दाङ, १० बैशाख ।
दाङ जिल्ला फुटबल संघमा नयाँ नेतृत्व आएको छ । संजात धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । संघको शनिबार बेलझुण्डीमा भएको जिल्ला अधिवेशन, निर्वाचन तथा साधारण सभाले आगामी चार वर्ष कार्यकालका लागि धिताल अध्यक्ष रहेको संघको १५ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले निर्वाचित गरेको हो ।
जसअनुसार संघको वरिष्ठ उपाध्यक्षमा बुद्धि राम पुन, उपाध्यक्षद्वयमा पवन कुमार योगी र अशोक रोका मगर, महासचिवमा लक्ष्मण बस्नेत, कोषाध्यक्षमा वसन्त पुरी रहेका छन् । त्यस्तै संघको सदस्यहरूमा महिला सदस्य प्रकृति पुन, सदस्य सन्तोष गुरूङ, विजय डाँगी, भिमबहादुर चौधरी, अम्मर मगर, केशव चौधरी, टोपविक्रम राणा, शरद गौतम र गोपाल कँवर निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता प्रेम बहादुर ओलीले जानकारी दिए ।
अधिवेशन दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य एवं अधिवेशन प्रतिनिधि प्रदेश सिंह राठोरको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा संघका निर्वाचित अध्यक्षलगायत पदाधिकारीलाई निर्वाचन समितिका संयोजक अधिवक्ता प्रेम बहादुर ओलीले पदभार ग्रहण गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य प्रदेश सिंह राठोर, निर्वाचन समितिका संयोजक अधिवक्ता प्रेम बहादुर ओली, पुनरावेदन समितिका संयोजक अधिवक्ता रामशरण चौधरी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा निर्वाचन समिति सदस्य पद्मा चौधरीलगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच अधिवेशन लगत्तै बसेको संघको पहिलो बैठकले अखिल नेपाल फुटबल संघ एन्फाको विधानअनुसार संघको महासचिव पदमा लक्ष्मण बस्नेत र कोषाध्यक्षमा बसन्त पुरीलाई मनोनित गरेको हो । त्यस्तै बैठकले सर्वसहमतिको प्रयासबाट संघको नयाँ नेतृत्व चयन र अधिवेशन सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष, पदाधिकारी, निर्वाचन समिति, पुनरावेदन समिति, दाङ जिल्ला खेलकुद विकास समिति, खेलप्रेमी, खेलाडी, शुभचिन्तक लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।