Friday, April 18, 2025
Homeमुख्य खबरपाँच वर्षमा घोराहीको मुहार फेर्नेछौं

पाँच वर्षमा घोराहीको मुहार फेर्नेछौं

- Advertisement -spot_img

आसन्न स्थानीय निर्वाचनका लागि घोराही उपमहानगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राजमो नेपालसहित पाँच दलीय गठबन्धनले मेयर पदमा हेमराज शर्मा (डायमण्ड) लाई उम्मेदवार बनाएको छ । घोराही वडा नं. १५ का स्थायी बासिन्दा हेमराज २०४४ सालदेखि राजनीतिमा सक्रिय छन् । गठबन्धनको बाट माओवादी केन्द्रका नेता हेमराज शर्मा घोराही उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बनेका छन् । शर्मासँग मेयर पदमा उम्मेदवारी, गठबन्धनको औचित्य, घोराहीका लागि अघि सारेका योजनाहरू लगायत समसामयिक विषयमा केन्द्रित भएर कुराकानी गरेका छौं । – सम्पादक

पहिलेदेखि नै मेयरको तयारीमा हुनुहुन्थ्यो र ?

म २०४८ सालमा भरतपुर क्याम्पसमा पढ्न भर्ना भएदेखि यता ३० वर्षदेखि घोराहीमा बसोबास गर्दै आएको छु । जनयुद्धको समयमा पनि घोराहीका विभिन्न गाउँका बस्तीका जनतासँग एकाकार भएर काम गर्दै आएको हुँ । २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनमा घोराहीकै भूगोलमा बसेर नेपाली काँग्रेससहितका राजनीतिक दलसँग संवाद र छलफल गर्दै जनआन्दोलन परिचालनको भूमिका पूरा गरिएको हो ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचन, संविधान निर्माण सम्पन्न भएपछिको स्थानीय, संघ र प्रदेश तहको निर्वाचनमा पनि यही भूगोलमा रहेर निर्वाचन परिचालनको भूमिका पूरा गरेको हुँ । म विद्यार्थीका रूपमा संगठनमा काम गर्दा, जनयुद्धमा सहभागी रहदा र शान्ति प्रक्रिया सुरू भएयता राजनीतिमा क्रियाशील रहँदा सधै मेरो मनमा घोराहीसहित सिंगो दाङको विकास कसरी गर्ने, यहाँका जनतालाई कसरी सुख र खुशी दिने भन्ने वियषमा सोचिरहन्थे ।

पार्टी र आन्दोलनमा जोडिएकाले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा सर्वसम्मत मेयर पदमा सिफारिस भएपछि गठबन्धन दलहरूको समेत समर्थनमा उम्मेदवार बनेको हुँ । पहिलेदेखि नै मेयर तयारीमा नभएपनि गठबन्धनले घोराही उपमहानगरपालिको मेयर उम्मेदवार बनाएर उपहानगरपालिका विकास समृद्धिका साथै जनसेवा गर्ने अवसरमा दिएकोमा म आभार प्रकट गर्दछु । मेयरको रूपमा मेरो क्षमता र दक्षतालाई पूर्ण रूपमा लगाउने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

चुनावी प्रचारप्रसारको अभियान कसरी चलेको छ ?

बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र–सहितको पाँच दलीय गठबन्धनले घोराही उपहानगरपालिकाको मेयर पदमा मलाई उप–मेयर पदमा भूपबहादुर डाँगी ज्यूसहित वडातहसम्म साझा उम्मेदवार अघि सारेको छ । हाम्रो चुनावी प्रचारका लागि पनि हामीले व्यक्तिगत रूपमा नभई गठबन्धनले तय गरेको चुनावी योजना र प्रचार कार्यक्रममा साझा ढंगले सहभागी भइरहेका छौं ।

बैशाखमा १५ गतेदेखि वडा नंं. ६ देखि चुनावी प्रचारप्रसार अभियान थालनी गरी अघि बढेका छौं । चुनावी प्रचारका क्रममा हरेक मतदाता र शुभेच्छुकहरूको घरदैलोमा पुग्न नसके पनि उहाँहरूले हामीले उठाएका एजेण्डाका आधारमा मतदान गरिदिनु हुनेछ, भन्नेमा विश्वस्त छौं । हरेक मतदाताहरूको घरदैलोमा नभएपनि गाउँ टोलमा हुने चुनावी कार्यक्रममा सरिक भई उम्मेदवारहरूले साझा योजनासहितको प्रतिवद्धता पत्र प्रस्तुत गरी उहाँहरूका समेत सुझाव लिदै अघि बढिरहेको छौं ।

गठबन्धनको चुनावी एजेण्डाहरू के छन् ?

