घोराही, ९ असार ।
दाङ महिला जेसीजले जेसीज सप्ताह २०२२ को पाँचौं दिन बुधबार सवारी चालक र यात्रुहरूलाई ट्राफिक सचेतना प्रदान गरेको छ । जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी ट्राफिक सचेतना प्रदान गरिएको हो ।
ट्राफिक सचेतना कार्यक्रमको प्रशिक्षणका रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियार रहेका थिए । उनले बढ्दो सहरीकरणसँगै सवारी दुर्घटना बढी रहेकाले मानवीय तथा भौतिक क्षति कम गर्न र सभ्य समाज निर्माणका लागि ट्राफिक सचेतना अति आवश्यक रहेको बताए ।
जसका लागि सडक अनुशासन पालना पहिलो प्राथमिकतामा राख्न सवारी चालक र यात्रुहरूलाई अनुरोध गरे । निर्माणाधिन सडकका कारण दुर्घटनाको जोखिम धेरै बढेकाले अमूल्य मानव जीवन बचाउन ट्राफिक नियम पालना मेरो लागि हो भन्ने सोंचलाई व्यवहारमा उतार्न ढिलाइ गर्न नहुने बताए । जीवन रहेमात्रै घर परिवार आफन्त छन्, जीवननै नरहे सबै सकिन्छ भन्ने गहन सोंच राखेर आफू र अरूलाई बचाउँदै गन्तव्यमा पुग्न सबैले ट्राफिक नियम पालनामा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक रिजालले नियम सबै क्षेत्रमा अपरिहार्य भएकाले यो अरूका लागि नभई आफ्नो लागि हो भनेर बुझ्न आवश्यक रहेको बताए । बढ्दो सवारी चापमा दुर्घटना स्वाभाविक रूपमा बढिरहेकाले सडक संस्कार स्थापित गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बेला आएको बताए ।