दाङ, ९ भदौ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि दाङ जिल्लास्तरीय खेलाडी छनोट यही भदौ १७ गतेदेखि सुरू हुने भएको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खेल सम्बद्ध संघको समन्वयमा सञ्चालन हुने छनोट प्रतियोगिताको औपचारिक उद्घाटन बिहान ११ बजे बेलझुण्डी रंगशालामा गर्ने कार्यक्रम तय भएको छ ।
दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको अध्यक्षतामा सोमबार बसेको पूर्ण बैठकले जिल्लाबाट प्रतिनिधित्व गर्ने २९ खेलको छनोट तालिका, खेल स्थल र जिम्मेवारी बाँडफाँडसहित भदौ १७ देखि १९ गतेसम्म जिल्ला छनोट सम्पन्न गर्ने निर्णय गरेको समितिका कार्यालय प्रमुख शान्ति सोमैले जानकारी दिइन् ।
बैठकले अध्यक्ष हमाल संयोजक रहेको २५ सदस्यीय प्रतियोगिता सञ्चालन मूल समिति तथा चार सदस्यीय अनुगमन समिति र मुल समितिको मातहतमा रहने गरी विभिन्न खेलका उपसमिति संयोजकसमेत तोकेको छ ।
जस अनुसार तेक्वान्दो, कराँते, बक्सिङ, टेबल टेनिस, शारीरिक सुगठन खेलको संयोजकमा समितिका कोषाध्यक्ष ध्रुव आचार्य, बुद्धिचाल, रग्बी, भलिबल र एथलेटिक्स खेलको संयोजकमा उपाध्यक्ष पाल्पी चौधरी, कबड्डी, ह्याण्डबल र बास्केटबल संयोजकमा सदस्य सन्तोष लामिछाने, उसु, साईकिलिङ र सुटिङ संयोजकमा सुटिङ प्रशिक्षक तथा कार्यालय प्रमुख शान्ति सोमै रहेका छन् ।
त्यस्तै भारोत्तोलन र जुडो खेलको संयोजकमा सदस्य सन्तोष वली, फुटबल खेल संयोजकमा सदस्य अनिल रिजाल, फुलकन्ट्याक कराँते संयोजक सदस्य नोखी रावत, सफ्ट टेनिस र आईटिएफ तेक्वान्दो संयोजकमा सदस्य रबि श्रेष्ठलगायत रहेका छन् । छनोट प्रतियोगिता जिल्लाका तुलसीपुर, घोराही, लमही र बेलझुण्डीमा हुनेछ ।
सो अवसरमा जिल्ला शिक्षा समन्वय समिति दाङका प्रमुख मित्र गौतम, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्ल, दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष गीता बस्नेत राई, क्रिकेटका लुम्बिनी र कर्णाली प्रदेश छनोट समितिका संयोजक कैलाश रोका, दाङ जिल्ला टेबल टेनिस संघका अध्यक्ष सीता राम शर्मा, दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धिताल, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारी, एथलेटिक्स मुख्य प्रशिक्षक पद्मा चौधरी, दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत, दाङ जिल्ला क्रिकेट संघका सचिव सञ्जु क्षेत्री, बास्केटबलका बिपिन केसी, कराँते प्रशिक्षक बलराज नेपाली, दाङ जिल्ला सुटिङ संघका अध्यक्ष केशव चौधरीलगायतले आ– आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियारले गरेका थिए ।