- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsआधुनिकताले हराउँदै मौलिक बाजा, बिक्न छाडे जुठे दाइका ‘मादल’

आधुनिकताले हराउँदै मौलिक बाजा, बिक्न छाडे जुठे दाइका ‘मादल’

- Advertisement -spot_img

हेमराज परिवर्तन
घोराही, २८ भदौ ।
नेपालीहरूका चाडपर्वहरू नजिकिदै गर्दा मौलिक बाजा मादल बनाउनेहरूलाई भ्याइनभ्याइ हुन्थ्यो । नयाँ मादल किन्न र पुरानो मादल बनाउन आउनेको भीडले पालो पाउन कुनै समय मुस्किल हुने गर्दथ्यो । किन्नेहरूको भीडभाड हुने गर्दथ्यो । दशैँ, तिहार नजिकिनै लाग्दासमेत यसवर्ष मादल बनाउनेहरू फुर्सदिला देखिन्छन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिंगौरामा मादल व्यवसाय गर्दै आएका ६४ वर्षिय जुठे नेपालीको मादल पसल सुनसान छ । प्रविधिको विकाससँगै विभिन्न विद्युतीय संगीतका वाद्यवादन सामग्री आउने थालेपछि आफू फुर्सदिलो बन्दै गएको बताए । उनले व्यवसाय पनि धरासायी बनेको गुनासो गरे ।

कुनै समय तिजको समायमा मात्रै ९० वटासम्म मादल बेचेका उनी यसवर्ष मुस्किलले १०/१२ वटा मात्र बेच्नसके । ‘मादल बेचेकै पैसाले परिवारको खर्च र बचत पनि हुन्थ्यो । परिवार राम्रो चलेको थियो । तर अहिले त परिवारकै खर्च जुटाउन गाह्रो पर्न थालिसकेको छ ।’

तीज र तिहारमा धेरै मादल खपत हुने भए पनि यसवर्ष भने बनाउन र किन्नेहरू कोही नआएको आएको उनी बताउँछन् । वर्षिय जुठे नेपाली भन्छन्, ‘सबैभन्दा बढी व्यापार हुने समय तीज, दशैँ र तिहारमा हुने गरेपनि यसवर्ष पनि खासै कारोवार नहुने देखिएको छ । यस समयमा अघिल्ला वर्षहरूमा राम्रो आम्दानी हुने भएपनि हालभने साउन महिनाभर जम्मा १०÷१५ हजार आम्दानी भएको उनको भनाइ छ ।

नेपालीले एकजना काम गर्ने मान्छेलाई २१ हजार मासिक तलब दिएर मादल मर्मतका लागि सहयोगी राख्ने गरेको भएपनि कामदारलाई समेत दिने पैसा नभएको बताए । यो समयमा सबैभन्दा बढी मादल बिक्री हुन्थे, गतवर्षदेखि बनाएका मादल थन्किएको नेपालीले बताए ।

सिजनमा कमाएको रकमले घर चल्थ्यो, यस वर्ष त तीजलार्ई लक्षित गरी तयार गरिएका मादल थन्किएको हुँदा आफ्नो पुख्र्यौली पेशा आर्थिक रूपमै संकटमा परेको नेपालीले बताए । जिल्लामा अहिले पनि १५/२० जना व्यक्तिहरूले बादल बनाउने पेशा अंगालेको भएपनि उनीहरू सबै समस्यामा परेको उनको भनाइ छ ।

हालसम्म जसोतसो साँझ बिहान छाक टार्ने काम गरेपनि पर्याप्त रूपमा आयआर्जन हुने नसकेको नेपालीले बताए । यसवर्षको तीज पर्वमा अघिल्ला वर्षहरूमा धेरै नयाँ मादल बिक्री हुने गरेको भएपनि यसवर्ष भने नयाँ किन्नेभन्दा पनि पुराना भएका बादललाई मर्मत गर्न आउने व्यक्तिहरूको संख्या धेरै हुने गरेको उनले बताए ।

