दाङ, २७ असार ।
दाङको बेल्झुण्डीमा सञ्चालित १२औं संघीय तथा प्रथम लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधि बाँके जिल्लाले जितेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालित प्रतियोगितामा १९ स्वर्ण, ७ रजत र १० कास्य पदक जित्दै बाँकेले उपाधि जितेको हो ।
त्यस्तै बर्दिया जिल्ला ९ स्वर्ण, ९ रजत र १२ कास्य पदकका साथ द्वितीय हुँदा दाङ ६ स्वर्ण, ११ रजत र १३ कास्य पदक हात पार्दै तृतीय भयो भने कपिलवस्तु जिल्ला ६ स्वर्ण, ४ रजत र २ कास्य पदकका साथ सान्त्वना भयो । यसैबीच प्रतियोगिताअन्तर्गत कराँते छात्रमा गुल्मी जिल्लाका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै एथलेटिक्समा छात्रमा बाँकेका युवराज विक र छात्रामा दाङकी निशा चौधरी उत्कृष्ट खेलाडी भए । त्यस्तै उसुतर्फ छात्रमा बाँकेका सुदिप रोका मगर र छात्रामा बर्दियाकी लिन्दा दहित उत्कृष्ट भए । त्यस्तै भलिबल छात्रमा रूपन्देहीका बादल राना र छात्रातर्फ रूपन्देहीकै सपना डाँगी उत्कृष्ट खेलाडी भए ।
प्रतियोगितामा ब्यक्तिगत विधाअन्तर्गत एथलेटिक्स, उसु, कराँतेमा प्रथम स्थान हात पारेका खेलाडी र टिम गेमतर्फको कवड्डी, भलिबलमा छनोटका आधारमा टिम तयार गरिनेछ । छनोटमा परेका खेलाडिले यहि असार २८ देखि ३० गतेसम्म हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् ।
यसैबीच प्रतियोगिताको समापन समारोह लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराईको अध्यक्षता तथा उर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अवसरमा बिजेता टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का कोषाध्यक्ष कोशिस खड्का, दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमाल, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, तुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेलगायतले शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।