Thursday, March 28, 2024
Homebreaking-newsचुनावी नतिजा, दाङमा गठबन्धनको क्लिनस्वीप

चुनावी नतिजा, दाङमा गठबन्धनको क्लिनस्वीप

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ९ मंसिर ।
दाङमा गठबन्धनले क्लिनस्वीप गरेको छ । नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवारले जिल्लाका सबै क्षेत्रमा जीत हासिल गरेका हुन् । तीन प्रतिनिधि र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दाङमा गठबन्धकै उम्मेदवारहरूको जीत भएको छ ।

गत बैशाख ३० मा भएको स्थानीयतह निर्वाचनमा दाङमा सोचेजस्तो नतिजा ल्याउन नसकेको गठबन्धन दलले मंसिर ४ को आमनिर्वाचनमा सोचेअनुसारकै नतिजा ल्याएका छन् । एमालेका उम्मेदवारलाई पराजित गराउन सफल भएको हो । प्रनिनिधि सभा दाङ– १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले जीत हासिल गरेका छन् । उनले नेकपा एमालेका शान्ता चौधरीलाई पछि पारेर जितेका हुन् ।

दुवैजना २०७४ सालको निर्वाचनमा सहकर्मी (एउटै पार्टी) नेकपा एमालेमा आवद्ध थिए । पार्टी विभाजन भएपछि पूर्व सहकर्मीबीचमै प्रतिस्पर्धा भएको हो । गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनलाई हेर्दा एकीकृत समाजवादीको मत कमजोर हो तर तीन पार्टी मिलेका कारण यसपटक चुनाव जित्न मेटमणिलाई सहज भएको हो ।

यस्तै प्रतिनिधि सभा दाङ क्षेत्र नम्बर २ मा पनि गठबन्धनको पक्षमा नतिजा हात परेको छ । क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका रेखा शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर जित हासिल गरेका हुन् । शर्माले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई पराजित गरिन् ।

शर्मा र पोख्रेल बीचको मतान्तर १९६ मात्रै छ । पराजित पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् । निर्वाचित शर्मालाई गठबन्धन दल नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादीको साथ थियो भने पोखरेल एक्लै प्रतिस्पर्धामा थिए । १ लाख ३३ हजार ७४८ मतदाता रहेको दाङ क्षेत्र नम्बर २ मा ७९ हजार ४४६ मत खसेको थियो ।

शर्माको संसदीय यात्रा भने ०७० बाट सुरू भएको हो । उनी ०७० र ०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन् । ०७२ साल कार्तिकदेखि ०७३ कार्तिकसम्म सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहेर काम गरेकी शर्माले कानुन निर्माणलगायत संसदीय गतिविधिमा सक्षम, सक्रिय र सफल सांसदको रूपमा पहिचान बनेको छ ।

प्रतिनिधि सभा दाङ– ३ मा गठबन्धनका उमेदवारले जीत हासिल गरेका छन् । क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसको तर्फटबाट गठबन्धनका साझा उम्मेदवार दीपक गिरीले जीत हासिल गरेका छन् । गिरीले नेकपा एमालेका कोमल वलीलाई भारी मतान्तरले पछि पारेर जीत निकालेका हुन् ।

यस क्षेत्रमा खसेको ९० हजार मतमा गिरीले ३५ हजारभन्दा बढी मत प्राप्त गरेका छन् । भने कोमल वलीले ३० हजार पु¥याउन सकिनन् । स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार नजिक मत प्राप्त गरेका छन् ।

सबै प्रदेशमा गठबन्धन
प्रदेश सभाको छवटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार निर्वाचित भएका छन् । प्रदेश सभाका छवटा निर्वाचन क्षेत्रमध्ये काँग्रेसका ४ र माओवादी केन्द्रका २ जनाले जित हासिल गरेका हुन् ।

दाङ क्षेत्र नम्बर १ को प्रदेश सभा २, क्षेत्र नम्बर २ को प्रदेश सभा १ र २, क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने क्षेत्र नम्बर १ को १ र ३ को २ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका इन्द्रजित थारू निर्वाचित भएका छन् । उनले नेकपा एमालेका गंगाराम भट्टराईलाई पछि पारेर जित हासिल गरेका छन् ।

यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा नेपाली काँग्रेसका अनुराग खड्का निर्वाचित भएका छन् । २८ वर्षिय खड्काले नेकपा एमालेका कुलबहादुर केसीलाई ३ हजार ७२ मतले पछि पार्दै पहिलोपटक संसदको बाटो तय गरेका हुन् ।

निर्वाचित खड्काले १६२२२ मत प्राप्त गरेका छन् भने पराजित एमालेका केसीले १३ हजार १७० मत प्राप्त गरेका छन् । प्रदेश सांसदमा निर्वाचित खड्का स्वर्गीय नेता खुमबहादुर खड्काका सुपुत्र हुन् । यस्तै दाङ क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाली काँग्रेसका राजु खनाल निर्वाचित भएका छन् ।

यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा नेपाली काँग्रेसका प्रचण्ड विक्रम न्यौपाने निर्वाचित भएका छन् । उनले नेकपा एमालेका गिरिराज केसीलाई ७७० मतान्तरले पछि पार्दै जीत हासिल गरेका हुन् । न्यौपानेले १७ हजार ४ सय ६९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी १६ हजार ६९९ मत प्राप्त गरेका छन् ।

चौधरीलाई प्रदेश सांसदमा दोस्रो सफलता
नेपाली काँग्रेसका नेता डिल्ली बहादुर चौधरीलाई प्रदेश सांसदमा दोस्रो सफलता मिलेको छ । गठबन्धनका साझा उम्मेदवार चौधरीले दाङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट दोस्रो पटक निर्वाचित भएका हुन् ।

भावी मुख्यमन्त्रीको रूपमा हेरिएका चौधरीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेलाई ५ हजार ४ सयको भारी मतान्तरले पछि पार्दै प्रदेश सांसदमा दोस्रो इनिङ गरेका हुन् । उनको यो तेस्रो संसदीय यात्रा हो ।

चौधरीले १९ हजार ८५० मत प्राप्त गरेका छन् भने एमालेका केन्द्रीय सदस्य पाण्डेले १४ हजार ४५० मत प्राप्त गरेका छन् । चौधरी यसअघि पनि २०७४ सालको निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित भएका हुन् । प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी लुम्बिनी प्रदेश ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्री हुन् भने पराजित पाण्डे तुलसीपुर उपमहानगर–पालिकाका निवर्तमान मेयर हुन् ।

यस्तै दाङ क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा गठबन्धनका धनबहादुर मास्की निर्वाचित भएका छन् । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मास्कीले २२ हजार ३ सय २१ मत प्राप्त गरे प्रदेश संसदको यात्रा सुनिश्चित गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हुकुम बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गरेका छन् । मास्की र बस्नेतबीचको मतान्तर २ हजार १ सय ६१ रहेको छ । मास्की पहिलो पटक संसदमा प्रवेश गर्ने अवसर पाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here