जीतसागर जी.एम.
हिन्दुहरूको महान पर्व दशैँ तिहारजस्ता चाडपर्व भित्रिसकेका छन् । गतवर्ष भन्दा यसवर्ष दशैँ केही उल्लासपूर्ण हुने अपेक्षा गरिएको छ । बिगत दुई वर्षमा कोरोना महामारीका कारण उल्लासमय बन्न नसकेको दशैँ यसवर्ष केही उल्लास हुने देखिएको छ । दशैँ मनाउनका लागि घरदेखि टाढा रहेकाहरू पनि घर फर्किन थालेका छन् । यसपालि घरपरिवारसँगै दशैँ तिहारजस्ता चाडपर्व मनाउन नेपालीहरू हर्षित भएका छन् । बिगतमा कोरोनाका कारण चाडपर्वहरू खल्लो बनिरहेको अवस्थामा अहिलेको दशैँलाई उल्लासपूर्णरूपमा मनाउने तयारी गरिएको छ । चाडपर्व संस्कार र सभ्यतासँग जोडिएको छ । तर पछिल्लो समय चाडपर्व मनाउने शैली केही तडकभडक बन्न थालेको बुझाई पनि छ । चाडपर्वलाई सभ्य, सुरक्षित कसरी बनाउने ? दशैँ तिहारजस्ता चाडपर्वको महत्वप के भनेर केही व्यक्तिका धारणाहरू लिएका छौ । – सम्पादक
खानपिनमा ख्याल पुर्याऔं
डा.विकास लामिछाने
उपकुलपति
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
दशैँ तिहार नेपालीको महान चाडपर्व हुन् । वर्षदिनमा आउने चाडपर्वले विषेश महत्व बोकेका छन् । दशैँ त हामीले वर्षमा दुई पटक मनाउँछौँ । तर तिहार हामीले वर्ष दिनमा एकपटक मनाउँछौँ । महान पर्व भएका कारणले पनि नेपालीले विषेश महत्वका साथ मनाउने गरेका छन् । गतवर्षमा कोरोना महामारीका कारण ढुक्कले चाडपर्व मनाउन सक्ने अवस्था थिएन् । तर यसपटक अझै विषेश हुने देखिन्छ । गतवर्षमा कोरोना महामारीले ढुक्कले मनाउने वातावरण थिएन्, अहिले परिवारसँगै ढुक्कले दशैँ पर्व मनाउने वातावरण बनेको छ । चाडपर्वलाई सभ्य र सुरक्षित रूपमा मनाउनुपर्छ । दशैँ तडकभडकरूपमा मनाउनुहुँदैन् । मान्यजनसँग भेटघाट, आशीर्वाद लिने नै विषेश हो । चाडपर्व भनेकै पारिवारिक भेटघाट हो ।
दशैँ विषेश पर्व भएका कारणले पनि खानपान पनि बढी महत्वका साथ हुने गर्दछ । कतिपय अवस्थामा आवश्यकता भन्दा बढी खानपान हुने गर्दछ । खानपान बढी हुँदा समस्या देखिन सक्छन् । त्यसैले पनि खानपानमा विषेश ख्याल पु¥याउन आवश्यक छ । दशैँ पर्व नजिकिएसँगै अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । दशैँमा झन् खानपान बढी हुन्छ । जसका कारण स्वास्थ्य र आर्थिकमा समस्या देखिन सक्छ । त्यसैले पनि विषेश सावधानी अपनाउन आवश्यक छ । खानपिनमा संयमित हुन सकिएन भने स्वास्थ्यमा जटिल समस्या निम्तिन्छन् । तत्कालीन समस्या पनि देखिन सक्छन्, दीर्घकालिन समस्या पनि देखिन सक्छन् । चाडपर्व भनेको मेलमिलापको पर्व हो ।
मेलमिलापको पर्व भएकाले पनि टाढा–टाढा आउने आफन्तसँग भेटघाट हुने गर्दछ । जमघटमा मासु र मदिराको प्रयोग बढी हुने गर्छ । यस कुरामा बढी संयमित हुनुपर्दछ । बिगतभन्दा पछिल्लो समय दशैँ मनाउने शैली फेरिदै गएको छ । संस्कार र संस्कृतिको जगेर्ना गर्न युवा पुस्ताले चासो दिएको पाइदैन् । बरू अरूको देखासिकीमा पर्व मनाउने संस्कारको विकास भएको छ । अरूको देखासिकीमा होइन्, आफ्नो गक्ष अनुसारको चाडपर्वलाई मनाउनुपर्छ । अरूको देखावटीमा ऋण कारेर पर्व मनाएर भोलिका दिनमा ऋणको मारमा पर्नुभन्दा आज नै सचेत भएर आफ्नो हैसियत अनुसार दशैँ पर्व मनाउनुपर्छ ।
