एकराज भण्डारी
तुलसीपुर, ११ भदौ ।
प्रकृति राम्जाली तेक्वान्दोको खेलाडी हुन् । विगत तीन वर्षदेखि तेक्वान्दो खेल्दै आएकी उनलाई तेक्वान्दोको जिल्ला कार्यालय स्थापनाले निकै हर्षित बनाएको छ । ‘जिल्लाका तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा तेक्वान्दो सम्बद्धहरूले एउटा केन्द्रविन्दु पाएका छौ’ उनले भनिन्, तेक्वान्दोको विषयमा उत्पन्न हुने जिज्ञासा र गुनासोहरू अब कार्यालयमार्फत प्रत्यक्षरूपमा नेतृत्व तहसम्म राख्न पाउने भएका छौँ ।’
दाङ जिल्ला तेक्वान्दोका सहायक प्रशिक्षक राकेश नेपालीले तेक्वान्दोको विषयमा छलफल वा कुनै कुरा राख्नुपर्दा व्यक्ति खोज्नुपर्ने अवस्था अन्त्य भएको बताए । ‘कार्यालय स्थापना भयो । ‘अब हामीलाई तेक्वान्दोको विषयमा उठेका हरेक जिज्ञासा, गुनासो तथा सुझावहरू कार्यालयमै पुगेर राख्न पाउने अवस्था बनेको छ’, उनले भने, ‘अत्यन्तै खुशी छौँ ।’ दाङ जिल्ला तेक्वान्दो संघले यस पटक आशालाग्दो नेतृत्व पाएको छ । यो टिमले दाङमा तेक्वान्दो खेल विकासको पक्षमा केही गर्व गर्न लायक काम गर्न सक्छ भन्नेमा म विश्वस्त छु ।
दाङमा वि.सं. २०४४ सालदेखि तेक्वान्दो खेलको प्रशिक्षण सुरू भएको थियो भने दाङ जिल्ला तेक्वान्दो संघको २०५७ सालमा स्थापना भएको हो । हालसम्म संघले कार्यालय स्थापना गर्न सकेको थिएन । हामी केही गर्छौं भन्ने उर्जाका साथ आएका हौँ, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारीले भने, त्यसमध्येको एउटा काम कार्यालय स्थापना हो ।
‘हरेक काम कारबाही सहज गर्नका लागि पहिलो काम भनेको कार्यालय स्थापना गर्नुथियो, ग¥यौं, उनले भने, ‘अब जिल्लामा सञ्चालित डोजाङहरूको बृद्धि विकास, गतिविधिहरूको अनुगमन तथा समन्वय र सहकार्यमा सहज बनाउँछौ ।’ जिल्लामा तेक्वान्दोको विकासका निम्ति गर्नुपर्ने अझ थुप्रै काम भएका उनको भनाई छ ।
यद्यपि संघ स्थापना भएको २२ वर्षपछि कार्यालय स्थापना गरेका छौं अध्यक्ष अधिकारी भन्छन्, ‘यसले तेक्वान्दो सम्बद्धहरूमा खुसी थपेको छ ।’ हाल जिल्लामा ४० वटा डोजाङ छन् । जहाँ झण्डै तीन हजार प्रशिक्षार्थीहरूले प्रशिक्षण लिइरहेको अधिकारीले बताए ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी दाङ जिल्ला तेक्वान्दो संघको जिल्ला कार्यालय स्थापना गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापना अवसरमा बोल्ने वक्ताहरूले संघले केन्द्रविन्दु पाएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले कार्यालय स्थापन हुँदा देखिएको उर्जा र खुसीको निरन्तर आउनुपर्ने बताएका थिए ।