दाङ, ७ पुस ।
नेपाल सितोरियो कराते संघ दाङले निर्माण गर्न लागेको संघको कार्यालय भवनको बुधबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । तुलसीपुर– ९ अमृतनगर टोल बेलुवामा निर्माण गरिन लागिएको पक्की भवनको नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपाली र नेपाल सितोरियो कराते संघ दाङका अध्यक्ष पदम बहादुर बस्नेतले सामूहिक रूपमा शिलान्यास गरेका हुन् ।
लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको १० लाख र संघको १ लाख ९८ हजारको श्रमदान गरी कुल ११ लाख ९८ हजारमा भवनको निर्माण कार्य सम्पन्न गरिने भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा संघका सचिव मोहलाल थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार ८ मिटर लम्बाई र ५ मिटर चौडाइ रहेको एक कोठे भवनको शिलान्याससँगै बुधबारबाट निर्माण कार्य सुरू गरिएको छ । भवनको निर्माण कार्य पुस मसान्तसम्ममा सम्पन्न गरिनेछ । सो अवसरमा संघका सदस्य देउचन केसी, पुष्पा नेपाली, प्रतिक्षा बिसी भवन निर्माण उपभोक्ता समितिका सदस्य पुतली नेपाली, सुरेश नेपालीलगायतको सहभागिता रहेको थियो ।