सय ७६ जनाले मात्रै नागरिकता बनाएकोमा नागरिकताको प्रतिलिपि लिनेको संख्या भने ६ हजार बढी छ । तथ्यांकले पछिल्लो समय नागरिकताको प्रतिलिपि लिने नागरिकको संख्या बढ्दै गएको छ ।
चालुवर्षको साउनमा घोराहीबाट ४७२ जनाले नागरिकताको प्रतिलिपि बनाएका छन् । यस्तै भदौमा घोराहीबाट ९ सय २०, असोजमा १ हजार २ सय १२, कार्तिकमा ७ सय ९९, मंसिरमा ५ सय ८३ र पुसमा ६ सय ३४ जनाले प्रतिलिपि बनाएको जिल्ला प्रशासन कार्यालय घोराहीका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन् ।
‘नागरिकताको प्रमाणपत्र कुनै कारणवश फाटी, च्यातिई, आगलागी भई हराएमा, पानीले भिजी नष्ट भएमा वा अन्य कुनै कारणले झुत्रो भई काम नलाग्ने भएमा प्रतिलिपि लिन सकिन्छ’ उनले भनिन्– ‘यस्तो अवस्थामा भन्दा पनि पछिल्लो समयमा सबैभन्दा धेरै बिहे गरेर जाने महिलाले नागरिकताको प्रतिलिपि गराउने गरेका छन् ।’
दोस्रो बिहे गरेर जाने महिलाले पहिलो घरको थर परिवर्तन गरेर प्रतिलिपि लिने गरेका छन् भने कतिपयले माइतीको थर परिवर्तन गरी बनाउने गरेका छन् । ‘माइतमै नागरिकता बनाउने महिलाले बिहेपश्चात् नागरिकतामा थर परिवर्तन गर्नुपर्ने अवस्थामा प्रतिलिपि दिने गरिएको छ’ उनले भनिन्– ‘दोस्रो बिहे गरेर जाने महिलाले पनि पहिलो घरको थर परिवर्तन गर्ने गरेका छन् ।’ नागरिकता हराएर प्रतिलिपि लिनेभन्दा थर परिवर्तन गरेर प्रतिलिपि बढी आउने गरेको उनको भनाइ छ ।
यस्तै चालुवर्षको साउनमा तुलसीपुरबाट ६ सय ४५ जनाले प्रतिलिपि बनाएका छन् । यस्तै भदौमा ५ सय ८५, असोजमा १ हजार १५, कार्तिकमा ९ सय ३६, मंसिरमा १ हजार ५ सय १२ र पुसमा १ हजार ९ सय २८ जनाले नागरिकताको प्रतिलिपि लिएको ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढाले जानकारी दिए ।
‘तुलसीपुरमा नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपि बनाउनको संख्या बढी छ’ उनले भने–‘नागरिकता हराएर भन्दा पनि थर परिवर्तन गर्नका लागि प्रतिलिपि लिने चलन बढेको छ ।’ सामान्य अवस्थामा एउटा व्यक्तिले तीन पटकसम्म नागरिकताको प्रतिलिपि लिन सक्ने उनले बताए ।
‘एउटा व्यक्तिलाई सामान्य अवस्थामा तीन पटकसम्म नागरिकताको प्रतिलिपि दिन सकिन्छ’ उनले भने– ‘तीन पटकभन्दा बढी भएमा स्थलगत वा प्रहरीको सर्जमिन गरेर मात्रै दिन सकिन्छ ।’ नागरिकताको प्रतिलिपि लिइसकेपछि पहिलेको नागरिकता भेटिए पनि प्रतिलिपिबाटै काम हुने उनले बताए । ‘प्रतिलिपि बनाईसकेपछि पहिलेको नागरिकताले काम गर्दैन्’ उनले भने–‘यदि प्रतिलिपि नागरिकता बनाइसकेपछि पहिलेको नागरिकता भेटिएमा जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्छ ।’
१५ हजार बढीले बनाए राष्ट्रिय परिचय पत्र
चालु आर्थिक वर्षको ६ महिनामा १५ हजार बढीले राष्ट्रिय परिचयपत्र बनाएका छन् । ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म १५ हजार ८ सय ९९ जनाले राष्ट्रिय परिचयपत्र बनाएका हुन् ।
६ महिनाको अवधिमा पुस मसान्तसम्म ५ हजार ५ सय ३९ महिला र १० हजार ३ सय ६० पुरूषले राष्ट्रिय परिचयपत्रको सेवा लिएको ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख बुढाले जानकारी दिए । उनका अनुसार ६ महिनाको अवधिमा ५ हजार ५ सय ३९ महिला र १० हजार ३ सय ६० पुरूषले राष्ट्रिय परिचयपत्रको सेवा लिएका हुन् ।
तुलसीपुरबाट साउन महिनामा मात्रै १ हजार २० महिला र २ हजार २ सय १७ पुरूष गरी ३ हजार २ सय ३७ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । त्यसैगरी भदौमा ७ सय ५७ महिला र १ हजार ७ सय ८२ पुरूष गरी २ हजार ५ सय ३९, असोज महिनामा ९ सय ७० महिला र ८ सय ३५ पुरूष गरी १ हजार ८ सय ५ जनाले परिचयपत्रका लागि विवरण दर्ता गरेका छन् ।
यस्तै कार्तिकमा ७ सय ६८ महिला र १ हजार ४ सय २६ पुरूष गरी २ हजार १ सय ९४, त्यसैगरी मंसिर महिनामा ९ सय ५ महिला र १ हजार ८ सय ७७ गरी २ हजार ७ सय ८२, पुस महिनामा १ हजार १ सय १९ महिला र २ हजार २ सय २३ पुरूष गरेर ३ हजार ३ सय ४२ राष्ट्रिय परिचयपत्र बनाएका छन् ।