जीतसागर जी.एम.
तुलसीपुर, २६ साउन ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सेवा सुधारमा सरोकारवालाले चासो दिएका छन् । अस्पतालले बुधबार तुलसीपुरमा आयोजना गरेको अन्तरक्रियामा सहभागी जनप्रतिनिधि, राजनैतिक दल, अस्पतालका जग्गादाता, व्यवसायी, पत्रकार लगायतका सरोकारवालाले जनशक्ति व्यवस्थापनदेखि सरसरसफाई व्यापकरूपमा सुधार गर्नुपर्नेमा आवश्यक रहेको औल्याएका छन् ।
राप्ती अञ्चलकै बिरामीका लागि उपचार गर्ने थलोको रूपमा रहेको अस्पतालको गुणस्तरीयतामा सधैँ प्रश्न खडा हुने गरेकोमा सरोकारवालले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले अस्पतालको सेवालाई प्रभावकारी बनाउन साना–साना समस्यालाई पनि सुधार गर्नुपर्ने बताए । अस्पतालका जग्गादाता रमा धितालले अस्पतालमा ज्येष्ठ नागरिकले सहजै सेवा पाउन नसकेको गुनासो गरिन् ।
‘प्रादेशिक अस्पतालप्रति मेरो पनि माया छ, तर अस्पतालमा भनेजस्तो सेवा पाउन नसक्दा निजी अस्पतालबाट उपचार गराउन बाध्य छु’ उनले भनिन्– ‘अस्पतालले ज्येष्ठ नागरिक र बालबालिकाका लागि छुट्टै व्यवस्था गर्नुपर्छ ।’ जग्गादाता गुरूप्रसाद लम्सालले शौचालयको अवस्थाले अस्पतालको अवस्था प्रष्टरूपमा देखिएको बताए ।
‘शौचालय न सफा छ, न त शौच गर्न बस्दा लगाउने चुक्कुल’ उनले भने– ‘प्रदेशस्तरको अस्पतालमा शौचालय नै व्यवस्थित बन्न नसक्नु दुखद् हो ।’
उनले उपचार सेवा प्रभावकारी पाउन नसक्दा सर्वसाधारण नागरिकले निजीमा महंगो शुल्कमा उपचार गर्नुपर्ने बाध्यता रहेको बताए । अधिकांश सरोकारवालाले अस्पतालको शौचालयदेखि अस्पताल परिसरमा देखिएको फोहोर तत्काल सरसफाई गर्न सुझाव दिएका छन् । प्रादेशिक अस्पतालको व्यवस्थापन पक्ष फितलो हुँदा शौचालयको अवस्था दयनीय बनेको गुनासो छ ।
तुलसीपुर–६ उत्तर कपडादेवीका जग्गादाता डिल्लीराज लम्सालले डाक्टरको दरबन्दी अभावमा बिरामीले सधैं सास्ती पाउनुपर्ने अवस्था कहिलेसम्म अन्य सरोकारावालाई प्रश्न गरे । ‘जहिले पनि डाक्टर छैनन्, उपचार गर्न बाहिर जानुस् भन्ने प्रचलन छ’ उनले भने– ‘अब सधैँ यहि अवस्थामा हुने कि, केही परिवर्तन पनि गर्ने ?’
नेपाली काँग्रेसका नेता जगत खड्का राजनीतिक दलकै खिचातानीले अस्पतालको सोचे अनुरूपको गतिमा सुधार हुन नसकेको बताए । ‘अस्पतालको विकास गर्न राजनैतिक नेतृत्व नै एकजुट छैन् ।’ उनले भने– ‘हामी राजनैतिक नेतृत्व नसुध्रिदासम्म अस्पतालको विकास पनि सोचेजस्तो विकास हुन सक्दैन् ।’
नेकपा माओवादी केन्द्रका नेता प्रेमराज वलीले अस्पताल सबैको साझा सम्पति भएकाले सेवालाई प्रभावकारी बनाउनु नै प्रमुख आवश्यकता रहेको बताए ।
‘आर्थिक स्थिति कमजोर हुनेहरूका लागि उपचार गर्ने थलो सरकारी अस्पताल हो’ उनले भने–‘यसको सुधारमा राजनैतिक नेतृत्वको मुख्य हात छ । अस्पतालका दोर्ण वलीले अस्पतालले २ सय बेडको अनुमति पाएपछि ५० बेडकै जनशक्ति रहेको बताए ।
‘पहिला हलि ल्याउँ, त्यसपछि हलो दिउँ, हलिबिनै हलोमात्रैको के काम छर अर्थात् पहिले सामान दिने तर जनशक्ति नदिने प्रवृत्तिले हामीले गालीमात्रै खाएका छौँ’ उनले भने– ‘अहिले पनि डायलायसिस मेसिन आएको छ, तर जनशक्ति खै त ? अब फेरि एक÷दुई दिनमै डायलाइसिस मेसिन प्रयोगविहीन भनेर समाचार आउँछ ।’
तुलसीपुर उपमहानगर–पालिकाका महासचिव बिनिल केसी पुर्वाधार अनुसार जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । पत्रकार सुशील बस्नेतले सरोकारवालाको सुझावलाई एक÷एक गरी लागू गर्नसके अस्पतालको सेवा सहज हुने बताए ।
गणेश आचार्यले प्रादेशिक अस्पतालबाट प्राप्त सेवा सुविधा नागरिकले जानकारी नपाउँदा धेरै बिरामी निजी अस्पतालमा गएको बताए । उनले अस्पतालले अतिक्रमित जग्गा फिर्ता गर्नुपर्ने बताए ।
अस्पतालका संस्थापक अध्यक्ष महादेव शाहले राप्ती प्रादेशिक अस्पताल बनाउन आफूहरूले महत्वपूर्ण भूमिका खेलेको बताए । अस्पताललाई सेवा सुधार गर्न सबैको सल्लाह, सुझाव आवश्यक रहेको बताए ।
तुलसीपुर–५ का मोहनमान श्रेष्ठले अतिक्रमित जग्गा खाली गराएर अस्पतालले आफ्नो सम्पति संरक्षण गर्नुपर्ने बताए । अर्का जग्गादाता कृष्णप्रसाद शर्मा जग्गादातालाई कहिले पनि नखोजिएको गुनासो गरे ।
त्यस अवसरमा व्यवसायी बिमल रिजाल, रूप बहादुर खत्री, मिनराज भण्डारी, तुलसीपुर चेम्बर अफ कमर्शका महासचिव प्रेमप्रकाश गिरी, अस्पतालका पूर्वअध्यक्ष रूद्रप्रसाद शर्मा, पूर्वअध्यक्ष ध्रुव आचार्यले सेवा सुधारमा सबै जिम्मेवार बन्नुपर्ने बताए ।
तुलसीपुर उपमहानगरका उपप्रमुख स्यानी चौधरीले अस्पतालले सेवा सुधार गर्न ढिलाइ गर्न नहुने बताइन् । उनले जनशक्ति व्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताइन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।