Thursday, April 18, 2024
Homeमुख्य खबरचार पालिकाको बजेट दुई अर्ब

चार पालिकाको बजेट दुई अर्ब

- Advertisement -spot_img

दाङ, १२ असार ।
दाङका स्थानीय पालिकाहरूले आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट सार्वजनिक गरेका छन् । संघ र प्रदेश सरकारले बजटे सार्वजनिक गरेपछि संवैधानिक व्यवस्थाअनुसार जिल्लाका पालिकाहरूले बजेट सार्वजनिक गरेका हुन् । १० वटा पालिकामध्ये चार पालिकाले भने राति अबेरसम्म छलफल गरी बजेट ल्याएका छन् । अन्य पालिकाले भने समयमै बजेट सार्वजनिक गरेका छन् ।

जिल्लाको शान्तिनगर, दंगिशरण, राप्ती र गढवा गाउँपालिकाले अन्य पालिकाभन्दा ढिलोगरी बजेट सार्वजनिक गरेका छन् । नीति तथा कार्यक्रम र बजेट एकैपटक ल्याउँदा अबेरसम्म पनि बजेट सार्वजनिक हुन नसकेको हो । चार गाउँपालिकाको बजेट २ अर्ब २३ करोड रहेको छ ।

गढवाको ६३ करोड ४५ लाख
गढवा गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि ६३ करोड ४५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष शारदा चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताइन् ।

शुक्रबार ११औँ गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष चौधरीले निःशुल्क र गुणस्तरीय शिक्षाको सुनिश्चित गर्ने, सुरक्षित आवाससहित विपद् व्यवस्थापन तथा मानवअधिकारको रक्षा गर्ने कृषिमा व्यवसायीकरण तथा आधुनिकीकरण गरी रोजगारीको सिर्जनामार्फत उद्यमशीलता र आत्मनिर्भरताको विकास गर्ने, पूर्वाधारहरूको विकास र विस्तार गर्दै गुणस्तरीयता कायम गर्ने, समावेशी विकासको अवधारणामार्फत सामाजिक रूपान्तरण र समृद्धि कायम गर्ने रहेको बताइन् ।

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बासोबास ब्यबस्थापन, स्थानीय तहको कार्यान्वयन र संस्थागत विकास रोजगारी र उत्पादनमा वृद्धि, वन वातावरणको संरक्षण सामाजिक न्याय तथा लैंगिक मूलप्रवाहीकरण र सेवाप्रवाहमा क्षमता विकासमा प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

आर्थिक वर्ष २०७९÷८० मा विपद् व्यवस्थापन तथा प्राकृतिक प्रकोप व्यवस्थापन कोषका लागि ७५ लाख, महामारी संक्रमण रोकथाम र नियन्त्रण कोषको लागि १५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम जगेडा कोषको लागि २० लाख, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बासोबास कार्यक्रको लागि १ करोड, जोखिम भत्ता व्यवस्थापन स्वास्थ्य सेवाका लागि ७ लाख, युवा तथा खेलकुदको लागि २० लाख, युवा स्वरोजगार कार्यक्रमको लागि २५ लाख, क्षमता विकास कार्यक्रमको लागि ५ लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी गढवा गाउँपालिका कृषि विकास शाखाको लागि ९८ लाख, पशुसेवा शाखाको लागि ६३ लाख ५० हजार, स्वास्थ्य तथा आयुर्वेद शाखाको लागि ७० लाख र शिक्षा शाखाको लागि १ करोड ९० लाख, महिला तथा बालबालिका शाखाको लागि ९० लाख र गाउँपालिका न्यायिक समितिको लागि १५ लाख र गाउँपालिका सर्पदंश उपचार केन्द्रको लागि १५ लाखको बजेट सार्वजनिक गरिएको छ ।

यसैगरी सहकारी शाखाको लागि १० लाख, वन तथा वातावरणको लागि २५ लाख, सर्पदंश उपचार केन्द्रको लागि सवारी साधन खरिद गर्न ३५ लाख, निःशुल्क आँखा उपचार कार्यक्रमको लागि १५ लाख, कृषि र पशु सेवामा साझेदारी कार्यक्रमअन्तर्गत १ करोड, सिँचाइ कुलोको मर्मत सम्भारको लागि १० लाख रकम र पालिकास्तरीय विभिन्न योजनाहरूको लागि एक करोड ५८ लाख २० हजार कुल ६३ करोड ४५ लाख १० हजार अनुमानित बजेट विनियोजन गरिएको छ ।

शान्तिनगरको ५० करोड ९७ लाख
शान्तिनगर गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि कुल ५० करोड ९७ लाख ४८ हजार बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष प्रेमा केसीले चालुतर्फ ३१ करोड ६६ लाख ४८ हजार र पुँजीगततर्फ १९ करोड ३१ लाख गरी कुल ५० करोड ९७ लाख ४८ हजारको बजेट सार्वजनिक गरेकी हुन् ।

राप्तीको ६१ करोड ५५ लाख
राप्ती गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि ६१ करोड ५५ लाखको बजेट ल्याएको छ । एमालेबाट निर्वाचित उपाध्यक्षसहित चारजना वडा अध्यक्ष र सदस्यहरूले गाउँसभा बहिस्कार गरेपछि बहुमत गाउँसभा सदस्यहरूको उपस्थितिमा गाउँपालिकाले मध्यरातमा आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि ६१ करोड करोड ५४ लाख ८४ हजार बजेट ल्याएको छ । तर बजेटमार्फत सार्वजनिक भने गरिएको छैन । गाउँपालिकामा विषयगत समितिको बैठक बस्न नपाउँदै आफूखुसी कार्यपालिका बैठक राखेको र बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्ष कमलापती चौधरीले बजेट प्रस्तुत नगरी बैठकबाट बाहिरिएकी थिइन् ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिक्षा, स्वास्थ्य र कृषिमा बढी बजेट विनियोजन गर्नुपरेकोले वडा तहमा केही बजेट कटौती गर्नुपरेको बताएका छन् । वडा अध्यक्षहरूले सिलिङ बजेटमा १५ लाख बजेट थप गर्न मागसमेत गरेका छन् ।

दंगीशरणको ४६ करोड ९४ लाख
दंगीशरण गाउँपालिकाले पनि आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ४६ करोड ९४ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले कुल बजेटमा संघीय सरकारको १७ करोड ७१ लाख मध्ये पुँजीगततर्फ ४ करोड ३७ लाख र चालुतर्फ १३ करोड ३४ प्रदेश सरकारमार्फत अनुदानमा प्राप्त ३ करोड ६५ लाखमध्ये १ करोड ३५ लाख चालु र २ करोड ३० लाख पुँजीगत बजेट रहेको जानकारी गराइन ।

यसैगरी गाउँपालिकाको २५ करोड ५८ लाखमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ७ करोड ६५ लाख, विकास खर्च १७ करोड ५८ लाख, प्रत्येक वडामा ५ लाख प्रशासनिक खर्च र ६० लाख विकास खर्चगरी ६५ लाख बजेट ल्याइएको बताइन् ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष खड्काले शिक्षा, स्वास्थ्य, सडक, विकास पूर्वाधारका कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताइन् । उनले गाउँपालिकामा हालसम्म २९ वटा ऐन, ४ वटा नियमावली, ४ वटा मापदण्ड, २८ वटा कार्यविधि र ९ वटा नीति निर्माण गरिएको जानकारीसमेत गराइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here