दाङ, २१ मंसिर ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको निर्वाचनमा खटिएका निर्वाचन अधिकृतहरूले बताएका छन् । अन्य जिल्लाको तुलनामा दाङमा निर्वाचन कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएपनि मतदाता शिक्षा राम्रो हुन नसक्दा निर्वाचन अधिकृतहरूलाई चुनौती थपिएको उनीहरूले बताए ।
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाता शिक्षा राम्रो नहुँदा त्यसको प्रभाव मतदान, मतगणना र मतपरिणाममा पर्न गएको उनीहरूको भनाइ छ । सरकारले खर्च गरे अनुसारको उपलब्धि निर्वाचनमा नदेखिएको निर्वाचन अधिकृतहरूले बताए । मंगलबार संवाद समूह दाङले आयोजना गरेको चुनावी समीक्षा कार्यक्रममा सहभागी निर्वाचन अधिकृतहरूले यस्तो बताएका हुन् ।
चुनावी समीक्षाका क्रममा मुख्य निर्वाचन अधिकृत एवं दाङ देउखुरी जिल्ला अदालतका प्रमुख न्यायाधीश कृपासुर कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । केही स्थानबाहेक सबै स्थानहरूमा समयमै मतदान सम्पन्न भएपनि मतदाता शिक्षा प्रभावकारी नहुँदा त्यसको समस्या निर्वाचनमा देखिएको उनले बताए । निर्वाचनमा खटिएका मतदान अधिकृतलाई प्रशिक्षण र मतदाताहरूलाई मतदाता शिक्षा प्रभावकारी हुन नसकेको बताए ।
उनले निर्वाचन कार्यालयले चार वर्षसम्म आफ्ना गतिविधि नगर्ने र निर्वाचनको संघारमा हतार–हतारमा सबै काम गर्दा थुप्रै चुनौतीको सामना गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘समय रहुन्जेलसम्म आयोगले आफ्ना गतिविधिहरू सञ्चालन नगर्ने÷नगराउने ।
जब निर्वाचन मिति नजिकिदै जान्छ तब सबै गतिविधिहरू एकैपटक सञ्चालन गर्ने भएकाले विविध समस्याहरू आउने गर्दछन्, उनले भने– ‘निर्वाचनको पूर्वसन्ध्यामा सबै कार्यतालिका हातमा पर्छ त्यो बेला के गर्ने ? पूर्वयोजना अनुसार काम गर्न पाए सबैकुरा प्रभावकारी हुने हो । छोटो समय भएकाले पनि मतदाता शिक्षा आवश्यकतानुसार सञ्चालन गर्न नसकिएको हो ।’
निर्वाचन कार्यालयसँग निर्वाचनसम्बन्धी अधिकार धेरै भएपनि मुख्य निर्वाचन अधिकृतलाई सीमित अधिकार हुने भएकाले सबै क्षेत्रको उचित व्यववस्थापन गर्न नसकिएको उनले जानकारी दिए । निश्चित समयभित्र सबै तयारी गर्नुपर्ने भएकाले पनि अपेक्षित मैत्रीपूर्ण संरचनाहरू समेत निर्माण गर्न नसकिएको बताए । अहिले चुनावमा अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री मतदान केन्द्र बनाउनमा केही जटिलता आएको उनले जानकारी दिए ।
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रमुख जिल्ला अधिकारीलाई समेत निर्वाचनसम्बन्धी अभिमुखीकरण नभएको बताए । उनले निर्वाचनलाई व्यवस्थित बनाउनका लागि चाहिने प्रविधि र श्रोतसाधनसमेत पर्याप्त नहुँदा थप समस्या भएको बताए । न त अभिमुखीकरण नै भयो, न त यसरी काम गर भनेर श्रोतसाधन उपलव्ध गराइयो, उनले भने–‘निर्वाचनमा आवश्यक पर्ने प्रविधि, सवारी साधनलगायतका श्रोत साधनहरूको उपलब्धता नहुँदा सबै क्षेत्रमा समयमै पुग्न र समस्याहरूको सम्बोधन गर्न समस्या भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले निर्वाचनमा दलहरू बीचको प्रतिस्पर्धाले आचारसंहिता उल्लंघनको काम भएको बताए । उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न÷गराउन प्रहरी प्रशासन निर्वाचन लक्षित हरेक गतिविधिहरूको निगरानी र अनुगमन गरेको बताए । दलहरू बीचको प्रतिस्पर्धाले आचारसंहिता उल्लंघन धेरै हुन्छ कि भन्ने थियो, उनले भने– ‘तर प्रहरी प्रशासन सबै ठाउँमा निरन्तर खटिरहँदा कमै रूपमा उल्लंघनका कामहरू भएका हुन्, उच्छृङ्खल रूपमा कुनै पनि गतिविधिहरू भएको पाइएन ।’
प्रदेश निर्वाचन कार्यालयका प्रतिनिधि रेवत भण्डारीले मतदान केन्द्र छनोट राम्रोसँग हुन नसकेको बताए । निर्वाचनमा खटिएका कर्मचारीहरूका लागि तालिकाको व्यवस्थापन र त्यसको प्रभावकारीता कम हुँदा त्यसको असर मतदानमा देखिएको उनले बताए । कतिपय स्थानमा मतदान गरिएका मतपत्रहरू समेत बदर गर्नुपर्ने अवस्था आएको भन्दै जनशक्ति परिचालनमा आयोगले ध्यान दिन जरूरी रहेको उल्लेख गरे ।
कार्यक्रममा संवाद समूहका सदस्य टिकाराम रेग्मी, संवादका बरिष्ठ सहजकर्ता सुशील बस्नेत, नियोग दाङका अध्यक्ष ठाकुर डाँगी, नागरिक समाज दाङका सदस्य हरिप्रसाद पाण्डे, पत्रकार लक्ष्मी आचार्य, नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शितल, ज्येष्ठ नागरिकका खुमानन्द अधिकारी, अपाङ्गता भएका व्यक्ति विवेक खड्का लगायतले यस पटकको निर्वाचनको राम्रा पक्ष र सुधार गर्नुपक्षका बारेमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । संवाद समूहका सदस्य निर्मल नेपालीले विषय प्रवेश गरेका थिए भने निर्वाचन समीक्षाको सहजीकरण सहजकर्ता शुष्मा गिरीले गरेकी थिइन् ।