हेमराज परिवर्तन
दाङ, १४ पुस ।
बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी, व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । बन्द, हड्ताल र आन्दोलनको विरोध गर्ने उद्योगी, व्यवसायी नै बुधबार कालो ब्यानर बोकेर ब्याजदर बृद्धिको विरोधमा दाङको घोराहीमा प्रदर्शनमा देखिए । लुम्बिनी प्रदेशभित्र रहेका वाणिज्य संघका पदाधिकारी र व्यवसायीहरू आन्दोलन गर्दै सडकमा उत्रिएका हुन् ।
सामान्य अवस्थामा उद्योगी–व्यवसायी सरकार र नियामक निकायको विरोध गर्न हच्किन्छन् । तर अहिले बैंकको ब्याजदर धान्नै नसक्ने अवस्था भएको भन्दै उनीहरूले महासंघको नेतृत्वमा नेपाल राष्ट्र बैंक र सरकारमाथि औंला ठड्याएर ब्याजदर घटाउन माग गरिरहेका छन् । चर्को ब्याजले व्यवसाय सञ्चालनमा कठिनाइ भएको उद्योगी, व्यवसायीको गुनासो छ ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा गरिएको विरोध कार्यक्रममा सहभागीहरूले मनपरी ब्याजदर बढाउन पाइदैन्, उद्योगधन्दा नबचे अर्थतन्त्र बच्दैन्, व्यावसायिक वातावरण सिर्जना गर भन्दै नाराबाजीसमेत गरेका थिए ।
ब्याजदर धान्नै नसक्ने अवस्था आएकाले आन्दोलनमा उत्रिनुपरेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णकुमार शर्माले बताए । ‘अब हामी व्यवसायी ब्याज तिर्न सक्ने अवस्थामा छैनौं,’ शर्माले भने, ‘बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो । राष्ट्र बैंकले बढ्दो ब्याजदर नियन्त्रण गरी नीतिगत रूपमा समस्या सम्बोधन गर्नुपर्छ ।
नेपाल सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनमार्फत ज्ञापनपत्रसमेत व्यवसायीहरूले बुझाएका थिए । ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंकको निर्देशनमा तथा वित्तीय संस्थाहरूले यही कार्तिक १ गतेदेखि लागू हुने गरी जारी गरेको चालु पँुजी कर्जा मार्गदर्शन २०७९ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विगतमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट तरलता पर्याप्त हुँदा चाहिनेभन्दा बढी ऋण लिन प्रोत्साहन गरेको तर अहिले आएर विश्व आर्थिक मन्दी भएको अवस्थामा र केही विदेशी राष्ट्रहरूमा देखापरेको आर्थिक संकटको कारण देखाइ एक्कासी नेपाल राष्ट्र बैंकद्वारा कडाइका साथ जारी चालु पँुजी कर्जा २०७९ जारी हुनबाट उद्योगी, व्यवसायीहरू अत्तालिन पर्ने अवस्था देखापरेको उल्ल्लेख गरिएको छ ।
सो नियमअन्तर्गत ओभरड्राप्ट कर्जालाई मान्यता नदिएको, आर्थिक मन्दीको यस समयमा बिक्रीको २०/२५ प्रतिशत मात्र ऋण लगानी गर्ने नियम तथा बैंकहरूबाट जथाभावी बढाइएको प्रिमियम र बेस रेटभन्दा ५/६ प्रतिशतसम्म प्रिमियम बढाइएको कारण ब्याजदरमा एक्कासी बृद्धि भई ६/७ महिना पहिले एकल अंकमा सम्झौता भएको ब्याज १५.१६ प्रतिशतसम्म पुग्न गएको हुँदा यसको खारेज गरी आर्थिक मन्दी सहज नहुँदासम्म पुरानै अवस्था कायम गरी उद्योग, व्यवसाय सञ्चालनमा सहजता गरी दिनसमेत माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी पुनले महासंघले बुझाएको ज्ञापनपत्र सम्बन्धित निकायमा पठाइ दिने भन्दै मागलाई सकारात्मक रूपमा आफूले लिएको बताइन् । ‘हामीले हाम्रोतर्फबाट हुने सहयोग गर्दछौ’ उनले भनिन् । बिहान ढुवानीका गाडीहरूले समेत र्याली निकालेका थिए । र्याली बहुद्देश्य सभा गृहबाट सुरू भएर बजार परिक्रममा गरेर सभाहलमा पुगेर समापन गरिएको थियो ।
यस्तै, प्रदेशस्तरीय उद्योग वाणिज्य संघहरूको भेलाले आन्दोलनको कार्यक्रमसमेत तय गरेको छ । पुस १५ गतेदेखि आन्दोलनका कार्य सुरू हुन भएको छ । हस्ताक्षर, विरोध प्रदर्शन, घेराउदेखि केन्द्रमा गएर राष्ट्र बैंक घेराउ गर्नेलगायतका कार्यक्रम गरिने बताइएको छ ।
सडक आन्दोलनमा संघ दाङका अध्यक्ष टंकसिंह बुढाथोकी, महासचिव महेन्द्र बुढाथोकी, डेलिभरी सेवा वितरक संघका अध्यक्ष धु्रवराज श्रेष्ठ भारी निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, डेलिभरी सेवा वितरक संघका अध्यक्ष धु्रवराज श्रेष्ठ भारी, लिकर्ष एसोसियसनका दामोदर बस्नेत, कुखुरा तथा दाना व्यवसायी समितिका निमबहादुर बुढाथोकी, दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगी, प्रजातान्त्रिक उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष गुरूप्रसाद कँडेल, स्वर्गद्वारी टिपर व्यवसायी समितिका अध्यक्ष भरतनाथ योगीलगायत सहभागी थिए । व्यवसायीले यसभन्दा अगाडि पनि यस्ता आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।