- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeविचारसभ्य समाजका असभ्य हामी

सभ्य समाजका असभ्य हामी

- Advertisement -spot_img


सभ्य समाजको पहिचानः लैङ्गिक हिंसाविरूद्धको अभियान । यस वर्षको नाराले यो आलेख लेख्न आकर्षित ग¥यो, हरेक वर्ष नेपालमा लैङ्गिक हिंसाविरूद्धको अभियान विभिन्न गतिविधिहरू सञ्चालन गरी मनाइने गरिन्छ । यस्ता विषयहरूमा प्रायः दिवस, तालिम, सभा–समारोह, गोष्ठीलगायतका विभिन्न गतिविधिहरू हुने गर्दछन् । यसरी दिवस मनाइयो भने फोटाहरू र आफ्ना विचारहरू अनगिन्ती पढ्न र देख्न पाइन्छ ।

के समाज ब्यानरहरू, प्लेकार्डहरू र नाराहरूमा उल्लेख भए झै छ वा अझ विकाराल छ । तर्कहरू आफ्नै हुन सक्दछन् । प्रगति नभएको हैन घनिभूत प्रगति भएको देख्न सकिन्छ । भर्खरै आमनिर्वाचनमा नवउदय भएका युवापुस्ताहरू जो यही समाजका उपज हुन् । आगो खाएर काइला ओकल्नेहरू माननीय भएको देख्न पाएका छौ, समय छ आशा पनि छ ।

के सभ्य समाज निर्माणार्थ नेपालका तीनै तहका सरकारहरू तल्लीन छन् त ? के नेपालमा काम गर्ने सबैखाले सरकारी र गैर सरकारी संघसंस्थाहरूले निपूर्ण रूपमा कार्य गरेका छन् त ? कसरी र कहिले हुने हो सभ्य समाज ? कसले बनाउने हो हाम्रो समाजलाई सभ्य समाज ? के एकदिने सभा, गोष्ठी, तालिम, अभिमुखीकरणले रातारात समाज परिवर्तन हुन्छ वा यि सबै फगत हुन् ‘बालुवामा पानी खन्याए झैँ ।’

एक मनले भन्छ हैन केही परिवर्तन भएको छ, र परिवर्तन यस्तै गतिविधिहरूबाट भएको हो, हैन अर्को मनले भन्छ खै त परिवर्तनको प्रभाव, खै लैङ्गिक हिंसामा कमी आएका सूचकहरू, कुन–कुन महिलाले परिवर्तनको आभाष पाए वा कुन– कुन पुरूषको व्यवहारमा परिवर्तन भयो ?

के पुरूषले खाना पकाउन थालेपछि सभ्य समाज हुन्छ कि ? कि महिलाले कार कुदाउँदा ? यि त काम हुन्, सीप हुन्, क्षमता हुन् । कसैले कुनै कामकाज गरेर सभ्य समाज हुने भने होइन । जुन व्यक्तिको जे विषयमा रूची छ, क्षमता छ उसलै त्यही विषयलाई आफ्नो पेशा बनाएर जीवनयापन गर्ने हो र गरिरहेको पाइन्छ ।

सरकारले कोटा प्रणाली लागू ग¥यो महिलाले जागीर खान थाल्नु भयो अब समाज सभ्य बनिसक्यो त ? खै मैले जागीर खाएका नखाएका न महिलाहरू न त पुरूषहरू सबैमा हुनपर्ने जति सभ्यपना भएको महसुसीकरण गर्न सकेको छैन र यही नै हो समस्याको मूल जड ।

सभ्यता जाति, वर्ग, लिङ्ग विशेष हुँदैन यो त मानव व्यवहारको कसी हो, यो संस्कृति, परम्परा र चेतनास्तरको उपज हो । प्रविधिको उच्चतम युगमा प्रवेश गरिरहेको यो समयमा हामीले अझै ढुङ्गे युगका कथा, वनपाखामा गाईने ब्यथाका गीत गाउने, सुन्ने हो कि आफ्ना समस्या सिधा सटिक रूपमा राख्न सक्नु र त्यो समाथ्र्य र वातावरण सिर्जना कसले गर्ने हो ?

