तुलसीपुर, २१ पुस ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले खेलाडीहरूको प्रोत्साहनका कार्यक्रम ल्याइने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ ले आयोजना गरेको अध्यक्ष कप प्रतियोगिताको समापन गर्दै नगरप्रमुख खड्काले एक वडा एक खेल मैदानको स्तरोन्नति गर्दै लैजाने बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष थलराज पुरीको अध्यक्षता एवं नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि खड्काले वडा नम्बर १७ को पञ्चेधारामा रहेको खेल मैदानलाई थप व्यवस्थित बनाउने र खोला कटान नियन्त्रणका लागि तटबन्धन गरिने बताए ।
कार्यक्रममा प्रथम स्थान हासिल गर्ने तुलसीपुर १७ वनकट्टीको समूहलाई नगद ३० हजारसहित पुरस्कृत गरिएको थियो । दोस्रो हुने मज्गैको समूहलाई १५ हजार र तेस्रो हुने मानपुरको समूहलाई साढे सात हजार नगदसहित पुरस्कृत गरिएको हो । कार्यक्रममा उत्कृष्ट खेल प्रदर्शन गर्ने मज्गैका संगम केसीलाई नगद १५ सयसहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिशिर गिरीले गरेका थिए ।