भालुवाङ, २३ पुस ।
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले देशमा देखिएको आर्थिक तरलालाई सन्तुलनमा ल्याउन कस्तो नीति बनाएर लैजाने हो त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
सिसहनिया उद्योग वाणिज्य संघले शनिबार राप्ती गाउँपालिका–५ कालापानीस्थित खौराहाबाबा धार्मिक तथा पर्यटकीयस्थलमा आयोजना गरेको दाङ जिल्लाभरिका उद्योग वाणिज्य संघहरूको भेटघाट, परिचयात्मक कार्यक्रम तथा बैंकहरूले गरेको ब्याजदर वृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
स्वास्थ्यमन्त्री थारूले देशको अवस्था र उत्पादनको अवस्था नहेरी बैंकहरूले आफूखुसी ब्याजदर निर्धारण गर्न थाल्ने हो भने एकथरी समिति बैंकरहरूको अवस्था सुध्रित हुने र देशको अन्य उत्पादनको आर्थिक क्षेत्र धरासयी हुन सक्ने भन्दै बैंकहरूलाई नियन्त्रण गर्नुपर्ने अवस्था आफूले देखेको बताए ।
देशमा आर्थिक परिवर्तनपछि पुँजीको माग बढेसँगै ब्याजदर पनि बृद्धि भएको अवस्था देखिएको र त्यसपछि जनयुद्धका क्रममा ब्याजदर निकै घटेर आएको स्वास्थ्यमन्त्री थारूले स्मरण गराए ।
त्यस्तै स्वास्थ्यमन्त्री थारूले आर्थिक संकट टार्न उत्पादनशील क्षेत्रमा लगानी लगाउन आवश्यक रहेको बताए । अहिले बजारमा निक्षेप कम मात्रामा जम्मा हुने र कर्जा बढी मात्रमा लगानी भइरहेकोले ब्याजदर स्वभाविक रूपमा बृद्धि भएको भन्दै स्वास्थ्यमन्त्री थारूले यस अनियन्त्रित तरिकाले यसलाई बढ्न दिन नहुने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले उद्योगी, व्यवसायीहरूलाई समृद्व बनाए सरकार पनि समृद्व हुने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले कोइलावास नाका सञ्चालन भए व्यापार, व्यवसाय बृद्धि हुने भन्दै नाका सुचारू गराउन मन्त्रीहरूको ध्यानाकर्षण गराए ।
त्यस्तै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले उद्यागी, व्यापारीहरूलाई अखाद्यवस्तु तथा म्याद नाघेका सामानहरू बिक्री वितरण नगर्न सुझाव दिइन् ।
संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनाल, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, हापुर उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खत्रीलगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका उपाध्यक्ष युवराज सेनको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले गरेका थिए । कार्यक्रम सुरू हुनुपूर्व सिसहनिया– महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल र राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको बौद्ध गुम्बाको अवलोकनसमेत गरिएको थियो ।