स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु मतदातासँग भोट माग्न व्यस्त छन । उनीहरुले विभिन्न माध्यमबाट मतदातासँग नजिक हुने प्रयास पनि गरिरहेका छन् । निर्वाचनकै क्रममा तुलसीपुर उपमहानगरपालिकामा एमालेको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका टिकाराम खडकालाई उम्मेदवारसँग प्रदेश टुडे स्तम्भमा ल्याएका छौं । – सम्पादक
१. तपाईको उम्मेदवारी किन ?
धन्यवाद, तुलसीपुर उपमहानगरपालिका भित्रका अपूरा विकास निर्माणको पूरा गर्न र नगरलाई सुशासनमैत्री बनाई अनि समृद्धिको मार्गमा लैजान मेरो उम्मेदवारी हो । नगरमा पर्याप्तरूपमा रहेको गरिबी हटाउन पर्याप्त रोजगारीको व्यवस्था गर्नेदेखि शिक्षा, स्वास्थ्यलगायतको पहुँच सहज गराउने मेरो पहिलो प्राथमिकतामा रहने छ ।
२. मत माग्न मतदाता कहाँ पुग्नुभयो ?
अवश्य पनि । मतदातासमक्ष पहिलेदेखि नै पुगिरहेको छ । उम्मेदवारी दर्ता गरेपछि फेरि पुग्दैछु । घरदैलोमा म निर्वाचनको समयमा मात्रै होइन्, अन्य समयमा पनि पुग्ने भएकाले मतदाता अर्थात् नागरिकमाझ पुग्नु समस्या होइन् । म लामो समयदेखि नागरिक सँगसँगै छु । राजैतिक यात्रामा लागेको करिब ४० वर्ष बढी हुँदा धेरै पटक नागरिकमाझ पुगेको छु । अब साँच्चै भोट माग्नका लागि पुगिरहेको छु ।
३. नेतृत्वमा पुग्न मतदाताले विश्वास गर्लान् त ?
यसमा मेरो कुनै शंका छैन् । मतदाताको अपार माया अनि विश्वासले नै म नेतृत्वमा आउन सक्छु भन्ने विश्वासका साथ नेतृत्वमा उम्मेदवारी दिएको हुँ । मतदाताले टिकाराम खड्का सर्वहारा नेता हो भन्ने नजिकबाट चिन्नुभएको छ । किनकी म राजनीतिसँगै सामाजिक सेवामा निरन्तर लागिरहेको छु । नागरिकका हरेक सुख दुःखसँग जोडिन पाएको छु । हरेक समस्यसँग नजिक भई समाधान गर्ने काममा म निरन्तर लागिरहेको हुँदा पनि निर्वाचनको मत परिणाम मेरो पक्षमा आउँछ भन्ने विश्वासमा छु ।
४.गठबन्धनसँगको प्रतिस्पर्धामा अलि बढी चुनौती होला नि ?
म प्रतिकूलतामा रमाउने व्यक्ति हुँ । सानै उमेरदेखिको मेरो निरन्तर संघर्ष चलिरहेको छ । सानै उमेरमा बुबा आमालाई गुमाएपछि म अर्काको घरमा काम गरेको हुर्केको व्यक्ति हुँ । तैपनि म कहिल्यै हार खाएन । निरन्तर चुनौतीको पहाडलाई छिचोल्दै आएको छु । खेल हो जित÷हार हुन्छ । तैपनि आम मत मेरो पक्षमा आउँछ भन्नेमा विश्वस्त छ । गठबन्धनले केही प्रभाव पार्नेवाला छैन् । अब अहिलेको निर्वाचनमा पनि ३÷४ दल एकातिर हुँदा नेकपा एमालेको उम्मेदवार म अर्कोतिरबाट प्रतिस्पर्धामा छु । मतदाताले व्यक्ति चिन्नुभएको छ । कसलाई मतदान गरेपछि भोलिका दिनमा सहज हुन्छ भनेर मतदाताले राम्रोसँग चिनेका कारण पनि मेरो पक्षमा मत कम आउँछ भन्ने सोचेको पनि छैन् ।
५. मतदातले विश्वास गर्नुभयो भने परिवर्तनको अनुभूति हुने गरी के गर्नुहुन्छ ?