हामीले हाम्रो साझा प्रतिवद्धता पत्र आम मतदाता समक्ष चुनावी कार्यक्रममार्फत प्रस्तुत गरिसकेका छौं । मतदाताहरूले साझा चुनावी प्रतिवद्धता प्रस्तुत गरेपछि दिने सल्लाह, सुझावलाई समेत समेटर अघि बढिरहेका छौं । अहिले हामीले घोराही उपहानगरपालिकाको विकास र समृद्धिका लागि केही विषयवस्तु प्राथमिकतामा राखेका छौं ।

गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारी, स्वस्थ्य जीवनका लागि स्थानीय सरकार, वडा वडासम्म उद्योग, दिगो विकासको आधार सडक पूर्वाधार, पानी जिन्दगानी नगरको लगानी, वैज्ञानिक भू–उपयोग तथा व्यवस्थित सहरी विकासको योजना अघि सारेका छौं ।

यसैगरी पर्यटन क्षेत्रको विकास लागि नगरस्तरीय योजना, स्थानीय कला, संस्कृति, भाषा र मौलिक पहिचानको लागि विशेष योजना र अभियान, भष्ट्राचार मुक्त घोराही , सार्वजानिक सेवामा सहज नागरिक पहँुच, जनताको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, र रोजगारीका लागि स्थानीय सरकारको जिम्मेवारी, ज्येष्ठ नागरिक, महिला, बालबालिका, दलित र अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक वर्ग समुदायका लागि विशेष अधिकार र राहत व्यवस्थाको लागि पनि स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने हाम्रो प्रतिवद्धता छ ।

यसैगरी युवा र खेलकूदको विकास सूचना तथा सञ्चारको विकास, घोराहीलाई हिलोधुलो मुक्त नगरका रूपमा विकास गर्ने, स्थाानीय तहको केन्द्रसँग बाह्र महिना सबै वडाहरूको सहज यातायात पहुँचको व्यवस्था, अति विपन्न, मजदुर, गरिव किसान, बृद्धबृद्धा, एकल महिलाहरूलाई निःशुल्क स्वास्थ्य उपचार, विद्युत र खानेपानी निःशुल्क व्यवस्था गरिने छ ।
त्यस्तै कृषकहरूलाई कृषक परिचय पत्र, मल बीउको सहज व्यवस्थापन, कृषक पेन्सनको व्यवस्था गरिनेछ ।

यसैगरी चोक–चोक सार्वजनिक स्थलमा फ्रि इन्टरनेट, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ र विशेषज्ञ चिकित्सक अध्ययन सञ्चालन गर्ने र सरकारी विद्यालय तथा अस्पतालहरूलाई सुविधा सम्पन्न गराउने र नगरस्तरीय सरकारी अस्पताल सञ्चालन गर्ने योजना छ । विस्तृत साझा एजेण्डाहरू साझा प्रतिवद्धता पत्रमा उल्लेख गरिएकोले एक पटक हाम्रो प्रतिवद्धा पत्र अध्ययन गरिदिन हुन सबै उपहानगरवासीहरूमा अनुरोध गर्दछु ।

जित्ने आधार के–के हुन् ?

घोराहीमा उपहानगर–पालिकामा गठबन्धनमा आवद्ध रहेका राजनीतिक दलहरूको जनाधार र कार्यकर्ताहरू नै हाम्रो जित्ने पहिलो आधार हो । यस अघिको निर्वाचनमा हामीले प्राप्त गरेको मत संख्या मात्रै आधार मान्ने हो भन्ने हामीले दश हजारभन्दा बढी मन्तातरले विजयी हुन्छौं । यसबाहेक हामीले उठाएका एजेण्डा र अघि सारेका उम्मेदवार अनुहार नै हाम्रोको अर्काे आधार हो । यसैगरी संघ, प्रदेशमा पनि गठबन्धनको सरकार छ । स्थानीय तहमा गठबन्धनको सरहकार नहुने हो भने, यहाँ चाहेजतिको विकास र समृद्धि घोराही उपहानगरपालिका हुन सक्दैन ।

त्यसैले केन्द्र र प्रदेशमा जसरी गठबन्धनको संयुक्त सरकार छ । त्यसरी नै घोराही पनि हामीले गठबन्धनको संयुक्त सक्षम नेतृत्वको सरकार भएमा केन्द्र र प्रदेश सरकारवाट पनि विकासका योजनाहरू प्राप्त गर्न सकिन्छ । त्यसैगरी यस अघि घोराहीमा नेतृत्व गर्नुभएका मेयरलाई नै पुनः उम्मेद्वार उठाएको हुनाले उहाँ एक पटकको परिक्षणमा असफल भइसक्नु भएको छ । उहाँले गरेको चुनावी बाचाहरू पूरा गर्न नसक्नु भएकोले घोराहीबासी आम स्वतन्त्र मतदाताहरूले हामीलाई विजयी बनाउन आतुर हुनुहुन्छ ।

एजेण्डाले घोराहीबासीको समस्या सम्बोधन गर्दछ त ?

