- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबरपहिलो बैठकमा नेताहरूको सम्बोधन

पहिलो बैठकमा नेताहरूको सम्बोधन

- Advertisement -spot_img

काठमाडौँ, २६ पुस ।
प्रतिनिधि सभाको बैठक सुरू भएको छ । सोमबार नयाँ कार्यकालका लागि भामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बैठकको अध्यक्षता गरेर सदन सञ्चालन गरेका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकले प्रतिनिधि सभा नियमावली २०७५ बमोजिक कामकारबाही गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाबाट सभाको नियमावली नबनाएसम्म प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम काम कारबाही गर्ने प्रस्ताव स्वीकृत भएको हो ।

पहिलो बैठकमा दलका नेताहरूले सम्बोधन गरेका छन् । प्रधानमन्त्रीसहितका नेताहरूले पहिलो बैठकमा सम्बोधन गरेका हुन् । नयाँ प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व छ । सबै दलका संसदीय दलका नेताहरूले दलीय प्रतिनिधित्वको आधारमा सम्बोधन गरेका हुन् ।

कसले के भने ?
सार्वभौम संसद इतिहास रच्न सफल हुनेछः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताएका छन् । प्रतिनिधि सभाको दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधि सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा बिर्सिनु नहुनेमा समेत जोड दिए ।

जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेको छ । हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं । बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधामिक र बहुभौगौलिक विशेषता भएको यो देशमा विविधताका सम्मान गर्नसके हामी एकतातिर जान्छौं, यसको सम्मानबिना कृत्रिम एकताको कुरा ग¥यौँ भने विभाजनतिर जान्छौं, उनले भने ।

फरक राजनीतिक दृष्टिकोण र पृष्ठभूमिबाट आएका भए पनि जनताप्रति गरिएका प्रतिबद्धता साझा भएकोले सबै एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । ‘मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्नेछौं र साझा प्रतिबद्धतामा एक ठाउँमा उभिनेछौं,’ उनले भने, ‘भर्खर हामी जनताका बीचबाट आएका हौं । हामीलाई समस्याहरू केलाएर बस्ने छूट छैन, समाधानको सूत्र खोज्नु छ र समाधानतिर जानु छ ।’

जनताले धेरै अपेक्षा गरेका छन्ः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रतिनिधि सभाबाट जनताले धेरै अपेक्षा गरेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै देउवाले जनताका अपेक्षाअनुसार कांग्रेसले भूमिका खेल्ने बताए । यो प्रतिनिधि सभाबाट जनताले धेरै अपेक्षा राखेका छन् । उनले भने, ‘समृद्धि प्राप्त गर्नु साझा लक्ष्य हो ।’

देउवाले संविधान रक्षा र संविधानको भावनाअनुसार अगाडि बढ्नुपर्ने पनि बताए । सभापति देउवाले कांग्रेस प्रतिनिधि सभाको ठूलो दल भएकोले जनतालाई धन्यवादसमेत दिएका थिए । देउवाले जनअपेक्षा अनुसार काम गर्नका लागि राजनीतिक गन्तव्य स्पष्ट हुनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले नवगठित प्रतिनिधि सभाबाट जनताले अपेक्षा गरेको बताएको बताउँदै काम गर्नका लागि स्पष्ट माध्यम र गन्तव्य हुनुपर्ने औंल्याएका हुन् । संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति र सुशासन विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य भएको शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको देउवाले बताए ।

सरकार बन्न नपाउँदै भत्काउने षड्यन्त्रमा नलागौंः ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए । उनले देशमा राजस्व उपयुक्त ढंगले उठ्न नसकेको र धेरै वर्षपछि राजस्व असुली माइनसमा गएको बताए ।

उनले अर्थतन्त्र ऋणात्मक हुनु गम्भीर विषय भएको बताए । उनले वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो अवस्थामा रहेको, आयात गर्ने स्थिति नरहेको र निर्यात गर्ने वस्तुको उत्पादन घट्नुको साथै उद्योगहरू बन्द भइरहेको बताए ।

अध्यक्ष ओलीले अबका दिनमा अर्थतन्त्रको समस्या समाधानका लागि सकारात्मक समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताए । उनले देशको उन्नतीको लागि सरकार बनाउने भएको भन्दै सबैले एकसाथ मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने चुनौती आफूहरूका अघि रहेको भन्दै आन्दोलनका घाउमा मलमपट्टी गर्ने चुनौती छ, मुद्दा मामिलाका समस्या, शान्ति प्रक्रियाको समाधानका चुनौतीलाई समाधान गर्नुपर्ने बताए ।

