दाङ, ८ असार ।
घोराही उपमहानगरपालिकाले उद्यमी तथा कृषकहरूको समस्या सुन्न थालेको छ । उद्यमी तथा कृषकको समस्या सुन्नका लागि घोराही उपमहानगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उद्यमी तथा कृषकले आफ्नो विभिन्न समस्या सुनाएका हुन् ।
घोराही–१७ का बंगुर व्यवसायी वीरबहादुर चौधरीले अहिले बंगुरको मासु बजारीकरण गर्न समस्या रहेको बताए । बंगुरपालन व्यवसायी घोराहीका नगर अध्यक्षसमेत रहेका चौधरीले बंगुरको बजार खस्किदै गएको भन्दै बजार व्यवस्थापन गरिदिनका लागि उपमहानगरसँग आग्रह गरे ।
उनले बंगुरको व्यवसाय खस्कदो र दानाको मूल्य भने बढ्दो रहेकाले आफूहरू थप मारमा परेको बताए । बंगुर व्यवसायलाई उकास्ने हो भने दानामा भइरहेको मूल्य बृद्धि कम गर्नुपर्ने, बंगुर पकेट क्षेत्र घोषणा गर्नुपर्ने, अनुदान वास्तविक कृषलाई दिनुपर्नेलगायत माग राखे ।
यस्तै भैसीपालन व्यवसाय गर्दै आएका कृषक किशोरराज चौधरीले अहिलेको समस्या वास्तविक कृषकले अनुदान नपाउनु रहेको बताए । मासु व्यवसायी पूर्णबहादुर केसीले बजारमा अन्य सामानको मूल्य निरन्तर बृद्धि भइरहँदा मासुको मूल्यमा बृद्धि हुन नसकेको बताए । जसले गर्दा मासु व्यवसायीले जोखिम मोलेर व्यवसाय गर्नु परेको उनको भनाइ छ ।
यस्तै ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थाकी बजार व्यवस्थापक सुशीला वलीले बजारमा कुनै पनि सामानको मूल्यमा एक रूपता हुन नसकेको बताइन् । मूल्यमा एकरूपता हुन नसक्दा आफूहरूले कृषकबाट किनेको सामानहरू बिक्री गर्न पनि समस्या भइरहेको बताइन् ।