दाङ, २१ मंसिर ।
दाङको टरिगाउँ एयरपोर्टमा इन्धन डिपोबाट तेल नभरेर गएको छ । १५ दिनपछि टरिगाउँ एयरपोर्टमा उडान भरेको नेपाल एयरलायन्सको टुइनेटर जहाजले एयरपोर्टमा रहेको डिपोबाट इन्धन नभरेरै फर्किएको हो ।
नेपाल एयरलायन्सको इन्जिनियरिङ विभागले अनुमति नदिएको भन्दै जहाजले तेल रिफिल गर्न नमानेको हो । सम्पूर्ण तयारी गरेको भएपनि जहाजले डिपोबाट इन्धन रिफ्युल नगरेर जहाज उडेको नेपाल आयल निगम तुलसीपुर डिपोले जनाएको छ । निगमले इन्धन डिपो पूर्णरूपमा तयारी भएको र टरिगाउँबाट नै दिन सकिने भनेर जानकारी गराएको भएपछि १५ दिनपछि आएको जहाजले इन्धन डिपोबाट तेल राख्न मानेन ।
निगमको टोली फ्युल रिफिल गर्न एकसातासम्म दाङमै बसेपछि उडान भरेको एयरलायन्सले इन्धन प्रयोगमा इन्कार गरेको निगमको भनाइ छ । स्थानीयस्तरमा यसले थप अन्यौल सिर्जना गरेको सरोकारवालाहरूको भनाइ छ । नेपाल आयल निगमका एभिएसन विभागका सहायक प्रवन्धक उपेन्द्र कुमार सुवेदीले टरिगाउँ एयरपोर्टमा स्थापना भएको इन्धन डिपोले सूर्याेदयदेखि सूर्यास्तसम्म सेवा दिने तयारी गरेको भएपनि नेपाल एयरलायन्सको जहाजले इन्धन रिफ्युल नगरेको बताए ।
‘पहिलो सेवा दिन केही दिनदेखि तयारीमा थियौँ’, सुवेदीले भने, १५ दिन कुरेर जहाज आयो तर रिफ्युल गरेन, यो उहाँहरूकै प्राविधिक कारण होला ।’ दशँै अघिसम्ममा एयरलायन्सले ताकेता गरेको थियो, तर अहिले जहाजले इन्धन प्रयोग नगरेको नेपाल आयल निगम तुलसीपुरका डिपो प्रमुख विपिन श्रेष्ठले भने, ‘हाम्रो तर्फबाट सबै तयारी थियो बाउजरसमेत धावनमार्गमा पुगि सकेको थियो, जहाजले इन्धन राखेन ।’
निगमले टरिगाउँ इन्धन डिपोबाट निजी हवाई कम्पनीहरूलाई समेत दिने व्यवस्था भएपनि टरिगाउँ एयरपोर्टमा निजी विमान सेवा कम्पनीले हवाई इन्धन दिने उनले बताए । ‘नेपाल एयरलायन्सलाई मात्रै सेवा दिन हामी स्थापना भएका छैनौँ,’ सुवेदीले भने– ‘यसबाट निजी कम्पनीका जहाजहरू, हेलिकप्टरहरू सबैले सेवा पाउने छन् ।’
कम्युनिकेशनमा केही समस्या हुँदा रिफ्युलको समस्या आएको हुन सक्छ, नेपाल वायुसेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले भने, केन्द्रीय कार्यालयमा थप कुरा गर्छु । तर तेल नहालेको भन्दा पनि साथामा प्राविधिक जनशक्ति नआएको हुँदा केही असहज भएको हुन सक्ने बताए । अहिले इन्धन डिपोमा ४१ हजार लिटर हवाई इन्धन स्टक छ ।
३० हजार डिपोमा, ११ हजार बाउजरमा राखिएको छ । डिपोमा इन्धन भण्डारणका लागि टं्याक ३० हजार लिटर क्षमताको छ भने जहाजमा तेल रिफिल गर्नका लागि ११ हजार लिटर क्षमताको बाउजर (ट्यांकर) तयारी अवस्थामा छ ।