तुलसीपुर, ७ पुस ।
तुलसीपुरमा जारी महोत्सवको आकर्षण प्रतिदिन बढ्दै गएको छ । किनमेल, खेल, प्रदर्शनी र सांस्कृतिक कार्यक्रमहरूमा दर्शकहरूको भिड बढ्दै गएपछि महोत्सवको आकर्षण पनि बढ्दै गएको हो ।
अहिले मेला महोत्सवकै लागि छिमेकी जिल्ला सल्यान, रोल्पाका विभिन्न स्थानहरूबाट दर्शकहरू आउने गरेका छन् । बिहीबार महोत्सवको १२औँ दिनमा पनि दर्शकहरूको उल्लेखीय सहभागिता रहेको थियो ।
मंसिर २५ गतेदेखि सुरू भएको लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको १२औँ दिनमा गायक प्रमोद खरेल, गायिका टिका सानु, सञ्चारकर्मी तथा गायक प्रेमविवश घर्तीलगायतका राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको प्रस्तुती रहेको थियो ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतीमा दर्शकहरू रमाएका थिए । यस्तै बिहीबार करीव १० हजार बढी दर्शकहरूले मेलाको अवलोकन गरेको मेलाका सांस्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले जानकारी दिए ।
शुक्रबार पशुपति शर्मा र विन्दु परियार
लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको १३औँ दिन शुक्रबार गायक पशुपति शर्मा र गायिका विन्दु परियारको प्रस्तुती रहने छ । यसैगरी मोडल आरूसी मगर, गायक प्रेमविवश घर्ती–लगायतका राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको प्रस्तुती रहने मेला आयोजक मुल व्यवस्थापन समितिले जनाएको छ ।
तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्नेसमेत उद्देश्य रहेको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव आगामी ९ गतेसम्म सञ्चालन हुने आयोजक यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेले जानकारी दिए ।