दाङ, २१ भदौ ।
नेपालले घरेलु टोली केन्याविरूद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३–०ले जितेको हो । यससँगै नेपालले केन्याविरूद्धको दुबै सिरिज आफ्नो बनाएको छ । नेपालले यस अघि पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जीतमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाए । वसिर ५२ रनमा अविजित रहे ।
यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए । केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १र१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले । सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए । कप्तान शेम एनगोचे १७ रनमा आउट भए । नेपालका सोमपाल कामी र आदील अन्सारीले २/२ विकेट लिए । वसिर अहमद र शाहब आलमले १/१ विकेट लिए ।
सिरिजअन्तर्गतकै पहिलो एक दिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एक दिवसीयमा १७ रनले विजयी भएको थियो ।