‘हरेक वर्ष तीज र तिहारमा धेरै मादल खपत हुन्थ्यो’ उनले भने, तर यसवर्ष केही पुरानो मादल कोही बनाउन आए भने नयाँ मादल किन्न भनेर आएनन् । यसले गर्दा हाम्रो पुख्र्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोड्न थालिसके ।’

बजारमा मादलको माग घट्दै जाँदा पनि मादल बनाउन छोडेको सोही ठाउँका गोपाल बादीले बताए । अहिले बजारमा आधुनिक उपकरण प्रयोग गरी गीत बजाउने, सुन्ने र नाच्ने चलन भित्रिएसँगै मादलको माग घट्न थालेको उनको भनाइ छ । ‘अहिले नाच्न गाउन, पेनड्राइभ जस्ता आधुनिक उपकरण प्रयोग हुन्छ’, उनले भने, ‘यसले गर्दा मादल नाचगानका लागि कमै प्रयोग हुने, माग पनि नहुने भएकाले पेशा सङ्कटमा छ ।’

भजनकीर्तन तथा विभिन्न साङ्गीतिक कार्यक्रममा नभई नहुने मादल बजारमा पाइने अन्य मादलभन्दा स्थानीयस्तरमा तयार पारेका मादल बलियो हुने सल्यान श्रीनगरका रमेश बादीको भनाइ छ । मानिसहरू आधुनिक बाजामा रमाउन थालेसँगै बादी समुदायको मादल बनाउने पेशा संकटमा पर्न थालेको बादी समुदायका नागरिकहरूको बुझाइ छ ।

पुख्र्यौली पेशा संरक्षण गर्नुपर्ने भएपनि आधुनिक बाजाले परम्परागत बाजालाई विस्थापन गर्ने देखिएको छ । यसको संरक्षणमा स्थानीय सरकारले सघाउन आवश्यक छ ।

उत्सव, समारोह, विवाहलगायतमा मौलिक बाजाको सट्टामा आधुनिक प्रविधिका बाजा प्रयोग हुन थालेपछि मौलिक बाजाहरू ओझेलमा परेका छन् । साविकको राप्ती अञ्चलमा बजाइने, मादल, सारङ्गी, दमाह, सहनाईजस्ता मौलिक बाजाहरू कमै प्रयोग हुन थालेका छन् । ‘पहिले त थुप्रै उत्सवमा बाजाहरू बजाउथियौं’, घोराही–१२ हापुरका विनोद नेपालीले भने, ‘तर अहिले डेक तथा डिजेका कारण कसैले पनि बाजा बजाउने भन्दैनन्’, ।

विगत १५ वर्षदेखि वाद्यवादन बजाउदै आएका लोकदोहोरी प्रतिष्ठान नेपालका अध्यक्ष राजेन्द्र दाहालले वाद्यवादकको सीपको कदर नभएका कारण वाद्यवादक पलायन हुन परेको र मौलिक बाजाहरू पनि हराउँदै गएको बताए । वाद्यवादकहरूको सीपको कदर भयो भने मौलिक बाजाहरूको पनि संरक्षण हुन्छ उनले भने ।

त्यस्तै संगीतकार तथा वाद्यवादक दिपेन्द्र खत्रीले पछिल्लो समयमा विद्युतीय संगीतका कारण मौलिक बाजाहरू ओझेलमा पर्दै गएको बताए । कुनै पनि गीतमा संगीत भर्दा विद्युतीय बाजाभन्दा हाम्रा मौलिक बाजाहरूको प्रत्यक्ष संगीत भर्दा निकै राम्रो हुन्छ’ उनले भने । सबै मिलेर मध्यपश्चिम क्षेत्रका गहनाका रूपमा रहेका मौलिक बाजाहरूको संरक्षण गर्नुपर्ने खत्रीको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here