तुलसीपुर, २५ जेठ ।
लामो समयदेखि स्थगन भएको सरसफाई अभियान फेरी सुरू भएको छ । कोरोना महामारीका कारण स्थगन भएको सरसफाई अभियान तुलसीपुर उपमहानगरपालिकाले फेरी सुरू गरेको छ ।
सरसफाई अभियान अन्तर्गत बुधबार वीरेन्द्र चोकदेखि जेसीज चोकसम्म सरसफाई गरिएको थियो । नगरप्रमुख टिकाराम खड्काको नेतृत्वमा सरसफाई अभियान सुरू गरिएको हो ।
‘आहा ! म, मेरो सहर म आफै सफा गर्छु’ भन्ने नाराका साथ अभियान सुरू गरिएको हो । अभियान सुरू गर्दै नगरप्रमुख खड्काले स्वस्च्छ र सफा सहर बनाउनका लागि नगरबासीको महत्वपूर्ण भूमिका रहने बताए । ‘ पहिले आफ्नै घर पसलबाट सफा बनाउने अभियान सुरू गरौँ, त्यसपछि आफै घर, सहर सफा हुन्छ’ उनले भने– ‘पसल सफा भएमात्रै ग्राहकहरूको आकर्षण बढ्छ ।’
नगर उपप्रमुख स्यानी चौधरीले सफा सहर बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताइन् । उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले स्वयम् नगरबासी र व्यवसायीहरूलाई सचेत बनाउने र अटेरी गरेको अवस्थाका कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियानकर्ता विमल रिजालले अभियानकर्ता मात्रै जागरूक नभई आम नगरबासीसमेत आफ्नो ठाउँको फोहोर आफैले सफा गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेललगायतका कार्यालयका विभिन्न शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।
नगरप्रमुख खड्काले बजार क्षेत्रमा अनाधिकृत रूपमा राखिएका ब्यानरले दृश्य प्रदूषण गराएको भन्दै आफैले हटाएका थिए । कार्यक्रमको सञ्चालन सरसफाई तथा फोहोर व्यवस्थापन शाखाका प्रमुख माधव पौडेलले गरेका थिए ।