हिजो टाउकोमा नाम्लो बोक्नेहरूको हातमा मोबाइल छ, घरमा टेलिभिजन छ, छोराछोरी विद्यालय जान्छन्, बजार जानलाई दुई÷चार सय गोजीमा छ, रातो राम्रो, गुलियो मिठो खान लाउन पुगेकै छ । यस्तै सूचकहरूलाई तालिकाबद्ध देखाएर प्रतिवेदन आउँछन्, अझ सफलताका कथा पनि बन्छन्, कार्यक्रम सभा सम्मेलनमा चर्को आवाज आउछन् अर्कोतर्फ साँझ घर पुग्दा नपुग्दै समाचारमा देख्न सकिन्छ हत्या, बलात्कार, विभेद ।

यो कुनै स्थान विशेष, जाति विशेष विषय हैन तर अझै पनि गरिबी, अशिक्षाजस्ता कारणहरू देखाएर हत्याजस्तो विषयलाई कम आँकलन गरेर न्याय र अन्यायबीचमा तोलमोल हुन्छ अनि हामी खोज्दछौ सभ्य समाज ।

समाज आफै सभ्य छ र हुन्छ मात्र हामी आमनागरिक सभ्य भईदिए काफी हुन्छ । हरेक व्यक्ति सभ्य हुनु जरूरी छ । महिला महिला भएको कारणले कुनै हिंसा भोग्नु नपरोस् अनि पुरूष पुरूष भएको कारण, कुनै तेस्रो लिङ्गी भएको व्यक्ति सोही कारण हिंसा भोग्नु नपरोस्, यहि हो परिभाषा लैङ्गिक हिंसाको तर परिभाषाको सुगा रटाईले समाज सभ्य हुने होइन । तीनदिने तालिमले सिकाउने गरेको विषय यति नै हो तर व्यावहारिक रूपमा घर, समाज, कार्यालय, यत्रतत्र सर्वत्र हिंसा कायम छ यसको मतलब हामी असभ्य छौं, हाम्रो समाज अझै असभ्य नै छ ।

हाम्रो योजना निर्माण कस्तो छ, हामीले के कति बजेट वा समय सभ्य समाजका लागि खर्चिएका छौं, कतिजना व्यक्तिहरूलाई ज्ञान, सीप प्रदान गरेर क्षमता अभिवृद्धि ग¥यौ यसको लेखाजोखा सरकारका कुनै निकायमा नहुन सक्छ । एक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्षले आफै हिंसामा परेको विषय उठान गर्नुभएको थियो । अन्य सहभागी महिलाहरूले सहानुभूति प्रकट गर्नुभयो ।

किन चाहियो महिलालाई बजेट, सडक खन्ने, कालोपत्रे गर्ने, निर्माणसम्बन्धी कार्यहरूभन्दा अरू क्षेत्रलाई काम नठान्ने प्रवृत्तिले जरो गाडिसकेको छ अनि उप–मेयर, उपाध्यक्ष, महिला सदस्य दलित महिला सदस्य, कार्यपालिका सदस्यजस्ता कोटा प्रणाली त्यहाँ पनि राजनीतिक दलको कार्यकर्ताको सूचीकृत विवरणबाट प्रवेश गर्ने परिपाटीका कारण जति हुनुपर्ने हो त्यति विकास, परिवर्तन, सुशासन, भएको छैन यो तितो यथार्थ नेपालका सबै स्थानीय तहमा देखिन्छ ।

निर्णायक तहमा नपुग्दाको परिणाम भोग्नु भएको उदाहरण उपाध्यक्ष नै बजेट र योजनाका बारेमा अनविज्ञ हुनु हो भन्ने बुझिन्छ । हामीले आफ्नो काम गरे पुग्छ, जो हामी आफै गर्न सक्छौ । अरूलाई सम्मान गरे हुन्छ । मर्यादा, पहुँच, सहभागिता र सुरक्षा यी चार खम्बाहरू जबसम्म बलिया हुँदैनन् तबसम्म समाज सभ्य बन्न कठिन छ । यी विषयहरू झट्ट सुन्दा, पढ्दा लागू भएको जस्तो लाग्छ तर यथार्थमा सभ्य समाज निर्माण नहुनुमा यी विषयहरूले सुक्ष्मरूपमा समाजमा प्रवेश गर्न पाएकै छैनन् ।

समाजका दुई/चार दम्पत्तिमा श्रीमान्ले श्रीमतीलाई सम्मान गरेर, कतै बोकेर दौडेर सम्मान हुने कुरा होइन । सम्मान कस्तो हुनुपर्छ उदाहरण अहिले होइन महाभारतको कथामा पनि उल्लेख गरेर बुझाउने प्रयास भएको हो, द्रौपदीको लडाइँ मर्यादाको हो तर बुझाईमा अपब्याख्या गरिएको पाइन्छ । सीताको लडाइँ मर्यादाको हो र पुरूषोत्तम राम भनियो ।

