हिमाल शर्मा
सल्यान, ३० पुस ।
सल्यान छत्रेश्वरी गाउँपालिका–२ गुराँसेका ४८ वर्षीय तेजबहादुर योगीको ३२ रोपनी जग्गामा ६ सय ५० बोट किवी छन् । गतवर्ष उनले किवी बिक्री गरेर २० लाख आम्दानी गरेका थिए । यो वर्ष पनि २० लाख आम्दानी गरेका छन् । २०५८ देखि किवी खेतीमा लागेका उनको जीवनस्तरमा धेरै सुधार आएको छ ।
यस्तै गुराँसेका ५४ वर्षीय चित्रबहादुर केसीले गत वर्ष ४ लाख रूपैयाँको किवी बिक्री गरेकोमा यो वर्ष झन्डै ६ लाख बराबरको बिक्री गरे । उनले किवी बिक्री गरेर घर खर्च चलाउने, बच्चाबच्ची पढाउनेदेखि लिएर जग्गासमेत जोडेका छन् ।
माओवादी द्वन्द्वका बेला ठूलो क्षति भएको गुराँसेमा पीडित परिवारलाई आयआर्जनतर्फ उन्मुख गराउन सम्बन्धित निकायले गुराँसेका स्थानीयलाई व्यावसायिक किवी खेतीमा प्रोत्साहन गरेको थियो ।
२०५८ देखि किवी खेती सुरू गरेका स्थानीयले अहिले मनग्गे आम्दानी गर्दै आएका छन् । किवी खेतीलाई विस्तार गर्दै लगेका स्थानीयले अहिले गुराँसेमा वार्षिक एक करोड भित्र्याउँदै आएका छन् । व्यावसायिक किवी खेतीमा लागेपछि अहिले दुई दर्जन परिवारको जीवनस्तरमा सुधार आएको छ ।
रोजगारीको लागि भारतका विभिन्न स्थानमा जान बाध्य हुँदै आएका स्थानीयले घरमै रोजगारी पाएका छन गुराँसेमा उत्पादित किवी दाङ, नेपालगंज, बुटवल, सुर्खेत, भैरहवा निकासी भइरहेको योगीले बताए ।
उनका अनुसार गत वर्षभन्दा यो वर्ष उत्पादन पनि बढेको छ । ‘खाद्यबाली लगाउँदा घरका सातजनाको परिवारलाई छ महिना खान पुग्दैनथ्यो’ उनले भने ‘बेरोजगारीको समस्याका कारण र पर्याप्त खाद्यान्न उत्पादन नहुँदा भारतका विभिन्न स्थानमा मजदुरीका लागि जान बाध्य हुन्थ्यौं । व्यावसायिक किवी खेतीमा लागेपछि छोराछोरी पढाउन, घर खर्च चलाउन रोजगारीको लागि भौतारिँदै हिँड्नु परेको छैन ।’
चार सयमध्ये झन्डै ३ सय बोटमा फलेको किवी बेचेर यो वर्ष ५ लाख जति कमाई गरेका डिल्लीबहादुर केसीले यसबाटै सबै खर्च चलेको बताए । ‘गुराँसे माओवादी द्वन्द्वका बेला बढी क्षति भएको बस्ती हो । तीन पटकको भिडन्तमा ११ जनाले ज्यान गुमाएका थिए भने दर्जनभन्दा बढी घाइते भएका थिए’ उनले भने ‘किवी खेतीले धेरैको जीवनस्तर उकासेको छ ।’
भएको पाखो जग्गामा खाद्यबाली उत्पादन हुन छाडेपछि छिमेकीको देखासिकी गर्दै किवी खेतीमा लागेको र यसबाट अहिले गुजारा राम्रै चलेको द्वन्द्वका बेला घाइते भएकी नन्दकला योगीले बताइन् । उनले आफ्नो उपचारको लागि सरकार तथा सरोकारवाला निकायसँग हात थाप्न नपरेको बताइन् । किवी खेती गर्दा कृषि विकास कार्यालय सल्यानले सामान्य सहयोग गरेपनि कोल्ड स्टोर निर्माणको लागि राखेको माग पूरा नभएको अन्य किसानको गुनासो छ ।
कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख भरत कुमार बस्नेतले किवी खेती गर्दा फलामको बार किन्न किसानले नसक्ने भएकाले प्रत्येक वर्ष बारका लागि १० देखि १५ लाखसम्म अनुदान दिइँदै आएको र बेर्ना उपलब्ध गराउँदै आएको बताए । उनका अनुसार गुराँसेका स्थानीयले २०५८÷०५९ मा किवी लगाउन सुरू गरेका थिए ।
अहिले बस्तीका सबैले झन्डै एक हजार रोपनी जग्गामा पाँच हजार बढी किवी लगाएका छन् । किवी खेतीको लागि जिल्लाको उच्च पहाडी भेगको हावापानी अति राम्रो भएकाले जिल्लाका अन्यत्र पनि विस्तारको प्रयास भइरहेको उनको भनाइ छ ।