तुलसीपुर, १८ मंसिर ।
दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आधुनिक विधिबाट फोहर व्यवस्थापन सुरू गरिएको छ । अस्पतालजन्य फोहर व्यवस्थापन गर्न आधुनिक उपकरणको प्रयोग गरिएको हो ।
अस्पतालमा उत्पादनहरू फोहरलाई प्रविधिमार्फत व्यवस्थापन हुन थालेपछि अस्पतालको फोहर एकीकृतसमेत भएको छ । अस्पताल स्थापनादेखि अहिलेसम्ममा अस्पतालमा उत्पादिक फोहर व्यवस्थापन सबैभन्दा बढी चुनौती देखिएको थियो । अब त्यो व्यवस्थापन सहज हुने अस्पताल प्रशासनले बताएको छ ।
अस्पतालमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र स्थापना गरेर प्रयोगमा ल्याएपछि अस्पतालजन्य फोहर व्यवस्थापनमा धेरै सहज भएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा ओमप्रसाद अर्यालले बताए । आधुनिक उपकरण जडान गरेर अस्पतालमा थालिएको फोहर व्यवस्थापनलाई सहज गराउन फोहरको वर्गीकरणसमेत सुरू गरिएको छ ।
अस्पतालजन्य फोहर, सङ्क्रमणयुक्त फोहर, गल्ने, नगल्ने फोहरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिन थालिएको छ । त्यसमा नष्ट गर्नुपर्ने फोहर त्यहि नष्ट गरिने र उपयोग गर्न मिल्ले फोहर बिक्री गर्ने नीति अस्पतालको रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्यालले बताए । पहिले उपमहानगरपालिकोले समेत अस्पतालजन्य फोहर नउठाउँदा नजिकै गाड्ने वा जलाउने काम गरिदै आएको थियो ।
तर, अब अस्पतालको फोहर व्यवस्थापनमा सहज भएको छ । उनले उपकरण सञ्चालनका लागि अस्पतालमै दक्ष जनशक्तिको समेत व्यवस्थापन भएकाले थप सहज हुने बताए । अस्पतालमा फोहरलाई सङ्क्रमणमुक्त गर्नका लागि दुईवटा मेसिन जडान गरिएको छ । ती मेसिनबाट फोहरलाई सङ्क्रमणमुक्त गरेपछि छुट्टै राखिन्छ, र उपमहानगरपालिकालाई जिम्मा लगाइन्छ ।
युएनडिपी (चाइना एड)को सहयोगमार्फत दुई करोड ५० लाख रूपैयाँ लगानीमा फोहर प्रशोधन केन्द्र स्थापना भएको हो । नेपालभरी ७ वटा प्रादेशिक अस्पताललाई यो परियोजना सहयोग गरेको र तुलसीपुरमा प्रभावकारी देखिएको युएनडिपीका आयोजना प्रबन्धक राजेश मिश्रले जानकारी दिए । कोरोनाको प्रभावलाई हेरेर आयोजना सुरू गरिएको भएपनि निर्माणका केहि ढिलाई भएको मिश्रले बताए ।
यसैबीच अस्पतालमा निर्माण भई सञ्चालनमा ल्याइएको फोहर व्यवस्थापन केन्द्र अस्पताल प्रशासनलाई हस्तान्तर गरिएको छ । अस्पताल विकास समिति अध्यक्ष पदम प्रसाद न्यौपाने, सदस्य भगवती शर्मा, मेसु डा ओमप्रसाद अर्याल लगायतलाई युएनडिपीको टिमले हस्तान्तर गरेको हो ।