- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeविचारमहिलामाथि हुने हिंसाभित्रका कुरा

महिलामाथि हुने हिंसाभित्रका कुरा

- Advertisement -spot_img


प्रत्येक वर्ष २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म १६ दिनसम्म महिला हिंसाविरूद्ध दिवसका रूपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसाविरूद्धको दिवसका रूपमा मनाउने निर्णय गरेको हो । नेपालमा पनि यो दिवस विभिन्न क्रियाकलाप र कार्यक्रमहरूको आयोजना गरी अन्तर्राष्ट्रिय महिला हिंसाविरूद्ध दिवस मनाइँदै छ ।

लैंगिक विभेदका कारणले महिलामाथि हुने हिंसालाई महिला हिंसा भनिन्छ । महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक रूपमा क्षति पु¥याउने कुनै पनि कार्य हिंसा हो । सामान्य अर्थमा हिंसा भनेको कुटनु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली–व्यवहारबाट पनि कसैको भावनामाथि चोट पु¥याउने कार्य पनि हिंसा हो । हिंसा कुनै व्यक्ति वा समुदायमार्फत अर्को कुनै व्यक्ति वा समुदायमा हुन सक्छ । यसअन्तर्गत कुटपिट गर्नु, झगडा गर्नु, असहयोग, दबाब, चेलीबेटी वेचबिखन गर्नु, फोहोर शब्द प्रयोग गरेर गाली गर्नु कुनै पनि हुन सक्छ ।

लैंगिक दृष्टिकोणले हेर्दा महिलामाथि विभिन्न प्रकारका हिंसात्मक कार्यहरू भएको पाइन्छ । यस्ता हिंसामा शारीरिक र मानसिक दुवै खालका हिंसा हुने गर्दछन् । बलात्कार, यौनशोषण, बालविवाह, बहुविवाह र दाइजोजस्ता कुराबाट हुने हिंसा शारीरिक हिंसा हुन भने कार्यालय र अन्य ठाउँमा हुने खालका बोली, संकेत अन्य आदिबाट गरिने दुव्र्यवहार, अपमान, भेदभाव आदि मानसिक हिंसाका रूपमा रहेका छन । यस्ता हिंसाहरू उचित मात्रामा चेतनाको अभाव, अधिकारको अभाव तथा अन्य वातावरणले समेत बढेको देखिन्छ । खासगरी एकल महिलामाथि हुने दुव्र्यवहार र मानसिक पीडा पनि यसै अन्तर्गत पर्दछ ।

विभिन्न अध्ययनहरू अनुसार संसारभरिका प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनीहरूका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यस्तै अर्को अध्ययनले संसारभरिका ३५ प्रतिशत महिलाहरूले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने तथ्यांकले देखाउँछ । अर्कोतर्फ पुरूषहरूबाट कहिलेकाहीँ जानअन्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरू भईरहेको हुन्छ ।

महिला हिंसाका क्रियाकलापहरू फराकिलो दायराअन्तर्गत महिलाहरूको स्वीकृती बेगैर उनीहरूलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरू यौनजन्य हिंसाभित्र पर्दछ । नेपालमा महिला हिंसाविरूद्ध लामो अभियान जारी छ । दर्जनौँ संघसंस्था हिंसालाई न्यूनीकरण गर्न लागिपरेका छन् ।

तैपनि समाजमा महिला हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । महिला अधिकारकर्मी र समाजका विभिन्न पेसाकर्मी महिला हिंसा रोक्न तथा अपराधीलाई कडाभन्दा कडा सजाय दिलाउन भनेर आन्दोलन गर्दैछन् । मुलुकभित्रका विभिन्न कुना कन्दरामा महिलामाथि भएका विभिन्नखाले घटना सञ्चारमाध्यममा आउने गर्दछ ।

तर पनि महिलामाथि ज्यादती भएका घटना सार्वजनिक भइरहेका छन् । महिला हिंसाविरूद्ध यति ठूलो जनचेतना फैलाउने प्रयास हुँदाहँुदै पनि महिला प्रताडित हुनुपर्ने अवस्था साँच्चै लज्जास्पद हो । नेपालमा महिलामाथि विभिन्नखाले विभेद हुने गरेका छन् । यसका लागि हाम्रो परम्परागत गलत संस्कृति अर्कोतर्फ आधुनिकरणको नाममा पाश्चात्य छाडा संस्कृतिले पनि काम गरेको छ ।

नेपाली समाजमा महिलामाथि हुने विभेद हिंसा नयाँ कुरा होइन । यस्ता घटना पहिले पनि नघटेका होइनन् तर अहिले सञ्चार क्षेत्रको विकास, महिलामा बढेको चेतना, राजनीतिक परिर्वतन र भूमण्डलीकरण आदि कारणले यस्ता घटना सार्वजनिक भइरहेका छन् ।

यसको कारण महिलामाथि हुने हिंसा हाम्रो नेपाली समाजको धर्म, संस्कृति र परम्पराबीचको सम्बन्ध रहेको पाइन्छ । कम्लहरी, देवकी, छाउपडी, बहुविवाह, दाइजो प्रथा, छोराछोरीबीचको भेद्भाव, कुमारी प्रथा, बोक्सीलगायत अन्य अन्धविश्वास, कुरीति र कुसंस्कारको आधार धर्म, संस्कृति र परम्परा नै हो । यसकारण हाम्रो समाजको परम्परागत धर्म, संस्कृति, मूल्यमान्यता, सोच र चिन्तनमा आमूल परिर्वतन नभएसम्म महिलाविरूद्धमा हुने सबैखाले विभेद र हिंसाको अन्त्य हुन सक्दैन ।

यी परम्परागत कारणले गर्दा महिलामाथि हुने विभेद र हिंसाका पछाडि प्रायः स्वयं महिला नै रहने गरेका छन् । दाइजो नल्याएको अथवा छोरा नजन्माएको निहुँमा बुहारीलाई मानसिक यातना दिने, कुटपिट गर्ने, घर निकाला गर्ने र जलाउनेसम्मका घटनामा सासूकै अहम् भूमिका रहने गरेको पाइन्छ ।

अर्कोतर्फ महिला हिंसाका घटनामा वृद्धि हुनका पछाडि देशको राजनीतिक अस्थिरता, अन्योल, कमजोर निरीह, भ्रष्ट र विदेश परस्त सरकार पनि हो । यसका साथै डलरको खेती गर्ने र मानवअधिकारप्रति गफ र ओठे प्रतिबद्धता देखाउने तथा यो वा त्यो राजनीतिक दलको पिछलग्गु बन्ने नागरिक समाज र मानवअधिकारवादी सघंसंस्थाका कारणले पनि महिला हिंसा अन्त्य हुनसकेको छैन ।

नेपालको नागरिक समाज र बहुसंख्यक गैरसरकारी संस्थामा समस्या समाधान गर्नेभन्दा समस्यालाई देखाएर तथा समस्यालाई यथावत राखेर त्यसलाई मागी खाने भाँडोको रूपमा प्रयोग गरिरहने परम्परा नै बनिसकेको छ । यसैले हजारौँ र सयौँको संख्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निकाय सक्रिय रहेको देखिए तापनि सडक बालबालिका, महिला हिंसा तथा मानव बेचबिखनजस्ता समस्या घटनुको सट्टा झन् विकराल हुँदै गइरहेको छ ।

नेपाली नागरिकका सम्पूर्ण मानवअधिकारको रक्षा र सुनिश्चितताको संवैधानिक जिम्मेवारी पाएको राष्ट्रिय मानवअधिकार आयोग, महिलाको अधिकारको रक्षाका लागि स्थापित राष्ट्रिय महिला आयोग र दलित आयोगजस्ता निकाय कमजोर निकम्मा भूमिकाविहीन तथा भ्रष्टाचार र राजनीतिक हस्तक्षेपका सिकार भएका कारणले पनि मानवअधिकार उल्लंघन तथा महिला हिंसाका घटना घट्नुको सट्टा बढिरहेको छ । नेपालका राजनीतिक दल तथा नेतामा मानवअधिकारको संस्कृतिको विकास नहुनु तथा उनीहरूमा मानवअधिकारप्रतिको प्रतिबद्धता र इच्छाशक्तिको कमी हुनाले पनि नेपालको समग्र मानवअधिकारको अवस्था नाजुक र दयनीय रहँदै आएको छ ।

महिला हिंसाका घटनामा वृद्धि हुनुका पछाडि नग्नता र अश्लीलताका कारण पनि हाल भइरहेको जघन्य खालका महिला हिंसाका घटना घटिरहेका छन् । इन्टरनेट, साइबर, फेसबुकको विकास र त्यसप्रति बढ्दै गइरहेको नेपाली समाजको पहँुच पनि महिला हिंसा बलात्कारका लागि जिम्मेवार रहेका छन् । नेपाली महिला त्यसमा पनि विशेषगरी युवा पुस्ताको लवाइमा बढ्दै गएको उच्छृङखलता, उत्ताउलोपन, नग्नता र अंग प्रदर्शन गर्ने प्रतिस्पर्धाका कारण पनि महिलामाथि हुने हिंसा र यौन दुव्र्यवहार बढ्दै गएको मानिन्छ ।

समाजमा व्याप्त जुवातास र मदिरासेवन जस्ता सामाजिक विकृति पनि महिलामाथि हुने हिंसाका लागि जिम्मेवार छन् । जघन्यखालका महिला हिंसा र बलात्कारका घटना मदिरा सेवनकै कारण भएका छन् । समाज क्रमशः हिंसात्मक बन्दै गइरहेको र नैतिकताको ह्रास हुँदै गइरहेको कारण पनि यस्ता आपराधिक घटना घटने गर्छन् ।

खुला अर्थतन्त्र, पुँजीवादप्रतिको मोह र पैसा नै सबैथोक हो भन्ने सामाजिक मान्यताका कारण पनि नेपाली समाज अपराधीकरण र छाडापनतिर उन्मुख हुँदै गइरहेको छ । नेपाली राजनीतिमा भइरहेको चरम अपराधीकरण र अपराधको राजनीतिकरणका कारण नेपाली समाजमा दण्डहीनता मौलाउँदै गइरहेको छ ।

माथि उल्लेखित तमाम कारणले गर्दा महिलाविरूद्ध हुने विभेद सबै खालका हिंसा अन्त्य गर्नका लागि यी सबै पक्षलाई विचार गर्नु आवश्यक छ । नेपाली राजनीतिमा क्रमभङ्गता, नेपाली समाजको परम्परागत सोच, चिन्तन, संस्कार र जीवन र जगत्लाई हेर्ने दृष्टिकोणमा परिवर्तन र राज्यका सबै संरचनामा आमूल परिवर्तन नआएसम्म महिला हिंसाको अन्त्य हुनसक्दैन । नेपाली महिलालाई हाम्रो सदियौँदेखि परम्परागत धर्म संस्कृतिले देवीको रूपमा पूजा गर्ने परम्परालाई आज उपोभोक्तावादी समाजले महिलालाई एउटा खेलौनाको रूपमा लिइने गरेको पाइन्छ ।

महिला भएकै आधारबाट मानवअधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पु¥याइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा हुन् । समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भूमिका निर्वाह गरिरहेका हुन्छन् । नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको सिकार भैरहेका छन् ।

पम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताले महिलालाई असमान त बनाएकै छ, देशमा विद्यमान कतिपय कानुनी व्यवस्थाले समेत महिलाको हैसियतलाई समान बनाउन सकेको देखिँदैन । देशमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन् तर ती परिवर्तनलाई निर्णायक विन्दुमा पु¥याउन आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरूको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन ।

समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनताजस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणका रूपमा देखिएका छन् । पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि जारी छ । महिला र पुरूषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भैरहेको छ ।

महिलामाथि हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष ख्वाउने, एसिड खन्याएर कुरूप बनाउने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने आदि घटना भैरहेका छन् । महिला हिंसाअन्तर्गत पनि अधिकांश महिला आफ्नै घर परिवेशभित्र श्रीमान् तथा परिवारका अन्य सदस्यबाट पीडित छन् । जसलाई घरेलु हिंसा भन्ने गरिएको छ ।

दाइजो नल्याएको, छोरा पाउन नसकेको, चरित्र राम्रो नभएको जस्ता आरोप लगाउँदै श्रीमान् तथा उनका परिवारका सदस्यहरूले पत्नी र बुहारीप्रति गर्ने व्यवहार अति नै अमानवीय रहँदै आएको पाइन्छ । श्रीमानले बहुविवाह गरेर अघिल्ली श्रीमती तथा सन्तानप्रतिको जिम्मेवारी पूरा नगर्ने र कतिपय अवस्थामा घरबाट निकालिदिने अवस्थाका साथै महिलाहरू वैवाहिक बलात्कारबाट पनि उत्तिकै सताइएका छन् । त्यस्तै सामाजिक तहमा हुने विभिन्न खालका हिंसाबाट पनि महिलाहरू उत्तिकै पीडित हुने गरेका छन् ।

कामकाजमा रहेका महिलाविरूद्ध विभिन्न किसिमका टिप्पणी गरेर गरिने चरित्र हत्या, सार्वजनिकस्थल तथा सवारी साधनहरूमा दुव्र्यवहार एवं अपशब्दहरूको प्रयोग, काम गर्ने ठाउँमा हुने हिंसाजन्य व्यवहार व्यापकरूपमा हुने भएपनि सामाजिक तहमा भने यस्ता घटनालाई सामान्य ढंगले मात्र हेर्ने गरिएको छ । पछिल्लो समयमा महिला तथा बालिकामाथि हुने बलात्कारका घटना असामान्य ढंगबाट वृद्धि भैरहेका छन् । कतिपय बलात्कारका घटनामा बलात्कारपछि पीडित हत्यासमेत हुने गरेको छ ।

बोक्सीको आरोपमा असहाय महिलाहरू मारिनेदेखि लिएर हदैसम्मको निकृष्ट व्यवहार सहन बाध्य छन् । त्यस्तै प्रथा र परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रता एवं अधिकारबाट वञ्चित हुँदै अझै पनि महिलाहरू देउकी र झुमाको जिन्दगी जिइरहेका छन् भने नेपालको पश्चिमी भेगमा कायम छाउपडी प्रथाका कारण महिलाहरू अहिलेसम्म पनि कुन तहको जीवन बाँचिरहेका छन् भन्ने प्रश्न खडा भएको छ । यौन व्यवसाय, सर्कसलगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा बर्सेनि लगभग ५ हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदै आएको छ ।

त्यस्तै रोजगारीका लागि खाडीलगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रूपमा काम गर्ने महिलाहरूको शोषण एवं अत्याचार पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । सामाजिक इज्जत, प्रतिष्ठा तथा घरपरिवारको डरका कारण सकेसम्म महिलाहरू आफूमाथिका हिंसाका घटना बाहिर ल्याउन चाहँदैनन् । अझ घरेलु हिंसाविरूद्धको उजुरीमा महिलाहरूले ठूलो त्रास खेप्नुपर्ने स्थिति छ ।

त्यसैले समाधानको कुनै विकल्प नभेटिएपछि मात्र यस्ता घटना सार्वजनिक हुने गरेको पाइन्छ । तर पनि विगतको तुलनामा अहिले महिला हिंसाका घटनामा उजुरी गर्ने क्रममा वृद्धि भएको छ । यस्ता घटनाविरूद्ध राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, प्रहरी कार्यालयका महिला सेल, महिला तथा मानवअधिकार संस्था आदिमा पीडितहरूले निवेदन दिने गरेको पाइन्छ । सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा अदालतमा पेस हुने गरेका छन् ।

नेपालमा राजनीतिक परिवर्तन र त्यसले सुनिश्चित गरेका संवैधानिक अधिकारको कुरामा बलियो अवस्थामा रहेको छ । तर त्यसको कार्यान्वयन र वास्तविक न्याय वा मानवअधिकारको अवस्थामा भने अझै सुधार आउन सकेको छैन । पछिल्लो समय बढ्दै गएको यौनजन्य हिंसा र हत्या तथा द्वन्द्वका पीडितहरूले अझै न्याय पाउन सकेका छैनन् । यस्तै अरू सामाजिक न्यायका कुरामा पनि समस्या देखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here