हिमाल शर्मा
सल्यान, २० मंसिर ।
सल्यान जिल्लामा पहिलो पटक शववाहन सञ्चालनमा आएको छ । जिल्लामा शववाहन नहुँदा नागरिकलाई सास्ती भैरहेको अवस्थामा सल्यान जिल्ला अस्पतालले एकवटा शववाहन खरिद गरेर सञ्चालनमा ल्याएको हो ।
कर्णाली प्रदेश सरकारको गत आर्थिक वर्षको बजेटमार्फत जिल्लामा शववाहन खरिद गरेर सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए । शववाहन खरिदका लागि प्रदेश सरकारले जिल्ला अस्पताल सल्यानलाई १२ लाख रूपैयाँ पठाएको थियो ।
‘जिल्लामा शववाहन नहुँदा जिल्ला अस्पतालमा मात्र हैन जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरूको मृत्यु हुँदा निजी सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिकलाई सास्ती हुने गरेको थियो’ उनले भने ‘अब शववाहन सञ्चालनमा आइसकेको छ, यसले जिल्लाबासीलाई सहज भएको अपेक्षा गरेका छौँँ ।’
जिल्लामा नै शववाहन सञ्चालनमा आएपछि स्थानीय खुसीसमेत भएका छन् । यस्तै जिल्ला अस्पतालले नयाँ एम्बुलेन्ससमेत सञ्चालन गरेको छ । अस्पतालमा भएको पुरानो एम्बुलेन्स बिग्रिएको बर्षौ हुँदासमेत नयाँ खरिदका लागि ढिलाइ हुँदा समस्या हुने गरेको थियो । अहिले भने कर्णाली प्रदेश सरकारकै २० लाख रूपैयाँ बजेटबाट नयाँ एम्बुलेन्स खरिद गरेर सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।