जुन नियम, कानून सेवा सुविधाका जसले पाउनुपर्ने हो तिनीहरू दूरदराजमा छन् अझ भनाँै ल्यापटप र कम्प्युटरका फाइलमा छन्  । उनीहरूको त्यहाँ सहज पहुँच छैन जहाँबाट सहज सेवा पाइन्छ, सुविधा पाइन्छ । छोराको हात भाँचिएको छ, आमालाई कुन सबैभन्दा सस्तो अस्पताल हो थाहा छैन, भनौँ सरकारी अस्पतालबाट पाउने सुविधा उनले पाउनका लागि उनको सहज पहँुच छैन । आर्थिक समस्याले गर्दा तीन दिनसम्म भाँचिएको हात लिएर आमा छोरा सस्तो अस्पताल खोजी गर्दै हिडेको म आफैले भेट्दा मन खिन्न भयो ।

मैले जानेको कुरा बताइदिए । लैङ्गिक हिंसा होस् वा अपाङ्ग दिवस वा ज्येष्ठ नागरिक दिवस यि सबैका प्रमुख पात्र भनेका वास्तविक भोगेका, बुझेका व्यक्तिहरू ने हुन् तर उनीहरूको सहभागिता अझ अर्थपूर्ण सहभागिता कता छ ? कसरी हुन्छ अर्थ पूर्ण सहभागिता ? कतिपय कार्यक्रमहरू बाजागाजा, तामझाम, फूलमाला, सोफामय हुन्छ, मिनिरल बोतलका पानिले सजिन्छ ।

एक दिन एक बोतल पानि पिएर त हुन्न, साँझ घर पुगेर त्यही कुवाको पानी भर्न एक घण्टा धाउनुपर्ने समुदाय धेरै छन् । अनि आयोजकको दिन अतिथि वर्गको चाकडीमै सकिन्छ । आएका सहभागीहरूलाई यातायात खर्च दिन नियमले मान्दैन तर अतिथिको गाडीमा ईन्धन राख्ने कुपन पहिले तयार हुन्छ ।

कसरी सहभागितामूलक भयो । मात्र दिवस सम्पन्न भयो काम तमाम । सबैको जिब्रोमा झुण्डिएको विषय हो सहभागिता तर लक्षित वर्गलाई ध्यानमा राखेर कमै कार्यक्रमहरूको स्थान तय गरिन्छ । गाउँ तथा नगरपालिकाको सभाहल भित्र बोलाएर एकदिनमा के तिनले आफ्ना हिंसाका घटना सुनाउन सक्छन् ? दुनियालाई आफ्ना दुःख सुनाएर के पाइदो हो भन्ने जसलाई पनि लाग्छ त्यो पनि सार्वजनिक स्थानमा । यसरी बाहिरी अवलोकनले न हिंसाका रूप पत्ता पाइन्छ न समस्या समाधान नै हुन्छ ।

के गर्नु पर्छ त ?
सबैको जिज्ञासा यही हुने गर्दछ । अभैmसम्म हामी अब के गर्नुपर्छ भन्ने अलमलमा छौ कि हामीलाई साँच्चै अलमल्याएको नै हो ? यो गम्भीर विषय हो । गाई भैसीबाट धेरै दूध लिन हामीले के गर्नुपर्छ ? बालीनालीबाट धेरै उत्पादन लिन हामीले के गर्नु पर्छ ? यि दृष्टान्त सामान्य लागे पनि गर्नुपर्दा धेरै कठिन भने पक्कै छन् । सबैले जानेका तर नमानेका मात्रै हौं । सभ्य समाज बनाउन लैङ्गिक हिंसा गर्नुहुँदैन । लैङ्गिक हिंसा कमी गर्ने होइन हटाउने नै हो । यो मानव जन्य विषय हो जसलाई हटाउन सकिन्छ, प्राकृतिक विषय पो कम गर्ने हो ।

