- Advertisement -spot_img
Wednesday, June 7, 2023
Homebreaking-newsकिसानलाई मलकै पिरलो, ‘सरकार आउँछ, मल आउँदैन्’

किसानलाई मलकै पिरलो, ‘सरकार आउँछ, मल आउँदैन्’

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ७ मंसिर ।
मंसिर ४ को निर्वाचन सकिएपछि नेताहरू मत परिणामको अन्तिम पखाईमा छन् । मतगणना जारी हुँदा उम्मेदवारलाई भोटको चिन्ता छ । तर किसानलाई भने मलकै चिन्ता दोहोरिएको छ ।

आफूले भोट हालेका नेताको जित÷हारको नतिजामा भन्दा पनि अहिलेको समयमा रासायनिक मल कसरी ल्याउने भन्ने मुख्य समस्या रहेको किसानको गुनासो छ । धान खेतीमा रासायनिक मल पाउन नसकेका किसानले हिउँदे खेतीमा पनि मल पाउन सकेका छैनन् । हिउँदे खेतीपातीको समय सुरू भइसक्दा मल पाउन नसक्दा फेरि पनि गहुँ उत्पादन कम हुने चिन्तामा किसान छन् ।

‘धानमा पनि मल हाल्न पाइन, गहुुँ खेती गर्ने बेलामा पनि मल पाउन सकेका छैनौँ ।’ तुलसीपुर–७ गणेशपुरका निमा रेग्मीले भनिन्–‘किसानलाई सधैँ मलको अभाव हुन्छ, खै हाम्रो कुरा सरकारले सुन्ने कहिले होला ?’ सरकारले दिने सहुलियतको रासायनिक मल नपाउँदा बजारमा महँगो मूल्यमा मल किन्नुपरेको उनले गुनासो गरिन् । ‘अहिले ५० केजी मल आवश्यक छ’ उनले भनिन्– ‘तर पाँच किलो मल पनि पाउन नसक्ने अवस्था छ ।’

कासीराम भण्डारी पनि मल नपाउँदा समस्यामा छन् । ‘हामीलाई खेतीपाती गर्नेभन्दा मल पाउन निकै दुखसास्ती हुन्छ’ उनले भने– ‘सरकार किसानका समस्याप्रति कहिल्यै गम्भीर हुन सकेन् ।’ तुलसीपुर–७ का भण्डारीले सरकारले वितरण गर्ने मल सहजरूपमा नपाउँदा भारतीय बजारबाट आएको कम गुणस्तरको मल महँगोमा खरिद गर्नुपरेको बताए ।

‘बाहिरबाट किनेको मलले बाली सप्रदैन्’ उनले भने– ‘महँगोमा किन्नुपर्छ, तर मल नै नलगेपछि उत्पादनसमेत कम लिनुपर्ने बाध्यता हामीलाई छ ।’ मल सहजरूपमा नपाएको चार वर्ष लगातार भएको उनले बताए । ‘जुनसुकै सरकार आएपनि मल आएन’ उनले भने–‘यसपालि पनि भोट हालेका छौँ तर मल पाउँछौँ भन्ने आशा निकै कम छ ।’

किसानको ज्ञापनपत्र
खेती गर्ने समयमा सहजरूपमा मल पाउनुपर्ने मागसहित दाङका किसानले कृषि सामग्री कम्पनी लिमिटेडलगायतका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सहकारीमार्फत बिक्री हुने मल कम्पनीले फुटकरमा बिक्री गरेको र कार्यक्षेत्रभन्दा बाहिरको सहकारीलाई बिक्री गरेको आरोपमा किसानले लगाएका छन् ।

मंगलबार दिउँसो १२ बजेतिर तुलसीपुरको सल्यान रोडमा रहेको कार्यालयमा पुगेर किसानले कार्यालयमा पुगेर मलमा कालोबजारी भएको भन्दै आक्रोस पोखेका छन् । किसानले तुलसीपुर–५ मा रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले कार्यक्षेत्रभन्दा बाहिर महँगो मूल्यमा बिक्री गरेको गुनासो राखेका छन् । कार्यालयले अधिकारभन्दा बाहिर गएर फुटकरमा नजिकका किसानलाई मल बिक्री गरेको गुनासो राखेका छन् ।

मिलेमतोमा सहकारीले कालोबजारी गरेको तुलसीपुर–७ का किसान दुर्गा भण्डारीले आरोप लगाए । ‘मिलेमतोमा मलमा सहकारीले कालोबजारी गरेको हो’ उनले भने–‘मल पारदर्शीरूपमा बिक्री वितरण गरिनुपर्छ ।’ उनले सरकारले बिक्री गर्ने सहुलियत मल अहिलेसम्म कुनैपनि बेला नपाएको बताए ।

किसान पुनाराम भण्डारीले २ हजार ४ सयमा पाउनुपर्ने सहुलियतको डिएपी मल ३ हजारमा किन्न बाध्य भएको बताए । किसानहरूले मल सहजरूपमा पाउनुपर्ने मागसहित तुलसीपुरका किसानले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा मलमा भएको कालोबजारी रोक्नुपर्ने, सहुलियतको मल सहजरूपमा पाउनुपर्ने लगायतका माग राखिएको छ ।

कार्यालय प्रमुख तिर्थराज न्यौपानेले किसानलाई महँगो मूल्यमा बिक्री गर्ने सहकारीको सत्यतथ्य छानबिन गर्ने बताए । कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरमा १ सय ३७ टन मल स्टक रहेको कार्यालय प्रमुख न्यौपानेले बताए । ‘मलको माग धेरै आएको छ’ उनले भने–‘अहिलेको तत्कालको अवस्थामा १३७ टन मलमात्रै स्टक छ ।’

यस्तै किसानले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, कृषि शाखा प्रमुख धनराज गौतम, सहकारी शाखा प्रमुख ललित घर्तीलगायतलाई सहकारीमार्फत वितरण हुने प्रक्रियालाई सहज बनाउन माग गरेका छन् ।

कार्यक्षेत्रभन्दा बाहिर रहेर कालोबजारी गर्ने सहकारीलाई कानुनी दायरामा ल्याउनुपर्ने किसानको माग छ । त्यसअवसरमा नगरप्रमुख खड्का, उपप्रमुख चौधरीलगायतले किसानको समस्यालाई समाधान गर्न तयार भएपनि मल पर्याप्त नआउँदा समस्या भएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here