- Advertisement -spot_img
Monday, June 5, 2023
Homebreaking-newsस्थानीय निर्वाचन २०७९, उत्साहपूर्ण मतदान

स्थानीय निर्वाचन २०७९, उत्साहपूर्ण मतदान

- Advertisement -spot_img

दाङ, ३१ बैशाख ।
स्थानीय तह निर्वाचनमा उत्साहपूर्ण सहभागिता देखिएको छ । मतदाताहरूको उत्साहपूर्ण सहभागिता मतदान पनि उत्साह नै रहेको देखिएको छ । दाङसहित देश भरका ७ सय ५३ स्थानीय तहको नयाँ नेतृत्वको लागि शुक्रबार मतदान भएको छ । केही पालिकाबाहेक अन्य सबै स्थानमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशसहित दाङमा पनि मतदात सौहार्दपूर्ण र शान्तिपूर्ण तवरले सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार केही स्थानमा वर्षका कारण केही समय मतदान प्रक्रियामा समस्या भए पनि अन्य कुनै प्रकारको समस्या आएन ।

दाङमा ७० प्रतिशत बढी मत खसेको अनुमान गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा ७० प्रतिशतभन्दा बढी मत खसेको प्रदेश निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीले बताए । सिस्टममा नजाँदासम्म यति नै भन्ने अवस्था त छैन, तर हामीले ७०–७५ प्रतिसतको बीचमा मतदान भएको अनुमान गरेका छांै । उनले अबेर राति मात्रै यथार्थ विवरण आउने बताए ।

१५३ मतदान स्थल र ४६१ मतदान केन्द्र रहेको दाङमा ४ लाख ९ हजार ९०२ मतदाता रहेका थिए । शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरिएको हो । प्रदेश भरी नै निर्वाचन शान्तिपूर्वक ढंगले सञ्चालन भएको उनले बताए । मतदाताले पनि उत्साहपूर्ण ढंगले सहभागिता जनाएका थिए ।

यो निर्वाचनमा सबैभन्दा बढी उत्साहित पहिलो मतदाता देखिएका छन् । उनीहरूले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुसी भएको भन्दै, आफूले रोजेको उम्मेदवारलाई मतदान गरेको प्रतिक्रिया दिए । पहिलो पटक मत हाल्नेहरूका लागि मतदाता शिक्षा नहुँदा केही समस्या भएको भए पनि सामाजिक सञ्चालनबाट सिकेर मतदान गरेको तुलसीपुरमा सिर्जन भण्डारीले बताए । उनले आफूले रोजेको उम्मेदवारलाई मत दिएको बताए ।

मतगणना सुरू
शुक्रबार भएको मतदानको शुक्रबारदेखि नै दाङमा पालिकाहरूमा मतगणना सुरू गरिएको छ । राजनीतिक सहमतिअनुसार शुक्रबार रातिदेखि प्राय सबै पालिकाको निर्वाचन कार्यालयमा मतगणना सुरू भएका छन् । तुलसीपुर उपमहानगरपालिको एक वडामा ३ गते निर्वाचन हुने भएपछि तुलसीपुरमा ३ गतेदेखि मात्रै मतगणना गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका बाहेकका पालिकामा शुक्रबार रातिदेखि नै मत गणना सुरू भएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ५२० पदका लागि २ हजार २ सय ७ जना प्रतिस्पर्धामा रहेका छन् ।

कुन बुथबाट भयो केन्द्रीय नेताको मत
दाङबाट राष्ट्रिय राजनीतिमा रहेको र महत्वपूर्ण जिम्मेवारी समालेका नेताहरूले जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन् । नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर–१९ को जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली काँग्रेसमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले दंगीशरण गाउँपालिकाबाट मतदान गरेका छन् । पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री तथा काँग्रेस नेता डिल्ली बहादुर चौधरीले सेन्टर मावि तुलसीपुर–६ बाट मतदान गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगर–पालिकामा मेयरका उम्मेदवार गेहेन्द्र गिरीले तुलसीपुर–५ मा रहेको अरनिको मैदानबाट मतदान गरेका छन् ।

तुलसीपुर उपमहानगर–पाालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर–८ को मतदान केन्द्रबाट मतदान गरेका छन् । तुलसीपुर उपमहानगर–पालिकाकामा गठबन्धनको तर्फबाट उप–मेयर पदमा उम्मेदवार जोगबहादुर रानाले कालाखोलाको मतदान केन्द्रबाट मतदान गरेका छन् । राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले तुलसीपुर–१२ हरिपौरीबाट मतदान गरेका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले घोराही अम्बापुर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ (अको¥याव)का अध्यक्ष अर्जुन गिरीले तुलसीपुर–१२ को मतदान केन्द्रबाट मतदान गरेका छन् । घोराही उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार हेमराज शर्मा डायमण्डले घोराही–१५ माबी काठेकोल मतदान केन्द्रबाट मतदान गरेका छन् ।

देशभर ७२ प्रतिशतसम्म मत खसेको प्रारम्भिक तथ्यांक
स्थानीय तहको निर्वाचनमा देश भरमा करिब ७२ प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक प्रक्षेपण गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले ७२ प्रतिशत मत खसेको आयोगको प्रक्षेपण गरिएको बताए ।

उनले मतदानको बेला देशभरका विभिन्न स्थानमा भएको झडप र विवाद हुनु दुःखद भएको बताएका छन् । उनले केही ठाउँमा उम्मेदवारकै प्रतिनिधिबाट निर्वाचन प्रक्रिया विथोल्ने प्रयास गरिएको बताए । सप्तरी, बझाङ, बारा र रौतहटका केही मतदान केन्द्रहरूमा अप्रत्यासित र अवाञ्छित गतिविधिहरू भएको उल्लेख गर्दै उम्मेदवारका प्रतिनिधिबाटै त्यस्ता गतिविधि भएको बताए ।

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदान स्थलमा सामान्य विवादका कारण मतदान रोकिएको छ । आयोगले मतगणनामा निष्पक्ष निर्णय लिन पाँच सयभन्दा धेरै मतदान केन्द्रमा सीसी क्यामेरा राखेको छ । यसअघि भएका चुनावमा मतदानको समयमा राजनीतिक दलबीच कुरा नमिल्दा समस्या आएपछि यसपालि आयोगले मतगणना स्थलमा सीसी क्यामेरा जडान गरेको आयोगले जनाएको छ ।

४१ केन्द्रको मतदान रद्द
शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा ४१ वटा केन्द्रको मतदान रद्द भएको छ । तीमध्ये अधिकांस स्थानमा झडपका घटना भएका छन् । दोहोरो झडपपछि कतिपय स्थानमा गोलीसमेत चलेको छ । ती स्थानमा मतदान प्रक्रिया रद्द गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोग स्रोतले दिएको जानकारीअनुसार २६ स्थानका ४१ केन्द्रको मतदान स्थगित भएको छ ।

बाबुरामलाई स्पष्टिकरण
निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई स्पष्टिकरण सोधेको छ । मतदान गर्ने क्रममा मत सङ्केत गरेको मतपत्र सार्वजनिक गरेको भन्दै आयोगले गम्भिर ध्यानाकर्षण भएको भन्दै आयोगले स्पष्टिकरण सोधेको हो । निर्वाचन कसूर तथा सजाय ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न पनि पत्राचार गरिएको आयोगले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here