घोराही, २५ मंसिर ।
थारू कल्याणकारिणी सभा दाङ देउखुरीको आयोजनामा बृहत् माघ महोत्सव घोराहीमा हुने भएको छ । थारू समुदायको महान पर्व माघलाई लक्षित गर्दै आउँदो पुस २२, २३ र २४ गते माघ महोत्सव हुने भएको हो । थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले माघ महोत्सव गर्ने निर्णय गरेको हो ।
यस बैठकले तीन दिनसम्म हुने महोत्सवका लागि विभिन्न समितिहरू पनि बनाएको छ । महोत्सवलाई भव्यरूपमा सफल पार्नका लागि बैठकले भुवन चौधरीको सहयोजकत्वमा आर्थिक समिति निर्माण गरेको छ । जसको सदस्यमा केबी चौधरी, प्रकाश चौधरी, अनिल चौधरी, अशोक चौधरी, शोभाराम चौधरीलगायत रहेका छन् ।
त्यस्तै लक्ष्मीमान चौधरीको सयोजकत्वमा सांस्कृतिक समिति, अशोक चौधरीको संयोजकत्वमा यातायात समिति, सन्तोष दहितको संयोजकत्वमा प्रचारप्रसार समिति, बसन्ती चौधरीको संयोजकत्वमा स्वागत सत्कार समिति गठन गरिएको छ ।
त्यस्तै लौटन चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रकाश चौधरीको संयोजकत्वमा सरसफाई समिति र रेशम धरकटुवाको संयोजकत्वमा युवा परिचालन समिति गठन गरिएको छ ।
घोराहीको जिल्ला समन्वय समितिको प्राङ्गणमा हुने तीनदिने माघ महोत्सवमा दाङका दशवटै स्थानीय तहबाट थारू नाच नाचिने आयोजकले जनाएको छ । साथै यस महोत्सवमा थारू खाना, परिकार, तथा विभिन्न खालका स्टलहरू पनि राखिने थारू कल्याणकारिणी सभाका सचिव प्रकाश चौधरीले जानकारी दिए ।
थारू समुदायको ऐतिहासिक भूमि दाङ र थारू समुदायको महान पर्व माघ भएको कारणले थारू संस्कृति, परम्परा तथा लोप हँुदै गएका कलाहरूलाई विकास गर्नका लागि बृहत् महोत्सवको आयोजना गर्न लागिएको थारू कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले बताए ।