पहिलो हाम्रो लक्ष्य निर्धारणमै कमजोरी छ, हिंसा न्यूनीकरण हँुदैन, कतिजनाको मृत्यु भए न्यूनीकरण भन्ने त ? वा कति किशोरकिशोरीले नाम लेख्न जानेमा न्यूनीकरण भयो भन्ने त ? नीतिनियम पनि बनेकै छन्, विभिन्न किसिमका भत्ता सरकारले दिएकै छ अब के गर्ने वा यो क्षेत्रमा जति गरे पनि कमी हुन्छ यस्तै बहानाले हामी धकेलिदै यहाँसम्म पुगेका छौ । लैङ्गिक हिंसाका उपायहरू पत्ता लगाउन मोबाइल सर्भे पनि गरियो, तालिम पनि गरियो, दिवस पनि मनाइयो तर समुदायमा समस्या ज्यँुका त्युँ छ ।

समस्याको मूल जरो गर्ने, गराउने र पाउने सबैमा देख्छु म । हो हाम्रो गर्ने तरिका र समुदायको लिने तरिका मिलेन की ? झोला बोकेर गाउँमा आएका मान्छे सबै डलर खाने, भत्ता पचाउने भनेर चिन्ने प्रचलन छ यो विचार अथावा परिचय कसरी बन्यो ? म आफैले पनि भोगेको छु यस्ता कुराहरू, मैले सबैलाई त उत्तर दिन उचित ठान्दिन ।

तर वास्तविक प्रश्न गर्ने व्यक्ति वा समुदायमा यथार्थ उत्तर दिने गरेको छु । सहभागिता र पहुँचका क्षेत्रमा हामीले अझै धेरै काम गर्नुपर्छ । लक्षित वर्गसम्म गतिविधिहरू पुग्न सकेका छैनन् अनि कसरी हुन्छ परिवर्तन ?

धेरैजस्तो सरकारी तथा गैर सरकारी निकायका कार्यक्रमहरूमा सहभागिता हुने व्यक्तिहरू दोहोरिनु, भत्ताको लोभले कार्यक्रम राम्रो भयो, राम्रो गरेका छौं भनेर हामीले हामीलाई नै कतै पछि पारेका त छैनौँ । हाम्रा कार्यक्रमहरू सभाहल, होटलतर्फ धेरै आकर्षित भए की ? हाम्रो अनुगमन प्रणाली परम्परगत भयो की ? किन हामीले लक्षित वर्गलाई सहभागी बनाउन सकेनाँै ? यस बारेमा छलफल गरेनौँ कि । यस्ता धेरै समान्य कुराहरू छन् जसले गर्दा समस्यालाई बुझ्ने हाम्रो समान बुझाई हुन सकेन ।

फलाना संस्थाको बैठक, फलानाको योजना, फलानाको कार्यक्रममा बसेर हामीले आफ्ना कुरा कहिले गर्ने हो, यसरी आएको परिवर्तन त सरकारको लागि बनाईदिएको सौचालयजस्तो मात्र हुन्छ, सौचालय निर्माण त भयो तर अर्काको लागि, निर्माण एक ठाउँमा प्रयोग अर्को ठाउँमा । गर्ने काम धेरै छन् पहिलो त तथ्यांक ठीक हुनु पर्छ । दोस्रो आवश्यकताका आधारमा योजना बनाउनुपर्छ न कि मागका आधारमा ।

तेस्रो तल्लो तहबाट कार्यान्वयन सुरू गर्नुपर्छ । कतिपय योजना तल्लो तहमा पुग्ने बेलामा हाम्रो अवधि सकिन लाग्यो, लौ यति त छिट्टै सक्नुपर्छ, समय छैन भन्ने प्रचलन बढ्दो छ । जब कार्यान्वयन तहमा योजना पुग्छ अनि बाधा अवरोध आउँछन् अनि खेल खत्तम । चोथौ अपनत्व हुनपर्छ यसका लागि सबैको लगानी, साझेदारी र सहभागिता आवश्यक हुन्छ ।

पाँचौ पारदर्शिता, हाम्रो लागि आएको योजनाको लागत के कति हो ? कुन बिधिबाट खर्च गरिन्छ सबैले थाहा पाउनुपर्छ अनि विश्वास र स्वीकार्यता हुन्छ । यसमा अन्य धेरै पक्षहरू हुन्छन्, समाज, संस्कृति, भूगोल, मानवीय क्षेत्रहरू जसले फरक भूमिका खेलेका हुन्छन् । अन्त्यमा, सभ्य समाज निर्माण गर्ने क्रममा एकले अर्कालाई मर्यादा गरौँ, कालोलाई कालो र सेतोलाई सेतो भन्ने बानीको विकास गराँै ।
सबैको जय होस् । अस्तु ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here