उमा भण्डारी
दाङ, ३१ बैशाख ।
तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीकी ७२ वर्षीय राममती चौधरी स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउँदा निकै खुसी देखिन्थिन् । यस पटकको मतदान कसरी गर्ने भन्नेबारे जानकारी नहुँदा मतदान गर्न नजाने मनासय बनाइन् ।
तर आफूले दिएको मतले आफ्नो व्यक्तिले चुनाव जित्ने कुरामा महसुस भएपछि उनी जसरी हुन्छ मतदानका लागि मतदान केन्द्र पुग्ने निर्णय गरिन् ।
अन्यत्रै गएका आफ्नो नातिलाई फोन गरेर बोलाइन् र नातिको सहारामा मतदान केन्द्र पुगिन् । हिँडडुल गर्नसमेत समस्या हुने उनलाई नातिले मतसंकेतमा सहयोग गरेपछि उनले आफूले चाहेको उम्मेद्वारलाई मत दिएको बताइन् । तर खुसी हुँदै मतदान केन्द्रबाट बाहिर निस्किइन् ।
मतदान कसरी गर्ने, किन गर्ने भन्ने लाग्दा–लाग्दै पनि मनले मानेन अनि आएको हुँ, उनले भनिन्– ‘शरीर उभ्याउन नसक्ने म बुढीलाई पनि मतदान गर्न रहर लाग्यो, अनी नातिसँग आए ।’ पहिलो पटक मतदानमा सहभागी भएका राजकुमार क्षेत्री पनि निकै उत्साहित थिए ।
निर्वाचनको पहिलो अनुभव त्यसैमाथि मतदाता शिक्षाको अभाव तर पनि आफ्नो मताधिकार प्रयोगका लागि मतदान केन्द्र पुगेको उनले सुनाए । मत कसरी दिने हो त्यो त थाहा छैन, तर आफूले पाएको अधिकारलाई प्रयोग गर्नैपर्छ भन्ने सोचेर मतदान गर्न आएको हुँ, उनले भने– ‘मत संकेत गर्दा विग्रिन्छ कि भन्ने डर त छ तर पनि खुसी नै छु ।’
विशेषगरी नयाँ मतदाताहरूका लागि पनि सरकारले मतदाता शिक्षा कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ । नयाँ मतदातासँग कुनै अनुभव समेत नहुने हुँदा मतबदर हुने, मतदानमा सहजै सहभागी नहुने समस्या रहेको उनको भनाइ छ ।
उनीहरूजस्तै मताधिकारको प्रयोग गरी आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न मत केन्द्रमा पुगेका थिए । निर्वाचनलाई प्रत्यक्ष रूपमा महसुस गर्ने अवसर भएकाले पनि आफूहरू उत्साहित भएको उनीहरू बताउँछन् ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा मतदानका लागि मतकेन्द्रमा पुगेका मतदाताहरूमा उत्साह थियो । आफ्नो एक मतका कारण आफूले चाहेको उम्मेदवारको जित हुनसक्ने भन्दै मतलाई गोप्य र बदर हुनबाट बचाउन पनि सचेत थिए । मतपत्रसम्बन्धी नजानेका कुराहरू आफूले चिनेजानेको बाट सिक्ने र अरूलाई पनि सिकाउने गरिरहेका थिए ।
बिहान ७ बजेदेखि मतदान सुरू हुने भनिए पनि मतदाताहरू ५ बजे नै मतदान केन्द्रमा पुगेका थिए । कुन व्यक्तिलाई कसरी मत दिनुपर्छ भन्नेबारे पूर्णरूपमा जानकारी त थिएनन् । तर पनि आफ्नो उम्मेदवारलाई मत दिन्छु भन्ने दृढता उनीहरूमा देखिन्थ्यो । भने कतिपयले कसरी मत संकेत दिने भन्ने बारेमा जानकारी लिइ मतदान गरे ।