तुलसीपुर, ११ साउन ।
तुलसीपुर उपमहानगरपालिकाले विषयगत अनुगमनलाई तिव्रता दिएको छ । उपमहानगरपालिकाको नगर उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा गठित अनुगमन समितिले विषयगत अनुगमनलाई तिव्रता दिएको छ ।
पहिलो चरणमा होटेल, नास्ता पसल, विद्यालयका क्यान्टिनको अनुगमन थालिएको छ । केही दिनअघि तुलसीपुरमा रहेका ‘क’ वर्गका होटलहरूको भान्सा अनुगमन गरेको टोलीले दोस्रो चरणमा सबै होटलको भान्सा अनुगमन गर्न थालेको हो ।
मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाना र त्यो उत्पादन हुने भान्साको अवस्था बुझ्न अनुगमन गरिएको उपप्रमुख स्यानी चौधरीले बताइन् । ‘हामीले दैनिक रूपमा प्रयोग गर्ने होटल र नास्ता पसललाई अनुगमन गर्दा भान्सा सन्तोषजनक भेटिएन’ उनले भनिन्, ‘सुधारको मौकासहित निर्देशन गरेका छौँ ।’
भान्सामा ध्यान नदिने तर बाहिरी वातावरण राम्रो बनाउनतर्फ ध्यान दिने गरेको होटलहरूमा पाइएको उनले बताइन् । विद्यालयका क्यान्टिनहरूमा पनि सुधारको आवश्यकता देखिएको र अनुगमन गरिएका विद्यालयले क्यान्टिनलाई सरसफाईमा र स्वास्थ्य सतर्कतामा ध्यान दिन निर्देशन दिइएको चौधरीले बताइन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका खाद्य निरिक्षक सिनरज कार्कीले होटलका भान्सा पूर्णरूपमा सुधार गरिनुपर्ने अवस्थाको रहेको बताए । भान्सामा प्रयोग हुने आधारभूत सतर्कताका मापदण्डसमेत प्रयोग नभएको पाइएको बताए । स्वास्थ्यका लागि भान्सा सफल सुन्दर र सुरक्षित हुनुपर्ने भएपनि धेरैको यसमा अटेरी भएको बताए ।
उपमहानगरको उपभोत्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले नगरमा छुट्टै संयन्त्र निर्माण गरेर बजार अनुगमनलाई तिव्रता दिइएको बताइन् । उनले जतिबेला जुन क्षेत्रको पनि अनुगमन गर्नेगरी समिति बनेको र त्यसैले बजारको सबै क्षेत्रको अनुगमन गर्ने बताइन् । अनुगमनमा स्थानीय प्रशासन, उद्योग बाणिज्य संघका प्रतिनिधि पत्रकारहरूको सहभागिता रहेको थियो ।