घोराही, १२ बैशाख ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले समृद्धिको यात्रामा राज्यसँग निजी क्षेत्र सँगसँगै अगाडि बढ्न तयार रहेको बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको १७औँ साधारण सभालाई सम्बोधन गर्दै उनले देशको समृद्धिका लागि निजी क्षेत्र राज्यसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।
सबै मिलेर देशको आर्थिक विकासमा अगाडि बढ्नुपर्ने भन्दै उनले यसका लागि राज्यले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिए । आफूहरू राज्यका तीनवटै सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउँदै उनले राज्यको तर्फबाट निजी क्षेत्रसँग प्रभावकारी रूपमा समन्वय हुन नसकेको गुनासो गरे ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश निवर्तमान उपाध्यक्ष हेमराज बन्जाडेले राज्यले निजी क्षेत्रलाई सम्मानित र उत्साहित बनाउने नीति ल्याउनुपर्ने बताए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जिल्लाको विकासका लागि एयरपोर्टको नियमित सञ्चालन हुनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निजी क्षेत्रले देशको विकासमा सहयोग पु¥याएको बताए । जिल्लामा पूर्वाधारको विकासमा उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको साधारणसभामा वार्षिक प्रतिवेदन संघका महासचिव महेन्द्र बुढाथोकी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुशील पोख्रेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गरेका थिए भने सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकी र सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए ।