- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsगरिबीले बढाउँदै हिंसा, परनिर्भरताले प्रतिकार गर्नै मुस्किल

गरिबीले बढाउँदै हिंसा, परनिर्भरताले प्रतिकार गर्नै मुस्किल

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, १३ मंसिर ।
तुलसीपुर–५ बस्ने ‘ए’ नाम गरेकी महिला अहिले २९ वर्षकी भइन् । उनको ३ वर्षीय छोरी, श्रीमानसहित तीनजनाको परिवार छ । उनका श्रीमान दैनिक ज्याला मजदुरीको काम गर्दै आएका छन् ।

ज्याला मजदुरी गरेर कमाएको रकमले उनकोे परिवारको दैनिकी चल्दै आएको छ । ज्याला मजदुरी गरेर जीविकोपार्जन गरेपनि सबैले हेर्दा उनको परिवारलाई सानो परिवार सुखी परिवार भन्ने गर्दछन् । तर उनले  सुखको महसुस गर्न भने पाएकी छैनन् । उनलाई उनका श्रीमानले दैनिकजसो मापसे गरी कुटपिट गर्ने गर्दछन् ।

श्रीमानको कुटाईकै कारणले कयौँ पटक बिरामी भई अस्पताल भर्ना हुनुपरेको अनुभव उनीसँग छ ।  श्रीमानले काम गर्ने स्थानमा भएको झगडा, साहुले समयमै पैसा नदिएको रिस, सँगै काम गर्ने साथीहरूको सबै रिस घरमा आएर  आफूमाथी पोख्ने गरेको उनले बताइन् ।

अन्तरजातीय विवाह गरेकै कारण माइतीसँग सम्बन्ध राम्रो नहुँदा दुःख र गुनासो पोख्ने ठाउँसमेत नभएको हुँदा पीडा लुकाएर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । प्रहरीमा गए आफूकहाँ बस्ने के खाने ? भन्ने समस्या रहेकाले श्रीमानले दिएको पीडा सहेर बस्नुको विकल्प नभएको उनले बताइन् ।

‘प्रत्येक दिन श्रीमानको गालीगलौच सुन्नुपर्छ, केही बोले भने कुटपिट गर्छन् । त्यो छोरीलाई लगेर कहाँ जाने ? के गर्ने ?’ उनले भनिन्–‘मारेपनि पिटेपनि सहेर बस्नुको उपाय छैन, त्यसैले चाहेर पनि छुटिएर, घरबाट निस्किएर हिँड्न सक्ने अवस्था नै छैन । न त हिंसाको प्रतिकार नै गर्ने साहस आउँछ ।’

‘बि’ नामकी एकल महिला अहिले ३६ वर्षकी भइन् । तुलसीपुर–५ मा बस्दै आएकी उनको दैनिकी पनि ज्याला मजदुरीबाटै चल्ने गरेको छ । उनको साथमा १२ वर्षीय छोरी र १० वर्षको छोरा छन् । श्रीमानले अर्की श्रीमती बिहे गरेर सम्पर्कबिहीन छन् ।

श्रीमान सम्पर्कबिहीन भएपपछि छोराछोरीको पालनपोषणका लागि उनी रूकुमबाट तुलसीपुर आइन् । उनी तुलसीपुर आएको पाँच वर्ष भयो । सामान्य लेखपढसमेत गर्न नसक्ने उनले अन्य कुनै काम नपाएपछि ज्याला मजदुरीको काम सुरू गरिन् । काम सुरू गरेको ४ वर्ष बितिसक्यो । तर एकपटक पनि उनले सहजै कामवापतको पारिश्रमिक पाउन सकेकी छैनन् ।

साहुको दुव्र्यवहार र अपमानजनक शब्दहरू नसुनी सहजै काम गरेको पारिश्रमिक नपाएको उनको गुनासो छ । हामीलाई भिक मागेर खाएको जस्तै बनाउँछन् । एकठाउँ हो र सबै ठाउँ त्यस्तै गर्छन् । मरिमेटी काम ग¥यो पैसा माग्ने बेला राम्रा नराम्रा सबै शब्द सुन्न पर्छ, उनले भनिन्– ‘काममा जान छोडे खान हराउँछ, जाम भने काम गरेको पैसा सजिलैसँग पाउनै गाह्रो छ ।’

