हिमाल शर्मा
सल्यान, ९ सल्यान ।
सल्यानको दार्मा गाउँपालिकाले आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘उत्पादनमा बृद्धि, दार्माको समृद्धि’ भन्ने मूल नारा तय गरेको पालिकाले आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा कृषि व्यावसायिक आधुनिकीकरण गर्दै कृषिलाई आर्थिक बृद्धि र रोजगारीसँग जोड्ने जनाएको हो ।
त्यस्तै बाँझो जमिनामा कृषि गर्ने जो कोहि किसानलाई उत्पादन मात्राका आधारमा अनुदान दिदै प्रोत्सान र पूर्ण सुरक्षणजस्ता व्यवस्था गर्ने जनाइएको नीति तथा कार्यक्रममा प्रविधिको उपयोग गर्दै सिँचाइका लागि कुलो र नहर बनाइने उल्लेख गरिएको छ । मंगलबारको प्रथम गाउँसभामा नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष निम बहादुर केसीले दूधमा आत्मनिर्भर बनाएर निर्यात बढाउने जनाउँदै किसानलाई प्रतिलिटर २ रूपैयाँ ५० पैसा अनुदान दिने बताए ।
नीति कार्यक्रममा रोजगारका कार्यक्रमलाई व्यवस्थित बनाई ‘एक घर एक रोजगार’ कार्यक्रमअन्तर्गत रोजगारी नभएका घरका परिवारका साथै सहिद परिवार, जनयुद्धका घाइते अपांग, आर्थिक रूपमा गरिव तथा विपन्नलाई हरेक रोजगारका कार्यक्रममा पहिलो नम्बर समेटिने जनाइएको छ ।
रोजगारीका कार्यक्रमलाई कृषि उत्पादनमा जोड्दै वैदेशिक रोजगारीबाट फर्केकालाई सीपको प्रयोग गर्न सहयोग, तालिम प्रविधि तथा वित्तीय सहयोग दिने र प्लाष्टिकमुक्त बनाउन उद्यम विकास कार्यक्रमअन्तर्गत फाइवर झोला प्रोत्साहन गर्दै उद्योग बनाइनेछ ।
आरन व्यवसायलाई बालिघरे प्रथा नभई नगद ज्यालादारीको रूपमा विकास गर्न आरन उद्योग तथा आयातित मसला रोकथाम गर्न स्थानीय रूपमा पाइने अदुवा, टिमुुर, दालचिनीबाट मसला उत्पादन गर्न उद्योग बनाइने नीति कार्यक्रममा छ ।
शिक्षाको क्षेत्रमा सबै विद्यालयमा दरबन्दी मिलान, विद्यालय समायोजन, शिक्षक तथा कर्मचारीलाई माग र आवश्यकताका आधारमा परिचालन गरिने जनाइएको छ । त्यस्तै यो वर्ष कठिन परिस्थितिमा रहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ भने बालबालिकासँग अध्यक्ष कार्यक्रम सञ्चालन गरिने । नियमित अतिरिक्त क्रियाकलापको लागि प्रोत्साहनका साथै नमुना विद्यालयको अनुगमन भ्रमण, शिक्षा सम्मेलन, शैक्षिक प्रदर्शनीजस्ता नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
विद्यालयमा बालबगैंचा, शौचालय, प्राथमिक उपचार बाकस, स्वच्छ खानेपानी, खेलमैदान, सरसफाई छात्रालाइ निशुल्क सेनेटरी प्याडका साथै इन्टरनेटबाट शिक्षणको प्रयोग गराइने छ भने पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिनेछ । वडामा खेल सामग्री प्रदान गर्दै खेलकुद प्रशिक्षण सञ्चालन गरिने नीति कार्यक्रममा गर्भवती महिलालाई घुम्ती शिविरमार्फत निःशुल्क भिडियो एक्सरे गरिने उल्लेख छ ।
हरेक स्वास्थ्य संस्थामा गुणस्तरिय प्रयोगशालाको प्रबन्ध मिलाइने छ भने अति अशक्त अपांग, ८० वर्ष माथिका ज्येष्ठ नागरिक, नियमित गर्भजाँच गराउने महिला र सुुत्केरीहरू, कडा रोग लागेका तथा नियमित डाक्टर कहाँ जाने बिरामीका लागि निशुल्क एम्बुलेन्स सुविधा प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
स्वास्थ्य सेवाको बृद्धिका साथै हप्तामा दुई पटक स्वास्थ्यकर्मी गाउँमा जानुपर्ने गरी घुम्ती स्वास्थ्य सेवाका साथै आयुर्वेदिक औषधी निशुल्क योग ध्यान जस्ता कार्यक्रमलाई नीति कार्यक्रममा समेटिएको छ । पोषण स्थितिमा सुधार ल्याइनुका साथै गर्भवती महिलाहरूलाई घुम्ती शिविरमार्फत निशुल्क भिडियो एक्सरे सेवा र सबै वडाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । महिलालाई सामूहिक व्यवसाय सञ्चालनका लागि अनुदान दिइनेछ भने सबैलाई स्वरोजगार बन्न प्रेरित गरिनेछ ।
बालबालिका लागि शिक्षाको मूलधारमा ल्याइनुका साथै गरिब तथा विपन्न नागरिकको अभिलेखिकरण र ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरिनेछ । सडक पूर्वाधार जीविकोपार्जनको आधार भन्दै नीति कार्यक्रममा नयाँ बनाउने भन्दा सडक स्तरोन्नतीलाई प्राथमिकतामा राखेको गाउँपालिकाले वडा कार्यालयमा बाह्रै महिना चल्ने सडक ग्रावेल तथा स्तरोन्नती गर्ने जनाएको छ ।
स्थानीय श्रम शक्तिको प्रयोग गर्ने जनाएको गाउँपालिकाले ‘एक घर एक धारा’ निर्माणलाई प्राथमिकता दिदै ठूला सिँचाइ आयोजना, सोलार लिफ्ट खानेपानीमा विद्युतको प्रयोग, विद्युत लिफ्टबाट सिँचाइ व्यवस्थाजस्ता कार्यक्रम ल्याएको छ । उर्जाको क्षेत्रमा विद्युत विस्तारको काम तिव्रता दिदै लोडसेडिङको समस्या समाधानका साथ वडा कार्यालयमा यसै वर्ष बिजुली विस्तार गरिने जनाइएको छ ।
न्यूनतम २० युनिटभन्दा कम विद्युत खपत गर्ने विपन्न वर्गको विद्युत महसुल भुक्तानी गाउँपालिकाबाट गरिनेछ भने भवन बनाउँदा अनिवार्य नक्सा पास गर्नुपर्ने व्यवस्थालाई कडाइ गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । निर्माणधिन अस्पताल तथा प्रशासकीय भवन यसै वर्ष बनाइनुका साथै भवन नभएका वडा कार्यालयमा चाँडै पहल गरिनेछ ।
एफएम रेडियो सञ्चालनका लागि सहयोगका साथै सामुदायिक रेडियो र अन्य सञ्चार माध्यमसँग सहकार्य र पत्रकारिता तालिमजस्ता कार्यक्रम सञ्चालन गरिनेछ । दार्माको मुख्य बजार फारूलामा निःशुुल्क वाइफाई, कार्यालयका उत्कृष्टलाई कर्मचारीलाई सम्मान जस्ता कार्यक्रम नीति कार्यक्रम समेटिएको छ । नीति कार्यक्रममा कामलाई उत्पादन र उत्पादनलाई रोजगारीसँग जोड्ने जनाइएको छ ।