हिमाल शर्मा
सल्यान, १६ भदौ ।
सल्यानमा विभिन्न उद्देश्यले स्थापना भएका उद्योग र व्यवसायहरू पछिल्लो समय धमाधम बन्द हुन थालेको छ । विगतमा दर्ता भएका सञ्चालन भएका उद्योगधन्दाहरू, व्यवसाय बन्द गर्नेको संख्या बढेको तथ्यांक देखिएको छ ।
उद्योग व्यवसाय चल्न नसकेपछि, व्यवसायीहरूले दर्ता गरेका उद्योगको लगत कट्टा गर्न थालेका छन् । एक करोड लगानीमा सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा २०७० सालमा सञ्चालनमा आएको साबुन उद्योग विगत दुई वर्षदेखि बन्द छ ।
विश्वभर फैलिएको कोरोना महामारीका कारण बन्द भएको उद्योग अझै सञ्चालनमा आउन सकेको छैन । उद्योग सञ्चालन गर्दा लिएको ऋण तिर्न नसक्ने भएपछि विदेश जाने योजनामा रहेको साबुन उद्योग सञ्चालक प्रकाश बुढाथोकीले बताए ।
उनले भने ‘उद्योग सञ्चालन गरेको केही महिनापछि नै कोरोनाका कारण लकडाउन भयो । सुरूका केही दिन राम्रै चलेपछि कोरोनापछि बन्द भएको उद्योग अहिलेसम्म सञ्चालन गर्न सकिएको छैन ।’
उद्योग सञ्चालनका लागि लगेको ऋण अब उद्योग सञ्चालन गरेर पनि तिर्न सक्ने अवस्था नभएपछि विदेश पलायन हुने सोचमा रहेको बुढाथोकीको भनाइ छ । २०७४ मा नुवाकोटका सुमन तामाङले २० लाख लगानीमा श्रीनगरमा सञ्चालन गरेको कपास उद्योग अहिले बन्द जस्तै छ ।
लगानी गरेअनुसारको प्रतिफल हात नपरेपछि उनी निरास छन् । व्यवसायनै छोड्ने अवस्था रहेको उनको भनाइ छ । उनले भने ‘एक÷दुई रूपैयाँ आम्दानी होला भनेर लगानी गरियो तर सोंचेभन्दा कम आम्दानी भएपछि समस्या भयो ।
स्थानीय सरकारले स्थानीय उद्योगले उत्पादन गरेको वस्तुको बजारीकरणमा ध्यान दिनुप¥यो, सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकीले बताए । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानमा हालसम्म ३ हजार २ सय उद्योग दर्ता भएका छन् । तर विगत पाँच वर्षको अवधिमा २ सय ६७ उद्योग बन्द भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख नृपजंग शाहीले बताए ।
उद्योगहरू धमाधम बन्द हुँदा तालिम प्राप्त जनशक्ति बेरोजगार बन्न थालेको उनले बताए । कार्यालय गतवर्ष ५ सय ७७ जनालाई सीपमूलक तालिम प्रदान गरेको मध्ये मुस्किलले ४० प्रतिशतले मात्र रोजगारी भएको शाहीको भनाइ छ ।