आगामी नेतृत्व मतदाताले मलाई सुम्पिुनुभयो भने मैले सुरूमा गरिबी हटाउँछु । समस्याको रूपमा रहेको गरिबीलाई हटाउनका लागि पर्याप्त मात्रामा रोजगारीको व्यवस्था गर्न मेरो विशेष पहल रहने छ । आर्थिक विकासका लागि आम नागरिकलाई स्वरोजगार बनाउने, शिक्षा, स्वास्थ्यलाई नागरिकको पहुँचमा लैजाने, सफा र सुन्दर सहर बनाउने मेरो योजना छ ।
सुशासनमैत्री नगर निर्माणदेखि कृषिको आधुनिकीकरण, उद्योग, पर्यटनलगायतसँग तुलसीपुरलाई जोडेर आम परिवर्तन हुने गरी काम गर्छु । अनि अझ विषेशत भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिलाउनका लागि विषेश पहल रहनेछ । सुकुम्बासीको व्यवस्थापनका लागि गठन भएको भूमि आयोग परमादेश सरकारले खारेज भएपछि अहिले त्यो मुद्दा अलपत्र छ ।
केपि ओली प्रधानमन्त्री अहिलेसम्म भइदिएको भए सायद धेरै भूमिहीन सुकुम्बासी नागरिकले लालपुर्जा पाइसकेका हुने थिए । तर वर्तमान सरकारले भूमिहीन नागरिकको समस्यालाई गम्भीररूपमा लिन सकेन् । जसले गर्दा अहिले भूमिहीन नागरिकको समस्या अलपत्र अवस्थामा पुगेको छ । यसका लागि म स्थानीय सरकार प्रमुख जिम्मेवारी पाए भने भूमिहीन नागरिकका समस्यालाई समाधान गर्नेछु ।
६. नगर ऋणमा डुबेको छ, काम गर्न सहज होला र ?
म के स्पष्ट पार्न चाहन्छु भने पहिलो कुरा नगर ऋणमा छ भन्ने कुरा गलत हो । विकास निर्माणका काम गर्दा भुक्तानी बाँकी रहँदा त्यसलाई ऋण भन्ने हो भने त प्रदेश र संघ सरकारमा पनि यस्तो समस्या हुन्छ त, खै किन त्यसलाई ऋण भनिदैन् ।
असारमा हुनुपर्ने विकास निर्माणका काम मंसिरमै भए, अनि संकलन हुने राजस्व अझै उठिसकेको छैन् । त्यसकारणले केही रकम भुक्तानी गर्न बाँकी होला, अब मलाई लाग्छ त्यो असार मसान्तसम्म भुक्तानी भइसक्छ । अर्को आर्थिक वर्षमा यस्तो हामीले ल्याएका योजनालाई कार्यान्वयन गर्न सक्छौँ । नगरको ऋण बढेको भनेर भ्रम छरिएको हो । बरू विकास निर्माणका काम धेरै समयमै भए, असार मसान्त आउन धेरै बाँकी छ, त्यसैले पनि यस्तो किसिमको समस्या देखिएको होला ।
७. विभिन्न नाममा हुने अनियमितता रोक्नुहुन्छ ?
हो, एकदम सही प्रश्न गर्नुभयो । सुशासन भन्ने कुरा मुख्य कुरा हो । नागरिकले तिरेको एक÷एक पैसा करको सहिरूपमा सदुपयोग हुनुपर्छ । त्यसैले विभिन्न नाममा हुने भ्रष्टाचारको अन्त्य गर्न नेतृत्व नै अग्रसर हुनुपर्छ । मैले आफूले नेतृत्व गर्ने ठाउँमा पनि भ्रष्टाचारलाई शून्यमा झार्नका लागि सबैको सहयोग आवश्यक हुन्छ । मेरो अठोटलाई सबैले साथ दिने हो भने अनियमितता रोक्ने र नागरिकले सानो रकमको पनि परिवर्तनको अनुभूति हुने गरी विकास पाउन सक्छन् । यसमा पूर्णरूपमा सक्रिय भएर म लाग्ने छु ।