उमा भण्डारी दाङ, ६ पुस । दाङको तुलसीपुरमा प्रथम लुम्बिनी प्रदेशस्तरीय कृषि तथा पर्यटन महोत्सव जारी छ । मंसिर २५ गतेदेखि सुरू भएको महोत्सवमा प्रतिदिन दर्शकहरूको भिड बढ्दै गएको छ । महोत्सवमा आउने राष्ट्रिय कलाकारहरूकै कारणले पनि महोत्सवको माहोल तातिदै गएको छ ।
बुधबार महोत्सवका लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती राखेका थिए । विभिन्न स्थानमा हुने मेला महोत्सवमा आफ्नो प्रस्तुतीमार्फत दिदी–बहिनीहरूलाई रूवाउने बद्री पंगेनीले तुलसीपुरको महोत्सवमा भने सबैलाई उफ्रि–उफ्रि नचाएका छन् । ‘रातो गलबन्दी अनि तातो गलबन्दी’ खोज्दै जब उनी दर्शक सामु पुगे त्यो दृश्य रोचक देखिएको थियो ।
बद्रीको आगमन र स्वरले महोत्सव स्थलमा दर्शकहरूको भिड ह्वात्तै बढ्यो । बद्रीको गीतमा रमाउनकै लागि घण्टौँदेखि स्टेजको अगाडि बसिरहेका बृद्धबृद्धाहरू पनि उठेर नाचे भने युवापुस्ता बद्री सँगसँगै गीत गाउँदै उफ्रिए । ‘मलाई चिसो हावाले हानेको खोई त माया गर्न जानेको’ भन्दै गीत गाएपछि दर्शकहरूले उनलाई रातो गलबन्दी नै लगाइदिए । उनको प्रस्तुतीले एकछिन महोत्सवको माहोल नै फरक बनाईदियो । किनमेल गर्नेहरू सोही ठाउँमा उभिएर उनको गीतमा रमाउन थाले ।
पिङ, डुंगा, रेलमा रमाईरहेकाहरू पनि खेल्दै नाचे । एकाएक दर्शकहरूको भिड बढेपछि आयोजकलाई भिड व्यवस्थापन गर्नै मुस्किल बनेको थियो । गीतमार्फत बद्रीले तुलसीपुर, आयोजकलाई धन्यवादसमेत दिएका थिए । गलबन्दी लिएरै उनी स्टेजमा पुगेका ब्रदीले चप्पलै चुडियो, तुलसीपुरैमा, पानी सलललगायतका थुप्रै गीतहरू गाएका थिए ।
महोत्सवको ११औँ दिनमा बद्रीसँगै चर्चित मोडल एवं नृत्यकार अञ्जली अधिकारीले पनि आफ्नो प्रस्तुती राखेकी थिइन् । पछिल्लो समय युवापुस्ताको मन जित्न सफल भएकी अधिकारीको नृत्यमा रमाउनेहरू पनि उत्तिकै थिए । उनी सँगसँगै नाच्नेहरूको संख्या पनि उत्तिकै थियो भने उनको नृत्यमा झुम्नेहरू पनि उत्तिकै थिए ।
घण्टौंसम्म बद्रीको प्रतिक्षामा
महोत्सवको ११औँ दिनमा बद्री पंगेनी आउने भन्ने थाहा पाएपछि खाद्रे, बनहरी, पश्चिम दाङका विभिन्न स्थानदेखि आएकाहरू घण्टौँसम्म ब्रदीकै प्रतिक्षामा रहेका थिए । यसअघिका मेला महोत्सवमा गाएका गीत र उनको प्रस्तुतीले मन छोएको भन्दै ब्रदीकै गीत सुन्नको लागि महोत्सवमा आएको बबई गाउँपालिका बस्ने कल्पना घर्तीले बताइन् ।
उनले बद्रीलाई हेर्न र उनको गीत सुन्नकै लागि ३ घण्टा कुरेर बसेको बताइन् । दिउँसो १२ बजे नै आएर ठाउँ रोकेर बसेका छौँ, पछि भिड हुन्छ, हेर्न सुन्न पाइन्न त्यही भएर ठाउँ नै छोडेनौँ, उनले भनिन्– ‘हामी त बद्री पंगेनीलाई हेर्न, उहाँले गाएको गीत सुन्नका लागि त्यहाँबाट आएका हौँ ।’ उनीसँगै अन्य बृद्धबृद्धाहरू, महिलाहरू पनि बद्रीको प्रस्तुती हेर्नकै लागि घण्टौँसम्म ग्राउण्डमा बसिरहेका थिए ।
भोली प्रमोद खरेल आउँदै
यसैबीच प्रथम लुम्बिनी प्रदेशस्तरीय कृषि तथा पर्यटन महोत्सवको १२औँ दिन बिहीबार कलाकार प्रमोद खरेल आउने भएका छन् । प्रमोद खरेलसँगै गायीका टिका सानु र स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने सांस्कृतिक संयोजक प्रेम विवश घर्तीले जानकारी दिए ।