महान पर्व भएकाले पनि अरू चाडपर्वभन्दा केही विषेश हुन्छ नै तर यसलाई तडकभडक बनाउनु हुँदैन् । बिगतमा दशैँको महत्व धेरै हुन्थ्यो । किनभने संस्कार र संस्कृतिसँग जोडिएको हुन्थ्यो तर अहिले त्यस्तो पाइदैन् । देखासिकी मौलाउँदै गएको अवस्थामा हाम्रा रितीरिवाज र परम्परा ओझेल पर्न थालेका छन् । अहिलेको परिस्थितिमा चाडपर्वलाई सभ्य र सुसंस्कृत बनाउनका सबैको भूमिका महत्वपूर्ण हुन्छ ।
सम्बन्ध मजबुतको माध्यम
माधव अधिकारी
कुलसचिव
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी
दशैँ र तिहार नेपालीका महान चाड हुन् । त्यसमध्ये बडादशैँ नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दूधर्मको बाहुल्यता रहेको नेपालमा दशैँ र तिहारजस्ता पर्वको महत्व बढी छ । चाडपर्वका सामाजिक, धार्मिक, सांस्कृतिक र मानव स्वास्थ्य रक्षाका दृष्टिले हेर्न सकिन्छ । सामाजिक महत्व चाडपर्व पारिवारिक वा सामाजिक सम्बन्धलाई मजवुत पार्ने तथा नवीकरण गर्ने माध्यम पनि चाडपर्व हो । चाडपर्वका अवसरमा घरका सदस्य वा आफन्त एकै ठाउँमा भेला हुने खानपान, मनोरञ्जन गर्दै सुख–दुःख बाँड्ने चलन छ ।
वर्ष दिनसम्म टाढा रहे पनि दशैँमा घर जाने बाबुआमा वा मान्यजनको आशीर्वाद थाप्नेजस्ता कार्य नेपालीहरूको वर्षाैदेखिको परम्परा हो । तिहारलाई दिदीबहिनी र दाजुभाइबीच मिलन हुने आत्मीयता बढ्ने पर्व मानिन्छ । दशैँ तिहारलाई वर्ष दिनसम्म नभेटिएका साथीसंगी इष्टमित्र भेट्ने अवसर मानिन्छ । सहरिएका र परदेशिएकाहरू जम्मा हुने र आफूले पाएका ज्ञान बाँड्ने, सामाजिक कार्यमा उपस्थित हुने र सकेको सहयोग गर्ने कार्यले समाज जोड्ने सूत्रलाई कसिलो पारेको हुन्छ ।
पेशा व्यवसायमा तल्लीन भइरहँदा निरस भएको मानव जीवनलाई चाडपर्वमा हुने आफन्त भेटघाट, खानपान, मनोरञ्जन आदिले पुनर्ताजगी दिन मद्दत गर्दछन् । धार्मिक महत्वका साथ हामीले मनाउने अधिकांश चाडपर्वसँग धार्मिक मान्यताहरू जोडिएका रहेका पाइन्छन् । दशैँ, तिहार, छठ, बुद्धपूर्णिमा लगायतका पर्वहरूसँग आ–आफ्नै धर्मका मान्यताहरू जोडिएका हुन्छन् । दशैँमा मातृशक्ति भगवतीको आराधना गर्ने सन्दर्भ जोडिएको छ । यसैगरी यमपञ्चक भनिने तिहारमा मृत्युदेव यमराज, चतुर्मासमा भगवान विष्णु, शिवरात्रिमा भगवान शिव, बुद्धपूर्णिमामा गौतम बुद्धलगायतको पूजा आराधना वा ती देवताहरूको गुणस्मरण गर्ने परम्परा छ ।
घरैमा पूजा आराधना ध्यान आदि गरेर होस् या विभिन्न तीर्थस्थल, शक्तिपीठलगायतको यात्रा, दर्शन गरेर होस् चाडपर्वहरूले धार्मिकतातिर मात्र नभई आध्यात्मिकताको बाटोतर्फ समेत उन्मुख गराउँछन् । सांस्कृतिक महत्व चाडपर्वमा आउने विभिन्न सन्दर्भहरू अर्को समुदायका वा विश्वकै लागि अनौठो र आकर्षणको केन्द्र बन्ने गर्दछन् । दशैँमा लगाइने टीका जमरा वा खेलिने पिङको संस्कृति हुन् । अनि तिहारमा लगाइने सप्तरंगी टीका र कहिल्यै नओइलाउने मखमली फूलको माला यी संस्कृति विदेशीहरूका लागि आकर्षणको विषय बन्ने गरेका छन् । हाम्रा कतिपय चाडपर्व र संस्कृतिहरू विश्व समुदायका लागि आकर्षणको विषय बन्ने गरेका छन् ।
