तुलसीपुर, ११ पुस ।
मंसिर २५ गतेदेखि सुरू भएको प्रथम लुम्बिनी प्रदेशस्तरी पर्यटन तथा कृषि महोत्सवको सोमबार सकिएको छ । विरोधै विरोधका बीचमा सुरू भएको महोत्सव १६औँ दिनसम्म सञ्चालन हुन सफल भएको हो ।
महोत्सवमा तीन सय बढी स्टलहरू राखिएको थियो । विभिन्न समुदायहरूकोे जातीय पहिचानसहितको भान्छाघरका स्टलहरूसमेत सञ्चालन भएका थिए । महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेका छन् भने लाखौंको कारोवार भएको छ ।
समापन कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद गेहेन्द्र गिरीले युवाहरूले गरेको कामलाई सबैले साथ सहयोग गर्न जरूरी रहेको बताए । उनले विरोधका बीचमा पनि मेला सफल भएको भन्दै आयोजक टिमलाई बधाईसमेत दिएका थिए । युवाहरूले चाहेमा हरेक कामहरू सम्भव हुन्छ भन्ने कुरालाई महोत्सवले पुष्टि गरेको बताए । युवाको हसभागिता, एकजुटता र सहकार्य हुँदै गएमा सामाजिक क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन बोर्ड सदस्य जनकप्रसाद खरालले सबैको साथ र सहयोगले महोत्सव सफल भएको बताए । महोत्सवको समापन यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेको अध्यक्षता, नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरीको प्रमुख आतिथ्यतामा तथा लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का सदस्य जनक प्रसाद खरालको विशिष्ट आतिथ्यतामा भएको थियो । क्लवका सचिव आकाश भण्डारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रको सहजीकरण दिपक खड्काले गरेका थिए ।
महोत्सव स्थलमै रक्तदान
तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेशस्तरीय कृषि तथा पर्यटन महोत्सवमा सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । तुलसीपुरमा रहेको ब्लड बैंकमा रगतको अभाव रहेको भन्ने जानकारी पाएपछि आफूहरूले मेला स्थलमै रक्तदान कार्यक्रमको आयोजना गरेको यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेले जानकारी दिए ।
रक्तदान कार्यक्रममा १८ जना युवाहरूले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको व्यवस्थापन कालिका रक्तसञ्चार केन्द्र तुलसीपुरले गरेको थियो । कार्यक्रममा बोल्दै समाजसेवी जनकप्रसाद खरालले युवाहरूले आयोजना गरेको महोत्सव स्थलमा रक्तदान गरेको भन्दै प्रशंसा गरे । आगामी युवाहरूलाई सामाजिक काममा अग्रसर बन्न आग्रह गर्दै आफूले पनि युवाहरूको काममा सहयोग गर्ने बताए ।
रक्तदान गर्नेमा घनश्याम हलुवाइ, एचआर मगर, सुशील विक, विरू विक, निर्मल टमाटा, सुदन वली, अरूण लहरे, भानुप्रकाश कशौधन, दिपक बर्मा, अभिषेक कार्की, रामबहादुर योगी, रूपेश शर्मा, शान्ताराम सेन्चुरी, झग्गु भण्डारी, डिल्लीराज भण्डारी, अंकित खनाल, गगन मगर र पवन कुमार अग्रवालले रक्तदान गरेका थिए ।