हेमराज परिवर्तन
घोराही, १८ मंसिर ।
दाङको घोराही–१ हर्नोकका बिनाराम नेपाली उमेरले ७० वर्षका भए । विभिन्न समयमा भएको निर्वाचनमा मतदान गरे । उनी मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै मतदान गर्दै आएका छन् ।
यस पटकको मंसिर ४ गतेको आमनिर्वाचनमा पनि उनले मतदान गरे । तर उनी निर्वाचन जितेर गएका नेता गाउँमा फर्किन्छन् भन्ने कुरामा भने विश्वस्त छैनन् । ‘यस पटक पनि नेतालाई भोट दिएर पठायौँ’, उनले भने, ‘गाउँको विकास गरिदिने भनेका छन्, हाम्रो पनि आशामा त्यहि हो । मत पनि दियौँ, तर नेता गाउँ फर्किन विर्सिन्छन् की भन्ने चिन्ता छ ।’
चुनाव अघि गाउँघर जनताका ढोका–ढोकामा पुग्ने नेता तथा उम्मेदवारहरू भने, कोही पनि बस्तीमा पाइला नटेकने गरेको उनको अहिलेसम्मको अनुभव छ । यस पटक जितेका नेताहरू त पक्कै गाउँको विकास र समृद्धिको लागि फर्केर आउँछन् भन्ने आशा रहेको उनले सुनाए । नेपाली भन्छन्, ‘नेता पदमा पुगिसकेपछि यो ठाउँको विकास निर्माण र जनताको अवस्था के छ ? भनेर बुझ्न त पक्कै आउँलान् ए !’
चुनावका बेला गाउँकेन्द्रित हुने उम्मेदवार निर्वाचन जितेर सत्तामा पुगेपछि गाउँ नफर्कने, र उपविचेताहरू पनि क्षेत्रमा नजाने हुँदा गाउँका समस्या सरकारसमक्ष नपुग्ने र विकासमा सधैँ पछाडि परिरहेको बंगलाचुली गाउँपालिका–१ का माने विकको भनाइ छ ।
चुनाव जितेपछि पाँच वर्षपछि मात्रै पुनः निर्वाचनका बेला भोट माग्न नेताहरू गाउँ फर्कने गरेको बताउँदै उनले भने, ‘यसपालिका निर्वाचित प्रतिनिधिहरू भने चुनाव जित्ने बित्तिकै गाउँ फर्केका छन ्।’ नवनिर्वाचित प्रतिनिधिहरूले गाउँमा आममतदातालाई आभार तथा धन्यवाद दिएको उनले बताए ।
सहज खानेपानी, बिजुली, सडक, शिक्षा, स्वास्थ्यजस्ता समस्यासँग नागरिक जुधिरहेका छन् । आधारभूत आवश्यकता गाउँमा नहुँदा हामी जनता सधैँ अन्धकारमा नै जीवन जिउनु परिरहेको घोराही–१९ की रूमा केसी बताउँछिन् ।
‘पाँच वर्षअघि भएको संघ र प्रदेशको चुनावमा उम्मेदवारले विद्युत घर–घरमै पु¥याइदिन्छौँ भनेका कुरा भाषणमा मात्रै सीमित बन्यो, अहिले पनि गाउँमा सहज विद्युतको सुविधा छैन, मोवाइल, लाइट चार्ज गर्न सोलार प्रयोग गर्नुपर्छ की त बजार जानुपर्छ, कहिलेकाहीँ त अन्धकार जस्तै भएर बस्नुपर्छ’, उनले गुनासो पोखिन् ।
तर यस पटक केही आशा भने पलाएको उनले बताइन् । उनले भनिन्, ‘यो राम्रो संस्कार हो, अब हरेक दुःख सुखमा नेताहरू समय–समयमा गाउँ फर्किनुपर्छ ।’ ‘गाउँका अगुवाले भनेपछि भोट हाल्न जानै पर्छ । गाउँका अगुवासँग आएका नेताले चुनाव नहुँदासम्म सडक, खानेपाने, सिचाइँका विकास दिन्छौं भन्दै आउँछन् ।’
घोराही–१२ का गुरौंका हरी मगर भन्छन्, ‘चुनाव सकिएपछि भने उम्मेदवारले गाउँमा अनुहार देखाउने होइनन् ।’ घोराही उपमहानगरपालिकाका बासिन्दा भएपनि गुरौँ गाउँमा विकासको महसुस आफूहरूले गर्न नपाएको उनले बताए ।
सहर भएपनि सहज सडक र नजिक अस्पताल अभावले गाउँघरमा अभैmपनि महिला घरमै सुत्केरी हुने गरेको उनले सुनाए । ‘वर्षातको समयमा सडकको सहजता नहुँदा जटिल अवस्थामा सुत्केरीलगायत आकस्मिक बिरामीलाई बोकेर लैजाने बेला बाटोमै अकाल मृत्यु हुने गरेको छ’ हरि भन्छन्, ‘गाउँघरमै स्वास्थ्य सेवा भए सहज हुने थियो ।’
निर्वाचनको मतपरिणामपछि मतदातालाई धन्यवाद दिन र गुनासा, सल्लाह, सुझाव लिन आफू गाउँमै रहेको दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले बताइन् । ‘नेताले जितेपछि गाउँ फर्किदैनन् भन्ने आममतदाताको गुनासो चिर्न अहिले गाउँघरमै छौँ’, उनले भनिन्, ‘दाङको विकास र समृद्धिका लागि इमानदारीपूर्वक निष्ठावान भएर भूमिका निर्वाह गर्नेछौँ ।
यस्तै, दाङ २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वातित नेता राजु खनालले चुनाव जितेपछि पनि आफू पटक–पटक गाउँ फर्किने र जनताको गुनासो सुन्ने प्रतिवद्धता व्यक्त गरे । ‘जनताबाट पाएको मायालाई भुल्ने छैनौँ । पाँच वर्षमा मात्र गाउँमा आउँछन् भन्ने जनताको गुनासो छ’, उनले भने्, ‘हामी त्यो गुनासो आउन दिनेछैनौं’ ।