स्वास्थको दृष्किोणबाट चाडपर्वलाई मानव स्वास्थ्य र वातावरणका दृष्टिले पनि हेर्न सकिन्छ । चाडपर्वका बेला घरकोठा र शरीरको पनि शुद्धि गर्ने चलन छ । यो पक्ष धर्मसँग पनि जोडिएको छ । दशैँ अगाडि घर पोत्ने वा सरसफाई गर्ने, फोहोर ठाउँमा लक्ष्मीको बास हुन्न भन्ने मान्यताअनुरूप सरसरफाई गर्ने परम्परामा धार्मिक भावनासँगै स्वास्थप्रति सचेत भएको मान्न सकिन्छ । कुन चाडपर्वका बेला के खाए स्वास्थ्य रक्षा हुन्छ भन्ने आधुनिक विज्ञानको प्रादूर्भाव हुनुभन्दा धेरै अगाडि पत्ता लागिसकेको थियो । प्रकृतिसँगको निकटता प्रकृति वा यस वातावरणमा पाइने जीवजन्तुमैत्री बनाउन पनि चाडपर्वहरूले ठूलो भूमिका खेलेका छन् ।
खानपिन सामान्य गरौं
डा. सर्वेश शर्मा
जनरल फिजिसियन
चाडपर्व भन्ने बित्तिकै खानपान अरू दिनभन्दा फरक हुने गर्छ । नजिकिएको दशैँ, तिहारलगायतका चाडपर्व त खानपानको चाडका रूपमा लिने गरिन्छ । यद्यपि दशैँ मनाउँदा असन्तुलित खानपानले स्वास्थ्यमा नोक्सानी पुग्ने गर्दछ । चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा अस्पतालसम्म पुग्नु परेका धेरै घटना छन् ।
दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुने गर्दछ । अस्वभाविक खानपानले मानिसको मृगौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखापर्ने गर्दछ । खसी, बोका, राँगा र बङ्गुुरको मासु रातो हुनाले मानिसको स्वास्थ्यमा असर गर्ने गर्छ । त्यसैले सकभर त्यस्तो मासुमा बजारको मसला हालेर खानु हुँदैन ।
दशैँमा एक दिन खसी काटेर १० दिनसम्म खाने चलन छ । यसरी धेरै दिनसम्म मासु राखेर खानु स्वास्थ्यका लागि राम्रो हँुदैन । चाडपर्वमा शारीरिक व्यायाम नगर्नाले पनि कोलेस्ट्रोल तथा चिल्लो बढ्ने र मुटुमा असर गर्ने गर्छ । रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ, यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । रक्सीले सबैभन्दा बढी असर दिमागमा र त्यसपछि क्रमशः मुटु र कलेजोमा पार्छ । चाडपर्वका अवसरमा मदिराजन्य पदार्थ बढी सेवन गरिने हुनाले मुटुको धड्कनमा गडबडी उत्पन्न भई मुटुले काम नै नगर्न सक्छ । गर्भवती महिलाले रक्सी पिएको खण्डमा विकृत मुटु भएको बच्चा जन्मन सक्नेतर्फ पनि सचेत हुनुपर्छ ।
खानपानमा ध्यान नदिने तथा जीवनशैलीमा आएको परिवर्तनले गर्दा सामान्य व्यक्ति पनि रोगी बन्ने र रोगी व्यक्तिका शारीरिक अङ्गसमेत काम नलाग्ने हुनसक्ने हुनाले सन्तुलित खाना मात्र खानुपर्छ । चाडपर्वका नाममा खानपानमा ध्यान नदिँदा मानिसले स्वास्थ्यलगायत सामाजिक रूपमा समेत ठूलो क्षति व्यहोर्नु परेको छ । मानिसले दशैँको खानामा ध्यान नपु¥याउँदा जटिल रोगको सिकार हुनुपर्ने अवस्था आउन सक्छ । चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु र धेरै समयसम्म राखिएका खानेकुराले विभिन्न रोगको सिकार हुनुपर्छ । मदिरा सेवन गर्न नहुने व्यक्तिले पनि दशैँमा खाने गर्छन् । यसका कारण मानिसको स्वास्थ्यमा समस्या आउने गर्छ ।
