- Advertisement -spot_img
Wednesday, December 7, 2022
Homebreaking-newsनिर्वाचन ब्याकडेट, नयाँमा उत्साह, पुरानामा नैरास्यता

निर्वाचन ब्याकडेट, नयाँमा उत्साह, पुरानामा नैरास्यता

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, ७ मंसिर ।
तुलसीपुर उपमहानगरपालिका–१२ राईखलियानकी १९ वर्षीय प्रज्ञा शर्माले मंसिर ४ को निर्वाचनमा पहिलोपटक मतदान गरिन् । उनी अन्य मतदाताभन्दा धेरै उत्साहित थिइन् । मतदान केन्द्रसम्म पुग्न घण्टौँ लागेपनि उनमा थकान थिएन ।

विगतका निर्वाचनमा अरूले मतदान गरेको देख्दा उनलाई पनि मतदान गर्न जाउँ–जाउँ लागिरहन्थ्यो । तर उमेर नपुेका कारण उनी मतदानमा सहभागी भने भएकी थिइनन् । यस पटकको आमनिर्वाचनमा भने उनको त्यो धोको पूरा भयो । मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उनीले पनि मतदान गरिन् ।

हजुरआमासँगै मतदान केन्द्रमा पुगेका शर्माले आफ्नी हजुरआमालाई समेत मतदानमा सहयोग गरिन् । ‘पहिले पनि मतदानमा सहभागी हुन रहर त लाग्थ्यो तर नामावली थिएन,’ उनले भनिन्– ‘यसपटक त एक घण्टा हिडेर मतदानकेन्द्रमा पुगी मतदान गरे, हजुरआमाको पनि मतदान गरिदिए नि, एकदमै खुसी छु ।’

राजनैतिक आस्थाका आधारमा नभई जनताको भावना, समस्या र आवश्यकता बुझेर काम गर्न सक्ने उम्मेदवारलाई मतदान गरेको उनले बताइन् । विगतमा गरिएका काम, जनताप्रतिको लगाव र समस्याहरू प्रतिको गम्भीरताका आधारमा उम्मेदवारहरूलाई मतदान गरेको उनको भनाइ छ ।

तुलसीपुर–६ की सिर्जना भण्डारीले पनि पहिलोपटक मतदान गरिन् । उमेर नपुग्दा यसअघिका निर्वाचनमा मतदान गर्न नपाएकी उनी यसपटक भने मतदाता नामावलीसहित मतदान केन्द्रमा पुगिन् । आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउँदा उनी खुशी थिइन् ।

पहिलो पटक मतदानमा सहभागी भएकी उनी निर्वाचन मिति जति नजिकिदै जान्छ त्यति उत्साहित र खुसी देखिन्थिन् । यसअघिका निर्वाचनमा अरूले मतदान गरेको हेरेरै रमाएकी उनी यसपटक भने उत्साहित हुँदै आफूले चाहेको उम्मेदवारलाई मतदान गरिन् ।

‘कहिले नामावली बन्छ र मतदान गरौँला भन्ने भइरहेको थियो,’ उनले भनिन्– ‘मतदान गर्ने ठुलो रहर यसपटक पूरा भएको छ, निर्वाचनमा सहभागी हुन पाउँदा एकदमै खुसी महसुस गरेकी छु ।’ तुलसीपुर–५ की २९ वर्षीय आशा केसीसँग भने यसअघिका निर्वाचनमा मतदान गरिसकेको अनुभव थियो ।

२०७० र ०७४ सालको निर्वाचनमा मतदान गर्न पाउँदा उनमा जति उत्साह थियो, त्यति उत्साह र जागर यसपटकको निर्वाचनमा नभएको उनले बताइन् । यसपटकको निर्वाचनमा भने आफ्नो मताधिकारको प्रयोगका लागि सहभागी भए तर निर्वाचनको उत्साह मनमा आएन उनले भनिन् ।

निर्वाचित भएर गएकाहरूले जनताको समस्याप्रति चासो नदिने, आश्वासन मात्रै दिने, विकासका कामहरू नगर्ने नेताहरूको ब्यवहारले रूष्ट बनाएकाले मतदानमा सहभागी हुने उत्साह नै हराएको बताइन् ।

जुनसुकै पार्टीका नेताहरूले जितेपनि हाम्रा समस्याहरू कसैले सुन्दैनन्, जतिसुकै राम्रा कुरा गरेपनि आखिर सबै आश्वासन मात्रै त हो हामीले पाउने, उनले भनिन्– ‘मलाई त मतदान गर्न जान पनि मनै लागेन, तर गाउँघरका सबै जाँदा जाम न त भनेर गए । सबैले आश्वासन मात्रै दिने भएर होला निर्वाचनप्रति चासो पनि लाग्न छोडिसक्यो ।’

तुलसीपुरका रूपलाल साहुले पनि निर्वाचनप्रतिको चासो कम हुँदै गएको बताए । विकास निर्माणका कामहरू चुनावी एजेन्डामा मात्रै हुने, सधै आश्वासन मात्रै दिने परिपाटीले निर्वाचनप्रतिको उत्साह र सरकारप्रतिको भरोसा कम हुँदै गएको उनले बताए ।

‘हामी जनताको जीवनशैलीमा कहिले सुधार आएन, सरकारमा जसको नेतृत्व भएपनि जनता सँधै खानेपानी, सडक, सिचाइँ, शिक्षा स्वास्थ्य र रोजगारको पहुँचभन्दा बाहिर नै भए,’ उनले भने– ‘जतिसुकै समृद्धिका नारा लगाए पनि हाम्रो अबस्था सँधै यस्तै हो । त्यसैले निर्वाचनप्रति चासो लाग्नै छोड्यो ।’

दंगीशरणका डिल्ली वली यसपटकको मतदानमा सहभागी भएनन् । यसअघिको निर्वाचनमा राजनैतिक दल र उम्मेदवारहरूले प्रस्तुत गरेका चुनावी एजेन्डाहरू हालसम्म पनि पूरा हुन नसकेको भन्दै उनले यसपटकको निर्वाचनमा आफूले मतदान नगरेको बताए ।

समृद्धिका नारा लगाएर जनता झुक्याएका दल र तिनका उम्मेदवारहरू यसपटक पनि पुरानै एजेन्डासहित जनताको घरदैलोमा पुगेकाले उनीहरूप्रतिको विश्वास कम हुँदै गएको उनले बताए । निर्वाचनका समयमा दलहरूले बाँड्ने आश्वासनमा विश्वासै लाग्न छाडेकाले मतदानप्रति आफूहरूको उत्साह कम हुदै भएको पुराना मतदाताहरू बताउँछन् ।

मतदाताहरूका उत्साह नहुँदा यसपटक मतदानसमेत विगतभन्दा कम भएको छ । २०७९ स्थानीय निर्वाचनमा ७१ प्रतिसत हाराहारीमा भएको मतदान प्रतिसत यसपटक ६१ प्रतिसतको हाराहारीमा हुनु नै मतदाताहरूको निर्वाचनप्रतिको उत्साह कम भएको देखाउँछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here