उनले सांसद र नेताहरूको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि काम गर्ने समय नहुने भन्दै गोटी चाल्ने नभई काम गर्ने बाटो समात्न आग्रह गरे । उनले सरकार बन्न नपाउँदै भत्काउने षड्यन्त्रमा नलाग्न आग्रह गर्दै आफ्नो समयको सही उपयोग गर्न आग्रह गरे ।

नयाँ पार्टीको उदयको कुरा, नयाँ सांसदको उपस्थितिको कुरा छ । परिवर्तनको आकांक्षा, अपेक्षा जनताले गरेका थिए । परिवर्तनको चाहना जनताले राख्दा नयाँ पार्टीको उदय भयो । ‘नयाँले उन्नती गर्ने खालको ट्रेन छ, यो परिवर्तनको कुरा हो’, उनले भने, ‘देशको उन्नतीको लागि सरकार बनाउने हो, व्यक्तिको मान, सम्मानका लागि होइन । आज राष्ट्रिय एकताको आवश्यकता छ ।

कहि चुक्ने छैनौः लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आमनागरिकका अपेक्षा पूरा गर्न आफूहरू सरकारमा गएको बताएका छन् । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले बैठकलाई सम्बोधन गर्दै दुई ठूला दलका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएपछि काम गर्न आफूहरू सरकारमा गएको उल्लेख गरेका छन् ।

‘सरकारमा सहभागी हुने निर्णय गर्दा दुई ठूला दलका शीर्ष नेताका प्रतिबद्धताबाट हामी हौसिएका छौं’ उनले भने, ‘दवाव र प्रभावमा नपरी काम गर्न प्रतिबद्ध र कटिबद्ध छौं ।’ आमनागरिकका अपेक्षा, माया र विश्वासका कारण आफूहरू संसदमा आइपुगेको उनले बताए ।

नागरिकता विधेयक तुरून्तै पारित गरौं यादव
जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादवले नागरिकता विधेयक यस संसदले पारित गर्न पर्ने बताएका छन् । उनले नागरिकता विधेयक पारित नहुँदा नागरिकहरू अनागरिक हुन बाध्य भएको बताए ।

‘देशका अधिकांस नागरिक अनागरिक भएर बसेका छन् । जन्मसिद्धका सन्तान अहिले पनि आमबुबा नागरिक र आफै अनागरिक भएर बसेका छन् । कयौं आत्महत्या गर्नुपर्ने अवस्थामा छन्’ उनले भने, ‘आज दुबै सदनबाट पारित भएर दुई÷दुई चोटी राष्ट्रपति कार्यालयमा थन्किएका छन, अब एक महिनाभित्र होइन, तुरून्त पारित गरेर नागरिकलाई नागरिक बनाउन प्रतिबद्धता जाहेर गरौं ।’

छिनछिनमा सरकार परिवर्तन होस् भन्ने चाहदैनौं माधव नेपाल
नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका छन् । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विश्वासको मत दिने इंगित गरेका हुन् ।

‘भोलि विश्वासको मत लिने कुरा छ । एकीकृत समाजवादी छिनछिनमा सरकार परिवर्तन होस् भन्ने चाहँदैन यो सरकारको स्थायित्व हुनुपर्छ,’ उनले भने । वर्तमान सरकारले मुलुकको आर्थिक संकट समाधानका लागि ध्यान दिनुपर्ने उनले बताए ।

सामूहिक पहल आवश्यकः राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई शिरमा राखेर मुलुकका समस्याहरू सामूहिक रूपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

उनले देशका हरेक क्षेत्रहरू अहिले ओरालो लागिरहेको भन्दै यसलाई सबै मिलेर समाधान गर्नेतर्फ सोच्नुपर्ने बताए । उनले उमेर पुगेको भोलिपल्ट युवाहरू राहदानी बनाएर विदेश जानुपरिरहेको भन्दै यो समस्यालाई तत्काल समाधान गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले कृषकहरूलाई कृषिको लागि मल र बिउ दिने कुरामा सरकारले बेलैमा सोच्नुपर्ने बताए । उनले विकास निर्माणको कामले पछिल्लो समय गति लिन नसकेको भन्दै विकास निर्माणका कामलाई पनि गति दिनुपर्ने आवश्यक रहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here