- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeमुख्य खबरसमानुपातिक मतमा खुम्चिए ठूला तीन दल

समानुपातिक मतमा खुम्चिए ठूला तीन दल

- Advertisement -spot_img

दाङ, २० मंसिर ।
आमनिर्वाचन २०७९ को समानुपातिको तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । सोमबारसम्ममा १ करोड ४ लाख २८ हजार ९ सय ५८ सदर मतमा तीन ठूला राजनीतिक दलको विगतको भन्दा मत घटेको देखिएको छ । सरसर्ती हेर्दा तीनै दल समानुपातिक मतमा यसपटक खुम्चिएका छन् ।

यसपटकको निर्वाचनमा तीनवटै ठूला दल नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ २०७४ सालको निर्वाचनमा ल्याएको मतभन्दा साढे १६ लाखभन्दा बढी मत गुमाएका छन् । नयाँ पार्टीहरूको अप्रत्यारिलो उदय हुँदा ठूला दलहरू दुब्लाएका हुन् ।

यो समाचार तयार पार्दासम्ममा समानुपातिकतर्फ १ करोड ४ लाख २८ हजार ९ सय ५८ मत सदर भएको छ । यो मत पाँच वर्षअघि भन्दा धेरै हो । त्यो बेला ९५ लाख ४४ हजार ७ सय ७९ मत मात्र सदर भएको थियो । यसपटक मतदाता बढ्दा पनि राजनीतिक दलहरूको मत भने घटेको छ ।

समानुपातिकको थोरै मतगणना अझै बाँकी भएकाले दलहरूको मत केही थपिनेछ । तर अहिले दलहरूले पाएको प्रतिशतमा खासै धेरै परिवर्तन आउने देखिएको छैन । यसपालि मतदाता संख्या नै बढेकाले जम्मा सदर मत पनि धेरै भएको हो । पाँच वर्ष अघिको तुलनामा खसेको मत प्रतिशत भने यो निर्वाचनमा कम छ ।

यसपालि समानुपातिकतर्फ सबैभन्दा धेरै मत नेपाली काँग्रेसले गुमाएको छ । पाँच वर्षअघि २०७४ मा काँग्रेसले जम्मा सदर मतको ३२.७७ प्रतिशत पाएको थियो । यसपालि पनि काँग्रेसले कम्तीमा यो प्रतिशत कायम राख्न सकेको भए ३४ लाख १४ हजार मत ल्याउँथ्यो । तर उसले २६ लाख ६५ हजार २ सय ३८ मत मात्र ल्याएको छ । काँग्रेसले यसपटक ७ लाख ५४ हजार मत गुमाएको छ ।

एमालेले पाँच वर्षअघिको चुनावमा सदर मतको ३३ प्रतिशत ल्याएको थियो । यसपालि पनि त्यति नै प्रतिशत कायम गरेको भए एमालेले ३४ लाख ३८ हजार मत ल्याउँथ्यो । यसपालि २७ लाख ९२ हजार ३ सय ६३ मत मात्र पाएको छ । पाँच वर्षअघिको तुलनामा यसपालि एमालेले ६ लाख ४४ हजार मत गुमाएको छ ।

संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि यसपालि उल्लेख्य मात्रामा मत गुमाएको छ । पाँच वर्षअघि माओवादी केन्द्रले सदर मतको १३.६५ प्रतिशत पाएको थियो । यसपालि पनि त्यति प्रतिशत कायम राखेको भए १४ लाख २२ हजार मत पाउने थियो । तर माओवादीले ११ लाख ६२ हजार मात्र पाएको छ । माओवादी केन्द्रले २ लाख ६० हजार मत गुमाएको छ ।

२०७४ सालमा मधेसका दुई ठूला दल अहिलेका जसपा र लोसपाले जम्मा सदर मतको ९.८६ प्रतिशत मत ल्याएका थिए । यसपालि मधेसमा जनमत पार्टीका रूपमा सिके राउत नेतृत्वको नयाँ दल जन्मिएको छ । यो दलको उदयले खासगरी लोसपाको मत घटाएको छ । तर पनि यी तीन मधेसी दलको मत प्रतिशत जोड्दा यसपालि पनि १० प्रतिशतभन्दा कम नै छ । पाँच वर्षअघि दुई मधेसी दलले जम्मा ९ लाख ८२ हजार मत ल्याएका थिए भने यसपालि ९ लाख ८० हजार छ ।

तीन दलले गुमाएको साढे १६ लाख बढी मत यसपालि मुख्यगरी चारवटा नयाँ दलले लगेको देखिन्छ । यसको सबैभन्दा ठूलो हिस्सा यसपालि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले लगेको देखिन्छ । यो दलले यसपालि ११ लाख २४ हजार मत ल्याएको छ । तीन दलका मतको दोस्रो ठूलो हिस्सा राप्रपाले लगेको देखिन्छ ।

पाँच वर्षअघि राप्रपाका दुई घटकले जम्मा २ लाख ८४ हजार लाख जति मत पाएका थिए । यसपालि राप्रपाले ५ लाख ८६ हजार मत पाएको छ । ३ लाख मत बढाएको छ ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) र पश्चिम तराईमा उदाएको नागरिक उन्मुक्ति पार्टीले पनि २ लाख ९४ हजार र २ लाख ७२ हजार मत ल्याएका छन् । यी दुबै नयाँ दल हुन् । यसरी रास्वपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले पाएको मत र यसपालि राप्रपाले थपेको मत जोड्दा झन्डै २० लाख पुग्छ । यी दलले मुख्य तीन दलको भागबाट साढे १६ लाख मत र अरू छरिएको साढे तीन लाख मत लगेको देखिन्छ ।

नयाँ दलप्रति जनताको रूझान र समानुपातिक सूचीमा समावेश भएका काँग्रेसका नेताका कारण आफ्नो दलको मत यसपालि घटेको काँग्रेस नेताहरूको बुझाइ छ । एमालेका नेताहरूले एमालेको ग्रामीण क्षेत्रको मत राप्रपामा गएको र सहरी क्षेत्रको मत राष्ट्रिय स्वतन्त्र पार्टीमा जाँदा यसपटक मत घटेको बताउँछन् । ग्रामीण क्षेत्रमा एमालेको मत राप्रपाले लगेको र सहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गएको भनाइ एमाले नेताहरूको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here