घोराही उपमहानगरपालिकामा नगर उपप्रमुखका उम्मेदवार भूपबहादुर डाँगी अहिले चुनावी प्रचार प्रसारमा तिव्र रूपमा लागेका छन् । घोराही उपमहानगरपालिकालाई समृद्ध नगर बनाउने योजनासहित मतदाता समक्ष पुगिरहेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका डाँगीले निर्वाचन जित्ने आधार, चुनावी एजेण्डा के छन् ? भन्ने विषयमा कुराकानी गरेका छौं । – सम्पादक
उपमेयरमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, तपाईलाई मतदाताले विश्वास गर्लान् त ?
अहिले म पूर्ण विश्वस्त छु । यहाँका जनताप्रति मलाई पूर्ण विश्वास गर्नुभएको छ । घोराही नगरपालिकाको जनताको आधारभूत समस्या समाधान गर्न म सक्छु भन्ने उहाँहरूलाई पनि थाहा छ । मतदाताको अपार माया अनि विश्वासले नै म नेतृत्वमा आउन सक्छु भन्ने विश्वासका साथ नेतृत्वमा उम्मेदवारी दिएको हुँ । सबै प्रकारका विभेदको अन्त्य गर्न सक्छु । यहाँका सबै प्रकारका समस्याहरू सम्बोधन गर्न म तयार छु । सबै वर्गलाई समेटेर उहाँहरूको प्रतिनिधित्व हुने गरी मैले काम गर्न सक्छु भन्ने कुरा पनि उहाँहरूलाई थाहा छ ।
तपाईको एजेण्डा के ?
स्थानीय तहको निर्वाचन भएको हुँदा स्थानीय एजेन्डाहरू लिएर जनताको घरदैलोमा पुगिरहेका छौं । उहाँहरूको दैनिकी जनजीविकाका कुराहरूलाई प्राथमिकता दिएर अघि बढेका छौं । उहाँहरूको समस्या बुझिरहेका छौं । घोराही नगरपालिकालाई कसरी समृद्ध बनाउने, कसरी सुन्दर गराउने, यहाँको विकास निर्माणको कुरालाई कसरी अगाडि बढाउने भन्ने योजना लिएर घरदैलो अभियान सुरू गरेका छौं । हामीले घोषणा पत्रमा तय गरेर सबै मुद्दाहरू कार्यान्वयन गरेर जाने छौं ।
घोषणापत्रमा समेटिएका प्रमुख नाराहरू यस्ता छन्ः–
– अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार
– गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारीः गठबन्धनको नेतृत्वमा राज्यको जिम्मेवारी
– स्वस्थ जीवन नागरिकको अधिकारः स्थानीय सरकार पूर्ण जिम्मेवार
– दिगो विकासको आधार, सडक पूर्वाधार
– नगरमा उद्योग, नगरवासीलाई रोजगारः स्वरोजगार नागरिक, समृद्धिको आधार
– पानी जिन्दगानी, नगरको लगानी
– एक घर, दुई विरूवा– एक केरा, एक मेवा
– सुन्दर नगर, पर्यटकीय सहर
– स्थानीय कला संस्कृति मौलिक पहिचानः गठबन्धन सरकारको बिशेष अभियान
– भ्रष्टाचाररहित घोराहीको सोंचः सार्वजनिक सेवामा सहज नागरिक पहुँच
– लोकतन्त्र र स्थायित्वः सामाजिक न्याय हाम्रो दायित्व
– अघि बढ युवा हो, देश अब हाम्रो हो
– आधुनिक जीवनको आधार, सूचना र सञ्चार
मतदाताका माग के छन् ?
एकदमै सकारात्मक अपेक्षा पाइरहेको छु । अनुुभवी र दक्ष मान्छेले भोलि राम्रो काम गर्न सक्नुहुन्छ भन्दै हामीलाई थप ऊर्जा पनि दिइरहनुभएको छ । अर्काे कुरा, अहिलेसम्म भ्रष्टाचार, अनियमिततालगायत कुनै पनि दाग लागेको छैन । जनताको माझ यतिको मान्छे आउँदा घोराही उपमाहानगरपालिकाको मुहार फेरिन्छ भन्ने विश्वास लागेको छ ।
जितमा कत्तिको विश्वस्त हुनुहुन्छ ? आधार के छन् ?
चुनाव जित्नेमा म ढुक्क छु । म साढे ११ वर्षसम्म नेपाली काँग्रेसको क्षेत्रीय सभापति भएर काम गरेको छुु । मलाई कार्यकर्ता र जनताले दाग लगाउने ठाउँ दिएको छैन् । मैले आफ्नो पार्टी अर्काको पार्टीबीच फरक नजरले कहिलै हेरिन । सबै मतदाताहरूलाई अन्याय, अत्याचार र समस्या, पर्दा अगाडि सेरको छुु । त्यसले गर्दा मलाई मतादाताले ढुक्कसँग जिताउनु हुन्छ । अब आधार हेर्ने हो भने, २०७४ सालको निर्वाचनको मत हेर्दा नेपाली काँग्रेस र माओवादी केन्द्रको मत जोड्दा मुख्य प्रतिस्पर्धी पार्टीभन्दा करिव ८ बजार मतकोे अन्तर छ ।
हाम्रो गठबन्धनमा काँग्रेस र माओवादीसँगै अन्य दलहरू पनि जोडिनुुभएको छ । यस क्षेत्रमा पाँच वर्षको अवधिमा थपिएका ३४/३५ हजार मतादाता मध्येमा धरै नयाँ मतदाता हाम्रो गठबन्धनमा थपिनुभएको छ । यस हिसावले पनि मैले मात्र हैन हाम्रो यस गठबन्धनले बहुमतले जित्छ ।
समाजवादी बाहिरिदा यसले कस्तो असर पार्ला ?