३४ वर्षीय ‘सी’ नामकी महिलाले पनि  पटक–पटक आफूमाथि हुने दुव्र्यवहारहरू सहेर बस्न बाध्य भएको बताउँछिन् । आफू आर्थिक रूपमा बलियो नहुँदा समाज र आफन्तैबाट हेपिनुपरेको उनी बताउँछिन । दैनिकी चलाउन हम्मे–हम्मे परेपछि नास्ता पसल सञ्चालन गर्दै आएकी उनलाई नास्ता खाएको रकम उठाउनै मुस्किल हुने गरेको छ ।

पसलमा आएर खाने तर उधारो नदिए, खाएको बिल अनुसारको रकम मागे अनेकथरी अपशब्दहरू बोलेर थर्काउने, शरीर छुन खोज्नेजस्ता दुव्र्यवहारहरू आफूले सहनुपरेको उनले बताइन् । प्रतिकार गरेर उनीहरू विरूद्ध बोल्न खोज्दा समाजले उल्टो आफूमाथि आरोप लगाउने, होच्याएर बोल्ने, झुठाबात लगाउने र सहानुभूतिको सट्टा तिरस्कार पाउने गरेको उनी बताउँछिन् ।

‘खाएको पैसा तिरेर जानुस् भन्दा मापसे सेवन गरी अनेकथरी गालीगलौच गर्ने, शरीरमा हात लगाउने, शारीरिक यातनाको त्रास देखाउने जस्ता व्यवहारहरू गर्छन् । उनले भनिन्– ‘आफू एक्लैले प्रतिकार गर्र्न खोजेर मात्रै नहुने रहेछ, हिंसाविरूद्ध बोल्न खोज्यो समाजमा अनेकथरी कुराहरू सुन्नु पर्छ तँ त्यस्तै होस् भनेर उल्टो आरोप लगाउछन, अनि कसरी खुलेर समस्या बाहिर ल्याउने ?’

लैंगिक हिंसाविरूद्धको अन्तरक्रिया
यसैबीच दाङको तुलसीपुरमा लैंगिक हिंसाविरूद्धको अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग)को आयोजना तथा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको समन्वय तथा सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

लैंगिक हिंसाविरूद्धको १६ दिने अभिायनअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–५ रानीजरूवामा भएको कार्यक्रममा सहभागीहरू हिंसाको मूख्यकारण गरिवी, अशिक्षा र मापसे रहेको बताए ।

समाजमा हुने हिंसाका घटनाहरू गरिबीकै कारणले बढ्दै गएको उनीहरू बताएका हुन् । आफू आर्थिक रूपमा सशक्त हुन नसक्दा अरूको दवाव सहेर बस्नुको विकल्प नरहेको उनीहरूको भनाइ छ ।

आर्थिक रूपमा कमजोर हुँदा लेखपढ गर्न नसक्ने, सीप आर्जन गर्न नसक्ने र सबै कुरामा अरूप्रति निर्भर हुनुपर्ने बाध्यताले हिंसा सहेर बस्नुपरेको उनीहरूले बताएका हुन् । हिंसा सहेर बस्नुपर्छ भन्ने मानसिकता परिवर्तन हुन नसक्दा अझैपनि प्रत्येक परिवारमा हिंसाका घटनाहरू हुने गरेको उनीहरूले बताए ।

महिलाहरूलाई आर्थिक सशक्तिकरण र जीविकोपार्जनमा जोड्न सके हिंसाका घटनाहरू कम हुँदै जाने उनीहरूको भनाइ छ । हरेक कुरामा परनिर्भर हुनुपर्ने अवस्थाले पनि हिंसाविरूद्ध खुलेर बाहिर आउन नसकेको अवस्था महिलाहरूमा रहेको उनीहरूले बताए । समाजलाई हिंसामुक्त बनाउनका लागि स्थानीयलाई रोगजारीको आवश्यकता रहेको बताएका थिए ।

अहिले स्थानीयहरू जीविकोपार्जनका लागि मापसे बिक्री वितरण गर्ने भएकाले टोलमा झैझगडा, घरेलु हिंसा, सामाजिक हिंसाहरू बढ्नुका साथै स्थानीयस्तरमा सुरक्षाको पनि चुनौती पनि बढेको बताएका थिए । साथै उनीहरूले बेरोजगारी र अशिक्षाले गर्दा पनि यस्ता खालका चुनौतीहरू सिर्जना भएको बताएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानको औचित्य र आवश्यकता, हिंसामुक्त समाज निर्माणका लागि संघीय सरकार र स्थानीय सरकारले बनाएका नीति तथा कार्यविधि एवं स्थानीय सरकारले थालेका प्रयासहरूका बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रम वडा सदस्य भिमबहादुर केसीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण म्याग प्रतिनिधि उमा भण्डारीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here