दशैँमा अत्यधिक मदिरा पिउनाले शरीरमा ग्लुकोज कमी हुने, डिहाइड्रेसन हुने, मानिस उठ्नै नसक्ने अवस्थामा पुग्ने, शरीरले काम नगर्ने लगायतका समस्या देखापर्ने गर्छ । अझ विषेशगरी ग्यास्ट्रिक, अल्सर भएका व्यक्तिले मदिरा, मासु खानुभन्दा अगाडि विचार पु¥याउनुपर्छ । असन्तुलित खानाले शरीरलाई बेफाइदा गर्छ । मासु र मदिराभन्दा काँक्रो, मुला, गाँजरजस्ता खाना खान खाने र दैनिक एक घण्टा पैदल हिँड्ने र शारीरिक व्यायाम गर्नुपर्छ ।
दशैँ ठूलो चाड भएका कारण धेरै आफन्त जम्मा हुने र विभिन्न प्रकारका असन्तुलित खानपान हुन्छ । अनि त्यसले स्वास्थ्यमा गम्भीर असर गर्दछ । तसर्थ, हामीले हाम्रो स्वास्थ्यको ख्याल गर्नुपर्छ किनकि स्वास्थ निरोगी जीवनशैलीले मानिसको आयु अधिक मात्रामा हुने गर्दछ भने स्वस्थ्य खानाले हामीलाई रोगी बिरामीपन पनि हुँदैन । त्यसैले हामीले मनाउने विभिन्न चाडपर्वहरूमा विभिन्न परिकार चिल्लो पदार्थ कम मात्रामा खाने र सम्पूर्ण परिकारहरू मिलाएर मात्रामा खाने गरौँ ।
मेलमिलाप र सद्भावको पर्व
डा.नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
नेपालीको महान पर्व बडादशैँ भित्रिसकेको छ भने दशैँ लगत्तै तिहार पनि आउँछ । दशैँ र तिहार पर्व नजिकिदै गर्दा उल्लास छाएको छ । त्यसैमा पनि बडादशैँ नेपालीहरूको महान चाड हो । दशैँ नेपालको वार्षिक क्यालेन्डरमा सबभन्दा लामो र सबैभन्दा धेरै शुभ पर्व हो । जुन देशभरिका सबै जाति र हिन्दु धर्मका नेपालीहरूले मनाउँछन् । राष्ट्रिय चाड दशैँ हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन बिहान दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीका प्रसाद ग्रहण गरेर विशेषरूपमा पूर्णिमासम्म मनाउने गरेका छन् ।
आश्विन शुक्ल प्रतिपदा घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टिका र जमरा लगाउने चलन छ । दशैँ भन्ने हाम्रो मन भित्रमा के कुरा उत्पन्न हुन्छ भने सबैभन्दा ठूलो दिन भन्ने हुन्छ । त्यसैले त यसलाई बडादशैँ भनिन्छ । बडा दशैँ भनेको हिन्दू नेपालीहरूको एक विशेष चाड हो ।
दशैँको समयमा हामी नयाँ लुगाहरू किन्ने र घरका अन्य समानहरू पनि किन्ने गरिन्छ । आफन्तजनहरूसँग भेटघाट गर्ने र सँगै बसेर खाएर रमाइलो गर्ने गरिन्छ । बडादशैँमा आफ्नो देशभन्दा बाहिर रहेका मानिसहरू पनि दशैँको लागि बिदा लिएर मनाउनको लागि आउने गरिन्छ । यो चाडमा आ–आफ्नो इच्छानुसार खसी, कुखुरा, बंगुर र भैंसीको मासु खाने गरिन्छ । यो चाडमा आफन्तजनहरू सबै भेला भएर मनाउने गरिन्छ । दशैँ आश्विन शुक्लपक्ष प्रतिपदा घटस्थापनादेखि सुरू भएर कोजगात पूर्णिमासम्म १५ दिनलाई विजयादशमी अथवा दशैँ भनिन्छ ।
यो चाडमा आफ्ना नाता कुटुम्ब, ठूलाबडा, मान्यजनहरूबाट टिका तथा जमरा लगाई आशीर्वाद ग्रहण गरिन्छ । मिठो खाने खुवाउने, राम्रो लाउने, घरआँगन, बाटोघाटो, गाउँ टोल सफा सुग्गर राख्ने जस्ता कार्य यही दशैँमा गरिन्छ । बर्खाभरीको हिलाम्मे शरीर यसबेला सुकिलो हुँदै घरभरी अनाज हुँदा उसको खुसीको सीमा नै हुँदैन् । यसै खुसीको अवसरमा नै भगवानको कृपा मानी देवीदेवताको पूजा गरी दशैँलाई अरू विशेषरूपमा मनाइन्छ । विभिन्न किसिमका रमाइलो गर्ने पिङ खेल्ने साथीसँगी आफन्तहरूसँग भेटघाट गर्ने हुँदा एक आफन्तमा भाइचाराको सम्बन्ध बढ्दै जाने गर्दछ ।