समाजवादी पार्टीलाई खोजेको र रोजेको ठाउँमा हामीले भाग दिएकै थियौंं । तर उहाँहरूले अलि बढी नै अपेक्षा गर्नुभयो । हाम्रो उहाँहरूको मत नजोड्दा पनि मत बढी छ । त्यसमा कुुनै समस्या छैन् ।
गठबन्धन छ, अन्तरघात हुने सम्भावना कस्तो छ ?
विगतमा अन्तरघात भयो या भएन भनेर मैले प्रमाणित गर्न सक्दिन् । हाम्रो टिकट अत्यन्त ढिला भएको थियो । नेता र कार्यकर्ताको व्यवस्थापन गर्न सकिएन् । २० वर्ष पछाडि आएको स्थानीय चुुनाव थियो । त्यसले गर्दा हाम्रा मतहरू छताछुल्ल भएकै हुन् । नभएको हैन् । ५/६ हजार मतहरू यताउता भए र अहिले हाम्रो पार्टीभित्र शीर्ष नेताहरू हुँदाहुँदै पनि मलाई निर्विरोध रूपमा मेयरको रूपमा अगाडि ल्याउनुुभएको थियो तर गठबन्धनका कारण काँग्रेसलाई उपमेयरको भाग प¥यो र हाम्रा नेता र कार्यकर्ताले उपमेयरका रूपमा अगाडि बढाउनुभयो र म त्यसैको दौड्मा छुु । अन्तरघात हुुनेशंका छैन् । किनकी यो लडाइँ निरंकुश र अवसरवादीलाई प्रास्त गर्नको लागि हो । आम जनमानसले त्यसलाई बुुझेका छन् ।
घोराही उपमहानगर भित्र के कस्ता समस्या देख्नुुभएको छ । त्यसलाई तपाईले कसरी सम्बोधन गर्नुहुन्छ ?
पाँच वर्षको समयमा स्थानीय सरकारले गरेका कामको समीक्षा नगरबासीले गरेकै छन् । कति भ्रष्टाचार भयो ? नगरभित्र सारा आफ्ना कार्यकर्ता भर्ती गर्ने काम भएको छ । विकासको नाममा सडकमा गिट्टी र बालुुवा छर्ने मात्र काम भयो । संघ र प्रदेशको सहयोगमा बनेका सडक बाटाहरू हामीले ग¥यौ भनेर प्रचार गरियो । वषौंदेखि थन्किएका गाडीमा तेलको बहानामा आर्थिक अनियमितता गरियो । यस विषयमा सञ्चारमाध्यममा समाचारहरू पनि छ्यापछ्याप्ती छन् ।
जनतालाई भ्रम छर्ने बाहेक अरू काम भएन् । भ्रष्टाचार मौलाउने थलो बन्यो घोराही नगर त्यसैले अब हर क्षेत्रमा पारदर्शी र सुशासन स्थापित गर्नका लागि हामीले जित्न आवश्यक छ । हाम्रो नगरलाई शैक्षिक हवको रूपमा विकास गर्न, कृषक परिचयपत्र बनाई कृषि बिमा र कृषक पेन्सन कार्यक्रम अघि बढाउने लगायतका काममा हामी प्रतिवद्ध र इमानदार भएर काम गर्नेछौं । मेरो पदमा पुगेर कुनै कमाउने योजना छैन जनताको सेवामा लाग्न उपमेयर पदमा उम्मेदवारी दिएको हुुँ र त्यही अनुसार हामी काम गर्नेछौं ।
अहिलेको गठबन्धनले कतिपय काँग्रेसीहरू असन्तुष्ट देखिन्छन् नि ? केही ठाउँमा आफ्नै पार्टीभित्रको आन्तरिक किचलो पनि छ । तर चुनाव जित्न समस्या हुँदैन । पार्टीभित्रको प्रतिस्पर्धा भन्ने कुरा क्षणिक हो । अहिले हामी एउटा सामूहिक मुद्दा लिएर अघि बढिरहेका छौं । पार्टीभित्रको किचलो पार्टीभित्रै होला ।
तर, यो जनताको मन जित्ने कुरा हो । जनतालाई जनताको मालिक बनाउने कुरा हो । हिजो टिकट नपाउँदासम्म पार्टीभित्र केही समस्या थियो होला । त्यो सामान्य हो । अब टिकट पाइसकेपछि हामी एक भएर अघि बढ्ने कुरामा लागिरहेका छौं । चुनाव जित्ने गरी हामी जनतासामु गइरहेका छौं । त्यसो भएको हुँदा सामान्य कुराले केही फरक पर्दैन ।
प्रस्तुतिः हेमराज परिवर्तन