तुलसीपुर, २५ जेठ ।
दाङको तुलसीपुरमा सञ्चालित प्रथम सन्तोष स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधि क्याम्पस अफ लाइभ साइन्सेस् (मारिकोल्स) ‘ए’ले जितेको छ ।
क्याम्पस अफ लाइभ साइन्सेस् तुलसीपुरको आयोजनामा सञ्चालित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा तुलसीपुर मेट्रो कलेज हरिपौरी दाङलाई शून्यका विरूद्ध एक गोलले पराजित गर्दै क्याम्पस अफ लाइभ साइन्सेस् (मारिकोल्स) ले उपाधि जितेको हो ।
उपाधिसँगै उसले नगद ३५ हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । फाइनलमा सम्मानजक हार ब्यहोरेको मेट्रो कलेज हरिपौरी उपविजेतामा सीमित रहदै नगद १५ हजार, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो । रोमाञ्चक खेलको दोस्रो हाफ्को २३औँ मिनेटमा क्याम्पस अफ लाइभ साइन्सेस्का जर्सी नं. १२ का रामसन केसीले गरेको गोल नै निर्णायक गोल सावित भयो ।
प्रतियोगिता अवधिभर रेफ्रीको भूमिकामा एन्फा रेफ्री मोहन गौतम, सन्दिप विक, किरणनाथ योगी रहेका थिए । चार दिनसम्म चलेको अन्तर कृषि कलेजस्तरिय प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
यसैबीच प्रतियोगिताको समापन समारोह क्याम्पस अफ लाइभ साइन्सेसका क्याम्पस प्रमुख केशर खत्रीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खेलकुदको विकासविना देशको समृद्धि असम्भव भएको बताए ।
‘मानव समाज र अनुशासनको मुख्य मेरूदण्ड खेलकुद हो यसको विकासविना समृद्धि सम्भव छैन अब स्थानीय तह सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ’ उनले भने । सो अवसरमा प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फ वेष्ट प्लेयर खेलाडी क्याम्पस अफ लाइभ साइन्सेसका अञ्जन चौधरी, हाईवस्कोरर क्याम्पस अफ लाइभ साइन्सेसकै विज्ञान गौतम र वेष्ट गोलकिपर तुलसीपुर मेट्रो कलेजका अशोक शर्मा घोषित भएको क्याम्पस अफ लाइभ साइन्सेसका सञ्चालक तथा एकाडेमिक एड्भाईजर मनोज बस्नेतले जानकारी दिए । कार्यक्रमको सञ्चालन क्याम्पस अफ लाइभ साइन्सेसका छात्रा ऋतु बराइलीले गरेकी थिइन् ।
फुटबल प्रतियोगिता हुने
यसैबीच दाङको तुलसीपुरमा फुटबल प्रतियोगिता हुने भएको छ । तुलसीपुर–१८ मा रहेको सुसेली युवा क्लवको आयोजनामा जेठ २९ गतेदेखि फुटबल प्रतियोगिता हुने भएको हो । बेलझुण्डीको खेल मैदानमा हुने प्रतियोगितामा विजयी हुने समूहले नगद ५० हजार, कप र मेडल प्राप्त गर्ने क्लवका अध्यक्ष रोहन पुनले जानकारी दिए ।
यस्तै दोस्रो हुने समूहले नगद २० हजार, कप र मेडल प्राप्त गर्ने अध्यक्ष पुनले जानकारी दिए । अनाथ तथा असहाय बालबालिकाकालाई शैक्षिक सामग्री सहयोगार्थ फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।