दाङ, ३० पुस ।
दाङको दंगीशरण गाउँपालिका–४ बैबाङमा माघ महोत्सव भएको छ । सत्यदेवी मन्दिर क्षेत्रमा माघ महोत्सव आयोजना गरिएको थियो । सो अवसरमा त्यस क्षेत्रमा निर्माण भएका मन्दिर तथा थारू संस्कृति संरक्षणका लागि निर्माण गरिएका पूर्वाधारहरूको समेत उद्घाटन गरिएको छ ।
लुम्बिनी प्रदेशका निवर्तमान पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले महोत्सवमा निर्माण गरिएका पूर्वाधारको उद्घाटन गरेका हुन् । चौधरीले थारूको संस्कृति संरक्षण आवश्यक रहेको भन्दै आफ्नो पहलमा धेरै क्षेत्रमा संरक्षणका लागि आवश्यक संरचनाहरू निर्माण गरिएको बताए ।
थारूहरूको संस्कृति जोडिएको बैबाङ र दंगीशरणका लागि बजेटसमेत विनियोजन भएको बताए । उनले थारू समुदायको संस्कार र संस्कृति सरंक्षणको प्रयास थालिएको भन्दै यसको पूर्णताका लागि समुदाय नै सक्रिय हुनुपर्ने बताए । नेपाली कांग्रेस संसदीय दलको नेतासमेत रहेका चौधरीले थारू जातिले बनाएको जाँड, रक्सी अनदीको झोल बेच्न पाउनुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरी, पूर्वअध्यक्ष भागिराम चौधरीलगायतले मन्तव्य राखेका थिए । सहजीकरण पत्रकार दीप्ती शिखाले गरेकी थिइन् । यसैगरी बबई गाउँपालिकाको वडा नं ६ झारजगेरीमा पनि माघी महोत्सव भएको छ । स्थानीय समूहको आयोजना तथा वडाको आर्थिक सहयोगमा महोत्सव भएको हो ।
कार्यक्रममा पूर्वमन्त्री डिल्ली बहादुर चौधरी, जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री, वडा अध्यक्ष तिलकराम भण्डारीलगायतले मन्त्व्य राखेका थिए ।