‘अवश्य गर्छ, हामीले बिगत लामो समयदेखि घोराहीबासीको समस्यासँग साक्षात्कार गर्दै आइरहेका छौं । यहाँको मुख्य समस्या भनेकै हामीले उठाएका एजेण्डाहरू हुन् । जसलाई हाम्रो आवश्यक भएको महसुस गरेका छौं । माथि उल्लेख गरेको योजना र एजेण्डाहरू जस्तैः सडक पूर्वाधार, स्वास्थ्य, शिक्षा बिजुली, खानेपानी कृषि र रोजगारलगायत समस्या नै घोराहीको मुख्य समस्या हो । हामी निर्वाचित पश्चात् हाम्रो कार्यकालमा जनतालाई यि समस्यामुक्त गर्दै ‘समुन्नत घोराही र खुसी घोराही’ को सपना पूरा गर्नेछौं ।

गठबन्धनभित्र आन्तरिक विवाद छ भन्ने सुनिन्छ ?

घोराहीको गठबन्धनमा रहेका दलहरूको पार्टीमा विशाल कार्यकर्ता पंक्ति छ । थुप्रै सक्षम र योग्य नेता कार्यकर्ताहरू हुनुहुन्छ । सुरूमा उम्मेदवार चयन गर्ने क्रममा कसलाई उम्मेदवार बनाउँदा उचित हुन्छ भनेर बहस हुनु, साथीहरूले मतहरू राख्नु स्वभाविकै हो । घोराहीका मेयर र उपमेयर दुवै पदमा सर्वसम्मत् रूपमा उम्मेदवारी चयन भएको छ ।

उम्मेदवारी चयन भइसकेपछि मेयर र उपमेयरका उम्मेदवारहरूका बारेमा एकजनाले पनि असन्तुष्टी व्यक्त गर्नुभएको छैन । यस अघि मेयरको उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका प्रभावशाली नेता भूपबहादुर डाँगी अहिले उपमेयरमा उम्मेदवार हुनुहुन्छ । हाम्रो संयुक्त गठबन्धनलाई जिताउन दुवै पार्टीका नेता र कार्यकर्ताहरू सबै एकतावद्ध भएर लागिरहनु भएको छ । हामी चुनावी अभियानमा अघि बढिसकेपछि पार्टीका सदस्य र शुभेच्छुकको दायित्व पार्टीका उम्मेदवार जिताउने हो । यस्तो बेला वादविवाद गरेर समय खेर फाल्ने समय हाम्रा नेता कार्यकर्ताहरूलाई छैन ।

चुनाव सकेपछि हामीले समीक्षा गर्नेछौ । केही गल्ती भएको रहेछ भने त्यसबाट शिक्षा लिनेछौं । अहिले हामीले खासै विवाद छैन । पार्टी निकट साथीहरूले निर्णय विपरीत हाल्नुभएका उम्मेदवारी पनि फिर्ता लिइरहनुभएको छ । अझै केही असन्तुष्टी रहेछन् भने पनि मतदान गर्नु अघिसम्म समाधान हुन्छ भन्ने विश्वास छ ।

तपाईहरू निर्वाचित भएपछि आगामी पाँचवर्षमा घोराही कस्तो होला ?

हामी घोराहीबासीको भाग्य र भविष्य बदल्न उम्मेदवार बनेका हौं । हामीसँग आगामी पाँच वर्षमा घोराहीलाई कस्तो बनाउने भन्ने प्रष्ट्र योजनासहितको खाका छ । हाम्रो जित पश्चात् दिनरात नभनी घोराहीबासीको सेवा र यहाँको विकास लागि खटिने छौं । पाँचवर्ष पछि तपाईले देशको सबैभन्दा ठूलो यो उपमहानगरलाई घोराहीलाई देख्नु हुनेछ नेपालको सबैभन्दा नमूना उपमहानगरपालिका बनाउने छौं ।

हामीले अधुरो रिङरोड पूरा गरी प्रत्येक वडाका टोल–टोललाई आधुनिक यातायात प्रणालीसँग जोड्ने छौँ । विकट दुर्गम क्षेत्रहरू पनि छन् । जहाँ आकर्षक पर्यटक केन्द्र बन्ने छन् । बढ्दो बेरोजगारीलाई हटाउँदै घर–घरमा रोजगारी सिर्जना गरिने छ । जनताका सबै प्रकारका आधारभूत आवश्यकता पूरा हुने छन् । जनताको मौलिक शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका अधिकारको दायित्व उपमहानगरपालिकाले व्यहोर्ने छ । समग्रमा भन्दा हामीले घोराहीको मुहार फेर्ने बाचा गरेका छौं, त्यो पूरा गरेरै छोड्ने छौं ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here